मनिषाले नेपालको नयाँ नक्सालाई समर्थन गर्दा सुरु भयो ‘ट्वीटर वार’

114
काठमाडौं सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् ।

नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ ।

नेपाललाई सर्तक रहन सल्लाहः

ट्वीटरका केही प्रयोगकर्ताले नेपाललाई चीनसँग सतर्क रहन सल्लाह दिएका छन् । एकजनाले लेखेका छन्, ‘नेपाल चीनसँग सतर्क रहनुपर्छ, नभए नेपालको पनि हालत तिब्बतको जस्तै होला ।’ यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘तपाईं आफ्नो ठाउँमा सही हुनुहुन्छ । हामी भारतीय पनि अब तपाईंहरुले झैं सोच्नेछौं ।’

कतिले नेपालीलाई बताए भारत विरोधीः

नेपालको यो कदमलाई नरुचाएका अर्का एक व्यक्तिले लेखे, ‘नेपाल सधैं भारत विरोधी रहँदै आएको छ र उसको नजर सधैं भारतको भूमिमा छ । लिपुलेखजस्तो भारतको अभिन्न अंगमा जबर्जस्ती दाबी गरिनुले नेपालको तुच्छ मानसिकता दर्साउँछ ।’

मनिषालाई भारतबाट लखेट्न मागः

कतिले मनिषाले नेपालको समर्थन गरेको भन्दै निकै गालीसमेत गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको  र गाइरहेकी छे भिन्न राग । यसलाई भारतबाट लखेट । यसको फिल्म बहिष्कार गर । ’

यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक हराम’ ।’

यस्तै अर्का एक व्यक्तिले मनिषालाई बहिष्कार गर्न माग गर्र्दै लेखेका छन्, ‘भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मानचित्रको समर्थन गरिरहनुभएको छ ? भारतीय फिल्म उद्योगले तपाईंलाई पर्याप्त चर्चा र पैसा दियो र तपाईंले हामीलाई यो दिनुभयो ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here