फिफाले चामत्कारिक ‘साम्बा’ लेख्यो

84
काठमाडौं – ‘साम्बा’ उपनामले चिनिने फुटबलर सावित्रा भण्डारीको नाममा नेपालमा अनेक कीर्तिमानी छन् । उनी नेपालमा मात्रै नभएर दक्षिण एसियाकै चर्चित महिला फुटबलर हुन् ।

गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेअर स्टाइलले गर्दा पनि साम्बा अरू फुटबलरभन्दा फरक छिन् । नेपालका लागि कीर्तिमानी ३८ गोल गरेकी उनले अझै धेरै थप्न सक्ने अपेक्षा गरिएको छ । आउने पुस्तालाई यो कीर्तिमानी भेट्टाउन पक्कै गाह्रो हुनेछ । पुरुष फुटबलमा नेपालका लागि सर्वाधिक व्यक्तिगत गोलसंख्या १३ मात्र हो ।

सशस्त्र प्रहरी बलबाट घरेलु फुटबल खेल्ने साम्बाले नेपालमा धेरै उपाधि जितिसकेकी छिन् । अन्तर्राष्ट्रिय रुपमा भने उपाधि जित्ने उनको धोको अझै बाँकी छ । साम्बाले भारतमा समेत लिग खेलेर दुई पटक उपाधि उचालेकी छिन् । उनै साम्बाको बारेमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो वेबसाइटमा सोमबार एउटा सामग्री पोस्ट गरेको छ । ‘खाली खुट्टादेखि चामत्कारिक खेलाडीसम्मको यात्रा’ भनेर फिफाले उक्त लेख तयार पारेको हो ।

२३ वर्षीया सावित्राको लमजुङदेखि काठमाडौं हुँदै फुटबल स्टार बन्दासम्मको रोमाञ्चक यात्रा फिफाले प्रस्तुत गरेको छ । साम्बाको सफलता, उपलब्धि अनि अबको लक्ष्यलाई लेखमा समेटिएको छ । फिफाले फिचर तयार पारेपछि छोटो प्रतिक्रिया दिँदै साम्बाले भनिन्, ‘मैले सोचेको थिइनँ, एकदम खुसी लागेको छ ।’

सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला फुटबल च्याम्पियनसिपमार्फत् राष्ट्रिय टिममा डेब्यु गरेकी साम्बाले भुटानविरुद्धको पहिलो खेलबाट डेब्यु गरेकी थिइन् । त्यसबेला उनी १७ वर्षकी थिइन् । उनको डेब्यु खेलमा नेपाल ८–० ले विजयी भएको थियो । ८६औं मिनेटमा मैदान प्रवेश गरेकी साम्बाले दुई मिनेटमै गोल गर्दै आफ्नो यात्रा सुरु गरेकी थिइन् ।

त्यसको दुई वर्षपछि भारतमा भएको च्याम्पियनसिपमा झन् उनको चर्चा बढ्यो । उनले त्यहाँ सर्वाधिक १२ गोल गरिन् । यस्तै सन् २०१९ मा नेपालमै भएको साफमा नेपाल उपविजेता बन्दा उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन् । तर नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित हुँदा उपाधि जित्ने सपना अधुरै रहेको थियो ।

साम्बाले सानो हुँदा अनु लामा, जमुना गुरुङ जस्ता खेलाडीको नाम सुन्दै आफू पनि कुनै दिन त्यसरी नै खेल्ने सपना देखेको फिफासँग बताएकी छिन् । सोचेको भन्दा चाँडै अवसर पाएको र अझै धेरै उत्तरदायित्व थपिएको उनको धारणा छ ।अहिलेसम्म  उनको मुख्य लक्ष्य अझै पूरा भएको छैन । ‘मेरो पहिलो लक्ष्य भनेको कडा मेहनत गर्ने र नेपाललाई दक्षिण एसियामा च्याम्पियन बनाउने हो,’ उनले भनिन्, ‘मैले यदि अवसर पाएमा युरोपमा क्लव फुटबल खेल्न इच्छुक छु ।’

साम्बाले फुटबलले आफ्नो जीवन नै परिवर्तन गरिदिएको समेत जनाएकी छिन् । ‘फुटबलले मेरो जीवन पूरै परिवर्तन गरिदिएको छ । पहिला मलाई कसैले चिन्ने थिएनन् तर अहिले फुटबल नै मेरो परिचय बनेको छ । देशले मलाई विश्वास गरेको छ । मेरो देशको फुटबल भनेर चिनिँदा म एकदमै गर्व गर्छु ।’ उनले भनेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here