बिहेमा दाइजो : २१ वटा विषालु सर्प !

359

एजेन्सी – नेपालमा चेपाङ जातिको बिहेमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन छ । केही आदिवासी जनजातिहरुमा बिहे गरेर घर पठाएकी छोरीलाई उपहारको रुपमा विषको प्यालासमेत दिने परम्परा छ भनिन्छ । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ ।

मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ व्टा विषालु सर्प दिइन्छ ।

गौरिया समुदायमा उक्त परम्परा सदियौँदेखि चलिआएको छ । यदि बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्दछ भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।

गौरिया समुदायका मानिसहरु आफ्नो छोरीको बिहेको टुंगो लागेसँगै दाइजोमा दिइने सर्प खोज्न सुरु गर्दछन् । दाइजोमा दिइने सर्पहरुमा विभिन्न खतरनाक प्रजातिका विषालु सर्पहरुसमेत हुन्छन् ।

सो समुदाय सर्पसँग रत्तिभर डराउँदैन । बच्चाहरुसमेत सानैदेखि सर्पसँग खेल्दछन् र नडराइकन सर्प समाउने गर्दछन् । उसो त यो समुदायको मुख्य पेसा नै सर्प पक्रिने हो । सर्प समाएर मानिसहरुलाई देखाउने र नचाउने गरेरै उनीहरुले पैसा कमाउँछन् र जीविकोपार्जन गर्दछन् ।

छोरीको बिहेमा धन सम्पत्तिको साटो सर्प दाइजो दिनुको कारण पनि त्यहीँ नै हो । नयाँ ज्वाइँले दाइजोमा पाएका सर्पहरुको सहयोगमा कमाई गर्न सकोस् र परिवारको पेट पाल्न सकोस् भनेर सर्प दाइजो दिने परम्परा बसेको मान्न सकिन्छ ।

आफ्नो जीविकोपार्जनको आधारको रुपमा रहेको सर्पसँग यो समुदायको विशेष तथा आत्मीय नाता छ । उनीहरु सर्पलाई निकै माया तथा सम्मान गर्दछन् । यदि आफूले पालेको सर्प मर्‍यो भने पूरै परिवारका व्यक्तिहरुले कपाल मुण्डन गरेर शोक मनाउने र समुदायका सबै मानिसहरुलाई बोलाएर पितृ भोज गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here