जसपाकाे नेतृत्वमा महन्थ ठाकुर

10
काठमाडौं /  जनता समाजवादी पार्टीको नेतृत्वमा वरिष्ठ नेता महन्थ ठाकुर चयन हुने भएका छन् ।
समाजवादी र राजपाबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले ठाकुरलाई अध्यक्ष बनाउने समझदारी जुटेको छ ।कार्यकारी पदका लागि नेताहरूबीच समझदारी हुन नसक्दा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्तासमेत हुन सकेको थिएन । पछिल्लोपटक कार्यकारी पद कसले लिने भन्नेमा समाजवादीका केन्द्रीय कार्यकारणी समितिका अध्यक्ष उपेन्द्र यादव र राजपा नेता राजेन्द्र महतोबीचको टकराव बढेको थियो ।
दुई नेताबीचको मुख्य टकराबले एक सातादेखि वार्ता प्रक्रियासमेत रोकिएको थियो । वैशाख १० मा एकीकरण भएर नयाँ नाम जुराइएको यो दलमा पदीय भागबण्डा नमिल्दा एक महिनापछि मात्रै नेतृत्वको जिम्मेवारी टुंगो लागेको हो ।
राजपा केन्द्रीय कार्यालय बबरमहलमा बिहीबार बसेको दुवै पक्षका शीर्ष नेतृत्वबीचको छलफलमा यादव र अर्का नेता बाबुराम भट्टराईले ठाकुरको नेतृत्वमा केन्द्रीय कार्यसमिति गठनको प्रस्ताव गरेका हुन् ।
केन्द्रीय कार्यसमितिको नेतृत्व ठाकुरले गर्नेमा समझदारी भए पनि केन्द्रीय कार्यकारणी (पदाधिकारी) र राजनीतिक समितिको नेतृत्वको विषय भने अझै मिलेको छैन ।
जनता समाजवादीमा पनि संघीय परिषद् राखिने र त्यसको नेतृत्वमा पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईलाई नै निरन्तरता दिने समझदारी बनेको छ ।
पार्टी एकता भई निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र नयाँ दल दर्ताका लागि निवेदन दिनुपर्छ । त्यसका लागि केन्द्रीय कार्यसमिति या सो सरहको समितिसमेतको नामावलीसमेत आयोगमा पेस गर्नुपर्ने हुन्छ ।
बिहीबार सझदारी भएका र प्रस्तावमा आएर छलफल अघि बढेका विषयमा आ–आफ्नो पूर्ववत् पार्टीमा परामर्श गरेर औपचारिक सहमतिका लागि पुन: बैठक बसेर निर्णय  लिएर मात्रै   निर्वाचन आयोगमा जाने तयारी भैरहेको छ ।