सरसफाइमा खटिएपछि १२ दिन क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यता

193

काठमाडौं –  ‘आइसोलेसन वार्डको सरसफाइमा निरन्तर एक हप्ता खटिएपछि अस्पतालले १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ, तर म क्वारेन्टाइनमा बसेँ भने छोराहरु भोकै हुन्छन्’, बागलुङको बडिगाड गाउँपालिका–३ की ३४ वर्षीया बुद्धिमाया घर्ती भन्छिन्– ‘१४ र १७ वर्षका अपाङ्गता भएका २ छोरा छन्, श्रीमान् वितेको ६ वर्ष भयो, उनीहरुको म र मेरो उनीहरुबाहेक संसारमा कोही छैन ।’

चैत १५ गते बागलुङ जिल्लामा पहिलो कोरोना संक्रमित भेटिएपछि अहिलेसम्म बुद्धिमाया धौलागिरी अस्पततालको आइसोलेसन वार्डको सरसफाइ र संक्रमितको मनोबल बढाउने काममा लागेकी छिन् ।

‘शुरुका दिनमा निकै डर लाग्थ्यो, पीपीई लगाएपछि स्वास फेर्नै ग्राहो हुने, थरथर मुटु काप्ने’, बुद्धिमाया भन्छिन्– ‘डाक्टर र सिस्टरले सम्झाइबुझाइ गरेपछि आजभोलि बानी परेको छ ।’ आइसोलेसनको सरसफाइमा निरन्तर एक हप्तासम्म खटिएपछि अनिवार्य रुपमा अस्पतालले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने अस्पतालले व्यवस्था गरेको छ ।

तर बुद्धिमायालाई अस्पताल र आइसोलेसनको मात्र होइन अपाङ्गता भएका छोराहरुको समेत सरसफाइ, रेखदेख र खानपानको व्यवस्था गर्नुपर्ने भएकाले क्वारेन्टाइनमा बस्ने बातावरण छैन ।

‘अस्पतालमा कार्यालय सहयोगीका रुपमा काम गर्न थालेको तीन वर्ष भयो’, उनले भनिन्– ‘अहिलेसम्म यति धेरै डरत्रास कहिलै लागेको थिएन ।’ ‘म आफूलाई कोरोना लागे त सञ्चो होला, अपाङ्गता भएका, जेष्ठ नागरिक र बालबालिकालाई छिटो संक्रमण हुन्छ भन्छन्’, बुद्धिमायाले भनिन्– ‘मेरा अपाङ्गता भएका छोरालाई मेरो कारणले संक्रमण भयो भने कसरी बचाउँला ।’

धौलागिरी अस्पताल बागलुङको आइसोलेसन वार्डमा १ महिला, १ बालक र १३ जना पुरुषसहित १५ जना छन् । जसमध्ये ११ जना कोरोना संक्रमित हुन् । ३ जना आशंकामा राखिएको छ भने १ बालक आमासँग बसेका छन् ।

आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here