डबल नेकपा फुटको संघारमा

191

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि चौतर्फी घेराबन्दी भएपछि त्यसलाई तोड्न कठोर कदम चाल्ने तयारी गरेसँगै फुटको सम्भावना बढेको हो ।

स्थायी कमिटीको दुई तिहाई सदस्यले ओलीको राजीनामा मागिरहँदा उनले कडा निर्णय लिन थालेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेलगत्तै मन्त्रिपरिषद बैठक डाकेर ओलीले वर्षे अधिवेशन अन्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गराएका छन् । संसद अधिवेशन आज साँझ पाँच बजेबाट अन्त हुनेछ । संसद अधिवेशन अन्त गर्नुमा कुनै रणनीतिक उद्देश्यको अध्यादेश ल्याउन लागिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । संसद चलिरहँदा अध्यादेश ल्याउन नपाउने संवैधानिक व्यवस्था छ ।

ओलीले मन्त्रिपरिषदमा आफ्ना विरोधीलाई हटाएर फेरि मन्त्रिपरिषद बैठक राखेर अध्यादेश ल्याउने तयारी गरेका छन् । उक्त अध्यादेश राजनीतिक दलसम्बन्धी हुने बुझिएको छ । ओलीले आफूविरुद्ध चालिने कदमलाई निस्तेज पारेर प्रधानमन्त्री पदमा रहिरहने गरी आवश्यक पूर्वतयारी गरिसकेका छन् । उनले एमाले ब्युँताउने रणनीति अनुसार पछिल्लो कदम चालेको बुझिएको छ ।

यसैगरी, ओलीको अनुपस्थितिमा नेकपा स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकले ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय लिने बुझिएको छ । यसको तयारी हिजो नै ओलीविरोधी समुह अगेनो रेष्टुरेन्टमा बसेर गरिसकेका छन् ।

ओली सरकारबाट फिर्ता नहुने बरु कडा रुपमा प्रस्तुत हुने भएपछि टकराव बढेको छ । यसले नेकपा विभाजनको अवस्था ल्याउने सक्ने विश्लेषण हुनथालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here