शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले भने, ‘टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने रुटिन निकालिसकेका छौं ।’
‘आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक बनेको छ । यसको डिजिटल कपी तयार छ । ३ कक्षासम्मको डिजिटल कपी हाम्रो वेबसाइटमा राखिसकिएको छ । चारदेखि–आठ कक्षासम्मको हामी आज–भोलिमै राखिसक्ने गरी तयारी गरिरहेका छौं,’ डा. थपलियाले भने ।
कतिपय पालिकाले तीन कक्षासम्मको सामग्री घर–घरमा र टोल–टोलमा धमाधम वितरण गरिरहेको उनले भने । त्यो सामग्री घरमै बसेर सिक्ने सक्ने खालको रहेको उनको धारणा छ ।
विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको उनले बताए । रेडियो नेपाल र थुप्रै एफएमबाट पनि पढाउने व्यवस्था मिलाइएको डा. थपलियाले जनाए ।
उनले भने, ‘कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्दैछ, रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै लोकल एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेको जानकारी प्राप्त भएको छ ।’
लकडाउनकै बीचमा कतिपय विद्यालयहरुले इन्टरनेट प्रविधि प्रयोग गरी विद्यार्थीहरुलाई पढाइरहेका छन् ।