जनताको पक्षमा काम गर्न कम्युनिष्ट पार्टीकै आवरण चाहिन्छ भन्ने छैन

10

– प्रीति  रमण

कोभिड १९ , कोरोना भाईरसको संक्रमणलाई रोक्न पनि नेपालको कम्युनिष्ट सरकार असफल भएको छ । लक डाउनलाई मात्र लक्ष बनाएर जान खोज्दा देश भाईरस संक्रमणको खतरामा फस्न गैरहेको छ । संसारका कुनै पनि देशहरुसंग संक्रमणको तुलना गर्ने हो र जनताप्रति सरकारको जिम्मेवारीबोधको चर्चा गर्ने हो भने नेपाल सरकार नितान्त असफल भएको निष्कर्षमा पुग्न सकिन्छ । छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा त्यहाँको सरकारले जनतालाई उपलब्ध गराएको राहतको ब्यवस्थालाई हेर्ने हो भने नेपालको सरकार नेपाली जनताप्रति कत्ति पनि जिम्मेवार छैन  र जनताको पक्षमा काम गर्नका लागि कम्युनिष्टको आवरण हैन जनसेवाको भावना आवश्यक हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ ।
नेपालमा कम्यनिष्ट पार्टीको सरकार भएरै पनि दिल्लीको गैरकम्युनिष्ट सरकारको जति पनि जनतालाई भरोसा दिन र बिश्वास जित्न सकेको पाईएन । दिल्लीको आप पार्टीको सरकारलाई आदर्श मान्ने थुप्रै नेताहरु नेपालमा पनि छन् । आपको कार्यशैली नेपालमा पनि लागू गर्नुपर्ने धारणा पनि नेपालका केही नेताहरुले बेला मौकामा ब्यक्त गरेको पाईन्छ । नेपालमा कम्युनिष्ट पार्टीको सरकार रहेकाले त झन दिल्लीको आप पार्टीको सरकारले भन्दा धेरै राम्रो काम गर्नु पर्छ भन्ने जनमत पाईन्छ ।
 भारतमा प्रधानमन्त्री मोदी लोकप्रिय छन् । तर, भारत एउटा सुरक्षित राष्ट्र भएका बेला भाजपाको शक्ति प्रदर्शन गर्ने राष्ट्रवादी अभियानले आक्रोश, असुरक्षा र शून्यपन निम्त्याएको धेरैले ठान्छन् । यसको कारण मोदीलाई ठान्नेहरु पनि थुप्रै छन् । भारत गम्भीर रुपमा आर्थिक मन्दीमा गइरहेका बेला मोदीको रुखो राष्ट्रवादी राजनीतिले ध्यान अन्तै मोड्ने प्रयास गरेको पनि उनीहरुको आरोप छ । यस्तो बेलामा कोरोना महामारी सुरु भए पनि केजरीवालको सरकारले जनतालाई राहत उपलब्ध गराउने काममा कुनै कमजोरी रहन दिएको गुनासो जनस्तरबाट सुन्न पाइएको छैन । बरु पूरा भारतका जनतालाई मोदी सरकारले राहतको उचित ब्यवस्थापन गर्न सकेको देखिएन ।
केजरीवालले जनताका आधारभूत आवश्यकतामा केन्द्रित भएर राजनीति गरिरहेका छन् , जो कम्युनिष्ट नेताहरुले गर्नु पर्दथ्यो । उनले जनताको दैनिकी बढीभन्दा बढी सहज बनाउन काम गर्दै आएका छन् । केजरीवालले पाँच वर्ष सरकार चलाउँदा पानी र बिजुलीको निश्चित युनिटसम्मको प्रयोग गर्दा निःशुल्क उपलब्ध गराउनुका साथै बसहरुमा महिलाहरुलाई निःशुल्क यात्रा गर्ने व्यवस्था गरेका थिए । नेपालमा केपी ओली नेतृत्वको सरकारले जनतालाई हावादारी आश्वासन बाँड्ने काम मात्र गरेको छ । जनताका आवश्यकताहरुलाई सम्बोधन गर्ने काममा ओली सरकार असफल नै भैसकेको छ ।  दिल्लीको आप सरकारले आफू अन्तर्गतका अस्पताल र स्वास्थ्य चौकीहरुमा समेत कोरोना जाँचका लागि  निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको थियो, पत्रकारहरुलाई बिशेष प्राथमिकता दिएर स्वास्थ्य परीक्षणको ब्यवस्था गरिएको थियो। शिक्षा क्षेत्रमा पनि दिल्ली सरकारले त्यत्तिकै प्रशंसनीय काम गरेको चर्चा सञ्चारमाध्यमहरुबाट पायो । यता हाम्रो देशका प्रधानमंत्री लगायत मंत्रीहरुले नेपालका सञ्चारमाध्यमहरुको खेदो खन्ने बाहेक अरु केही काम गरेको पाईएन । सरकारले राम्रा काम गर्न नसक्ने तर सञ्चारमाध्यमहरुबाट प्रशंसामा लेखिएको पढ्न रहर गर्ने हाम्रा प्रधानमंत्रीको चाहना पूरा हुन सकिरहेको छैन ।
