चीनका सेनाले फलामको भाटाले भारतीय सेनामाथि आक्रमण गरेकै हाेर !

175
काठमाडौं – भारत–चीन सीमामा गलवान घाटीमा २० भारतीय सैनिकको मृत्युको विषयमा विभिन्न प्रकारको प्रश्न उठ्न थालेका छन् ।
मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीले  ‘कसको आदेशमा भारतीय सैनिकहरु इलाकामा बिना हतियार गएका थिए ?’ भनेर प्रश्न सोधे ।
यसमा भारतका विदेशमन्त्री एस जयशंकरले भने, ‘सीमामा सैनिक सधैं हतियारमा नै तैनाथ हुन्छन् । विशेषगरी चौकी छोड्ने बेला । १५ जूनमा गलवानमा पनि यस्तै भएको थियो । सन् १९९६ र सन् २००५ को सम्झौता अनुसार हामी लामो समयदेखि आमने–सामने हुँदा हतियारको प्रयोग गर्दैनौं ।’

विदेशमन्त्री एस जयशंकरको यो बयान अघि सेनाका पूर्व अधिकारी लेफ्टिनेन्ट जनरल एचएस पनागले सबैकुरा थाहा हुँदा पनि जवानलाई बिना हतियार किन पठाइयो भनेर प्रश्न सोधेका थिए । एचएसले भनेका थिए, ‘२ सय वर्षको इतिहासमा भारतीय सेनाको यस्तो अपमान कहिल्यै भएन । सेनाका जवान माथिल्लो आदेशका कारण हतियार बिना नै गएका थिए । र त्यहाँ उनीहरुको हत्या गरियो । ’ एचएस पनागको यो भिडियो ट्वीट गर्दै राहुल गान्धीले प्रश्न सोधेका थिए ।

ओडिशाका बिजेपी नेता बैजयन्त जय पान्डाले ट्वीट गरेर राहुल गान्त्रीमाथि निशाना साँध्दै भने, ‘भारतीय सैनिकलाई बिना हतियार कसले पठाएको थियो ? यसको जवाफ हो, त्यो सम्झौता, जसअनुसार एलएसीमा दुई किलोमिटर भित्र हतियार राख्न प्रतिबन्ध छ । यो सम्झौतालाई तपाईंको पार्टीले समर्थन गरेको थियो । तपाईंलाई इतिहासको ज्ञान छैन ?’

किला गाडिएको भाटामार्फत् गरिएको हमलामा के भन्छ चीन ?

बिहिबार चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा समाचार एजेन्सी रोयटर्सले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानलाई सोधे, ‘भारतीय अधिकारीका अनुसार सेनका एक कर्नल र अन्य सैनिकमाथि चीनका सैनिकले किला गाडिएको फलामको भाटाले हमला गरे । यसमाथि तपाईं के भन्नुहुन्छ ? दोस्रो प्रश्न यो हो कि हिंस्रक झडप त्यतिबेला सुरु भयो जब भारतीय सैनिकले चिनियाँ निर्माण भत्काइदिएको हो वा एलएसी पार गरेपछि हो ?’

यो प्रश्नको जवाफमा चाओले भने, ‘यो विषयमा के गलत हो र के सही, यसमा केही द्विविधा छैन । चीन यसमा जिम्मेवार छैन । हिंस्रक झडप कसरी सुरु भयो भनेर हामीले स्पष्ट रुपमा बताइसकेका छौं । सोमबार राती सीमामा तैनाथ भारतीय सुरक्षा बलले दुबै देशमा कमान्डर स्तरमा भएको छलफलपछि बनेको सहमति तोडिदिए । भारती सैनिकले लाइन अफ एक्चुअल कन्ट्रोल पार गरे र जानीजानी चिनियाँ सैनिकलाई उक्साउन सुरु गरे, यहाँसम्म कि हमला नै गरे । त्यसपछि आमने–सामने झडप भयो र यसैमा हताहत भयो । चीनको माग यो छ कि भारतले पूरा घटनाको अनुसन्धान गरोस् र जिम्मेवारलाई सजायँ दिइयोस् । भारतले अब उप्रान्त यस्तो हुँदैन भनेर सुनिश्चित पनि गर्नुपर्ने हुन्छ ।’

चाओले थपे, ‘हामीले चिनियाँ विदेशमन्त्री वांग यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको छलफलबारे पहिले नै जानकारी सार्वजनिक गरेका थियौं । दुबै पक्ष गलवान घाटीमा भएको झडपको विषयमा शान्तिपूर्ण समाधानमा सहमत छन् ।’

समाचार एजेन्सी एएफपीले चिनियाँ विदेश मन्त्रालयका प्रवक्तासलाई सोधे, ‘यस्तो लागिरहेको छ कि भारतीय सीमामा अत्यधिक सैनिक तैनाथ गरिएका छन् । यसको जवाफमा चीनले पनि के यस्तै गर्ला ? के चीनले पूरा विवादबारे थप केही भन्छ ?’

चाओले यो प्रश्नको जवाफमा भने, ‘भारत–चीन सीमामा चीनको व्यवहारबारे मैले पहिले नै सबैकुरा भनिसकेको छु । दुबै पक्षबीच विवाद सुल्झाउने विषयमा काम भइरहेको छ । दुबै पक्षबीच सैन्य र राजनीतिक स्तरमा कुराकानी भइरहेको छ । योभन्दा बढि म केहि भन्न सक्दिनँ ।’

समाचार एजेन्सी पिटिआईले चाओलाई ‘अब अर्को कदम के हो त ’ भनेर प्रश्न सोधे ?

यसको जवाफमा चाओले भने, ‘चिनियाँ विदेश मन्त्री वांग यीले भारतीय विदेशमन्त्री एस जयशंकरसँग दुबै मुलुक उदीयमान शक्ति भएको बताए । दुबैको जनसंख्या एक अर्ब भन्दा पनि बढी छ । हामी पारस्परिक आदर र समर्थनसहित अघि बढेको खण्डमा दुबै देशको साझा हित पूरा हुनेछन् । यदि हामीले अविश्वास र भतभेद बढाएको खण्डमा यो दुबै देशका नागरिकको महत्वाकांक्षाको ठिक विपरित हुनेछ । दुबै देश महत्वपूर्ण सहमतिसम्म पुग्नेछन् र यसको पालना गर्नेछन् ।’

स्रोतः बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here