महाकाली सन्धीको पक्षमा भएको निर्णय गम्भीर गल्ती : बामदेव गौतम

90
काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले महाकाली सन्धीको पक्षमा विगतमा भएको निर्णय गम्भीर र ऐतिहासिक गल्ती प्रमाणित भएको जनाएका छन् । उनले विगतको उक्त कदम गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने माग गरेका छन् ।
आज बसेको स्थायी कमिटि बैठकमा बोल्दै गौतमले महाकाली सन्धी गर्दा मुहान लिम्पियाधुरा तय हुनुपर्छ अनिमात्र सन्धी गर्नुपर्छ भन्दा कारबाही गरिएको घटना स्मरण गराउँदै आत्मालोचना गर्न सन्धीका पक्षधरलाई आग्रह समेत गरे । ‘मलगायत १६ जना कमरेडहरुले महाकाली सन्धी गर्दा नदीको मुहान तय गर्नुपर्छ भन्दा कारबाही गरेर अन्याय गरिएको थियो,’ गौतमको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, जो जो सन्धीको पक्षधर थिए उनीहरुले पनि त्यसको समिक्षा गरी आत्मालोचना गर्नुपर्छ ।
गौतमले कडा रुपमा प्रस्तुत हुँदै इतिहासको घटनाको व्याख्या गरे । उनले पार्टी समेत विभाजन भएको कारण महाकाली सन्धी भएको बताए । गौतमले महाकाली सन्धीको विषयमा बोल्दा बैठकमा माहोल नै फरक भएको थियो । अहिले भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद उठ्दा महाकाली सन्धी फेरि स्मरणमा आएको छ । २५ वर्ष अघि भएको सन्धीको पक्षमा तत्कालिन नेकपा एमालेका नेता तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सक्रियता देखाएका थिए ।
२९ माघ २०५२ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तत्कालिन प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धी भएको थियो । उक्त सन्धीलाई संसदले ४ असोज २०५३ मा दुई तिहाईले पारित गरेको थियो । सन्धीको विपक्षमा रहेको समुहको नेतृत्व गौतमले गरेका थिए । पछि पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुमाथि कारबाही भएको थियो । पछि गौतम महासचिव र साहना प्रधान अध्यक्ष बनेर नेकपा माले गठन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here