नेपालमा पनि कर्मचारी जीवनबाट निबृत्त ब्यक्ति डा. युवराज खतिवडा अर्थमंत्रीको जिम्मेवारीमा हुनुहुन्छ , दिल्लीका मुख्यमंत्री केजरीवाल पनि लामो समयसम्म कर्मचारीमा जीवन बिताएका ब्यक्ति हुन् । केजरीवालले जनताको हितमा काम गर्न सक्ने तर खतिवडाले जनताको ढाडै भाचिने गरी करको भार थोपरेर नेपाली जन साधारणको देनिक जीवनलाई नै अस्तब्यस्त बनाई दिने काम भएको छ ।
पूर्वकर्मचारी केजरीवाल भ्रष्टाचारविरोधी अभियान गर्दै राजनीतिमा उदाएका हुन् । उनी पहिलोपटक सन् २०१३ मा मुख्यमन्त्री बनेका थिए र त्यसपछि सन् २०१५ मा भारी मतसहित पुनः निर्वाचित भए । केजरीवालले दिल्लीका सरकारी विद्यालयमा सुधार ल्याएको, सुलभ क्लिनिकहरू बनाएको र सस्तोमा पानी र बिजुली उपलब्ध गराएको जस उनलाई नै जाने गर्छ । प्रहरी फौजको नियन्त्रण र जग्गासम्बन्धी अधिकार अझै पनि केन्द्र सरकारसँग रहेका बेला उनले राज्यको बृहत् स्वायत्त अधिकारका लागि समेत निरन्तर रुपमा अभियान चलाउँदै आएका छन् । चुनावी बिजय पछि केजरीवालले उद्घोष गरेका थिए  ‘यो केवल मेरो मात्रै जित होइन । राम्रो शिक्षा र स्वस्थ्य उपचार पाइरहेका बालबालिकाका परिवारको जित हो ।’ जे बोलेका थिए केजरीवाल त्यही गरिरहेका छन् । तर नेपालको हालत ठीक बिपरित छ ।
नेपालमा पनि  नेकपा एमाले र माआबादी केन्द्रका तर्फबाट चुनावी अभियानमा अत्यन्तै लोकप्रिय रहेका केपी ओली नेतृत्वको सरकार छ । यो सरकार दुई तिहाई बहुमतको निकट छ । यस सरकारले नेपाल र नेपाली जनताका लागि गर्न चाहने हो भने असम्भव भन्ने कुरा केही पनि छैन । तर, काम गर्न नसक्दा सरकार बिरुद्द जनअसन्तुष्टि  बढ्दै गएको छ । आवरणमा कम्युनिष्ट पार्टी भए पनि व्यवहारमा दलाल पूँजीवादलाई हाम्रो देशको सरकारले प्रोत्साहन गरिरहेको आरोप खेपिरहेको अवस्था छ । सरकारले किसान तथा मजदुर वर्गका लागि कुनै योजना ल्याउन सकेको छैन । तर पनि सरकार आलोचनाबाट पटक्कै डराईरहेको अवस्था नदेखिएकाले सरकार सुधारिएर आउला भनेर आशा गर्ने ठाउँ पनि छैन ।
जसरी दिल्लीमा केजरीवालको पार्टीले जनताको शिक्षा, स्वास्थ्य, यातायात र दैनिक जीवनका अन्य बिबिध विषयमा सहुलियत दिने काम गर्दै आएको छ, त्यसको अनुशरण गर्न नेपालको कम्युनिष्ट पार्टीको सरकारले आवश्यक छ । अहिले पनि नेपालका कतिपय घरका धारामा पानी नआए पनि महसुल बुझाउन नेपाली जनता बाध्य छन् । शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तीय संस्थामा सर्वसाधारण जनता लुटिएका छन् । यिनै कारणहरुले गर्दा ओली नेतृत्वको सरकारको आलोचना बढ्दै गएको छ । तर, सरकार  आफ्नो आलोचनाको कारण नबुझी जनताको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काममा प्रयत्नशील छ । सरकारको आलोचना गर्ने सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई अंकुश लगाउनका लागि सरकारले आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । यस्ता गतिबिधिका कारणबाट यो सरकारलाई कुनै कोणबाट पनि कम्युनिष्ट पार्टीको सरकार भनेर भन्न सकिने अवस्था देखिँदैन ।-ramanpreeti033@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here