जनता समाजवादी पार्टीकाे संविधान संशोधन प्रस्ताव दर्ता भएन

235

काठमाडौं- संविधान संशोधनको माग सरकारले सम्बोधन नगरेपछि आफैं संशोधन प्रस्ताव लिएर संघीय संसद् सचिवालय पुगेको तराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टीको प्रस्ताव दर्ता नगराइकन फर्किएको छ। संसद् सचिवालयले प्रक्रिया पूरा नगरेको भन्दै फर्काइदिएकाले जसपा प्रस्ताव दर्ता नगराइकनै सचिवालयबाट बाहिरिएको हो।

संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय जनता पार्टीका तर्फबाट नेताहरू महन्थ ठाकुर, महेन्द्र राययादव, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो, केशव झालगायतका नेता तामझामसहित संसद् सचिवालय पुगेका थिए। उनीहरूलाई साथ दिन समाजवादी पार्टीका नेताहरू पनि सिंहदरवार पुगेका थिए। तर सचिवालयले प्रस्ताव दर्ता नगरिदिएपछि सबै नेताहरू बाहिरिएका छन्। जसपाले संविधानको भाषा, नागरिकता, राष्ट्रियसभाको प्रतिनिधित्व र प्रदेशको सिमांकनका विषयमा संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको छ।

संसद् सचिवालयले पर्सि आउन भनेकाले आफूहरू बाहिरिएको नेता केशव झाले बताए। ‘केही प्रक्रिया पूरा भएका छैनन्। सभामुखसँग छलफल गरेर यसलाई अघि बढाऔं। अब पर्सि आउनू,’ संसद् सचिवालयका अधिकारीलाई उद्धृत गर्दै नेता केशव झाले नेपाल लाइभसँग भने।

सरकारले संविधानको अनुसूची ३ को निशाना छाप संशोधनका लागि संविधान संशोधन प्रस्ताव दर्ता नगराएपछि जनता समाजवादी पार्टीले नीजि विधेयकको रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको थियो।

नीजि विधेयक दर्ता गराउन पाउने अधिकार अन्तर्गत संविधान संशोधन प्रस्ताव दर्ता गराउन जसपाका नेताहरु शुक्रबार संघीय संसद सचिवालय पुगेका थिए। संविधानमा आफूहरुले चाहेको संशोधनको बुँदाहरुमा छलफल गराउनका लागि यस्तो प्रस्ताव दर्ता गराउन लागेको जसपाका एक नेताले जनाएका थिए।

कुनै पनि विषयमा सांसदले संसदमा गैरसरकारी नीजि विधेयक दर्ता गराउन पाउने व्यवस्था नियमावलीमा छ। सोही व्यवस्थामा टेकेर उनीहरुले विधेयक दर्ता गराउने प्रयास गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here