नयां नक्सा हामीलाई मान्य हुंदैन : भारतीय विदेश मन्त्रालय

172

 

नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै भारतले सो भौगोलिक दाबीलाई अस्वीकार गर्ने जनाएको छ। नेपालले बुधबार दिउंसो लिम्पियाधुरा र कालापानीलाई समावेश गरेको नक्सा सार्वजनिक गरेको थियो। नेपालले सार्वजनिक गरेको नयां नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसंग मेल नखाने भारतले दावी समेत गरेको छ ।

‘नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा जारी गरेको छ। जसमा भारतीय भूभाग समेत समावेश छ। यो एकपक्षीय कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले पत्रकारहरुसंग भने । उनले नेपालको निर्णय सीमासम्बन्धी मुद्दालाई कुटनीतिक संवादमार्फत हल गर्ने समझदारीविरीत रहेको आरोप समेत लगाए ।

भारतले गत नोभेम्वरमा एकलौटी रुपमा नक्सा सार्वजनिक गरेको थियो । नेपालले यसअघि भारतले एकपक्षीय रुपमा नक्सा सार्वजनिक गर्दा नेपालले विरोध गर्नुको साथै कूटनीतिक नोट समेत पठाएको थियो । तर, भारतसंग सीमा विवाद हल गर्न नेपालले परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको मिति दुई पटक प्रस्ताव गरेपनि त्यसमा भारतबाट कुनै प्रतिक्रिया आएको थिएन् ।

भारतले निरन्तर एउटै अडान राख्दै आएकोबारे नेपाल जानकार रहेको बताउंदै विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपाल सरकारलाई पुष्टि हुन नसक्ने दाबीहरुबाट टाढा रहन र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् ।

उनले नेपाली नेतृत्वले थांती रहेका सीमासम्बन्धी विषय सल्टाउन कुटनीतिक संवादका लागि उचित वातावरण बनाउनेछ भन्ने आशा गरेको समेत बताएका छन्। लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सड्क कोभिड १९ महामारीकै बेला भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो ।

नेपालले संवादमार्फत सीमा विवादको हल खोजेपनि भारतले कोरोना संकट समाधान भएपछि संवाद गर्ने भन्दै टार्दै आएको थियो । भारतले सिमा विवादबारे समस्या समाधान गर्न नखोजेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नयां नक्सा पारित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here