रुकुम हत्याकाण्डप्रति संयुक्त राष्ट्रसङ्घद्वारा दुख: व्यक्त

75

काठमाडाैं – राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर) ले रुकुमपश्चिममा जातीय नरसंहार भएको भन्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । राष्ट्रसङ्घले जातीय नरसंहारको भत्र्सना पनि गरेको छ ।

ओएचसीआरका प्रमुख मिसेल बासेलेले तथाकथित माथिल्लो जात ठान्ने अन्तरजातीय सम्बन्धका विरोधीहरूले पाँच व्यक्तिको हत्या गरेको घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

गत १० गते शनिबार रुकुमपश्चिम चौरजहारी ८ सोती निवासी कथित माथिल्लो जात भनिने मल्ल थरकी एक युवतीसँग कथित तल्लो जातका नवराज विश्वकर्माको प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर युवतीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरेका थिए । उक्त दिन २१ वर्षीय दलित युवा नवराज विक र उनका साथीहरू नवराजकी प्रेमिकाको घर रहेको पश्चिम रुकुम जिल्ला गएका थिए । राष्ट्रसङ्घको विज्ञप्तिमा उल्लेख छ, ‘मृतक नवराजसँगै युवतीको घर गएका अन्य चारजनाको शव पनि भेरी नदीमा भेटिएको र एकजना अझै बेपत्ता छन् ।’

राष्ट्रसङ्घले उक्त घटनाका दोषीलाई छूट वा माफी नदिनसमेत आग्रह गरेको छ । ‘२१ औँ शताब्दीमा पनि हाम्रो विश्वमा जातमा आधारित पूर्वाग्रह व्याप्त रहनु दुःखद् कुरा हो र जन्मकै आधारमा प्रस्तुत भएका व्यवधानका बाबजुद सँगै जीवन बिताउने उच्च अभिलाशा राखेका ती दुई युवाप्रति मेरो मन दुःखले भरिएको छ’, उच्चायुक्त बासेलेले भनेका छन्, ‘जातमा आधारित भेदभाव नेपालमा मात्रै होइन, अन्य देशमा पनि व्याप्त छ र प्रायः त्यसले गम्भीर क्षति निम्त्याउने गर्छ । यो घटनामा जस्तै जीवनसमेत गुमाउनुपरेको अवस्था छ । जातमा आधारित भेदभावको अन्त्य कसैलाई पनि पछाडि नछाडौँ भन्ने दिगो विकासको परिकल्पना साकार पार्न अत्यावश्यक छ ।’ उच्चायुक्त बासेलेले यो घटना कुनै कोणबाट क्षम्य नहुने बताएका छन् । कोभिड १९ महामारीको पीडाबीच यो अर्को पीडाले सिङ्गो राष्ट्रसङ्घ दुःखी रहेको उनले बताएका छन् । रुकुम घटनाको राजनीतीकरण नगरी निष्पक्ष छानबिन र कारबाहीका लागि माग भइरहेको छ । राष्ट्रसङ्घले पनि त्यही माग गर्दै यस्तो छुवाछूतको अन्त्य गर्न सबैलाई आह्वान गरेको छ । दलितमाथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शून्य सहनशीलता अपनाएर कानुन कार्यान्वयन गर्नसमेत राष्ट्रसङ्घले जोड दिएको छ । बासेलेले यी आक्रमणका घटनाको स्वतन्त्र छानबिन माग गर्दै भनेका छन्, ‘पीडित र तिनका परिवारको न्याय, सत्य र परिपूरणको अधिकारमाथि जोड दिन आग्रह गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here