मदन भण्डारीका सवारी चालक अमर लामा कसरी मारिए ?

21
– अनिल शर्मा ’विरही‘

हरेक वर्ष जेठ–असारमा मदन भण्डारीको विषयमा चर्चा हुन्छ र भण्डारीसँगै नकारात्मक पात्रको रुपमा भण्डारीका चालक र निकट सहयोगी अमर लामाको पनि चर्चा हुन्छ । मदन भण्डारीको भजनगान गर्नेहरु सरकारको नेतृत्वमा रहँदा रहँदै पनि छानविन तथा अनुसन्धान नगर्नु झनै रहस्यमय देखिन्छ ।

देशको लागि मदन भण्डारीको आवश्यकता थियो भने उनको हत्याका प्रत्यक्षदर्शी हुनुको कारण घटनाको सत्यतथ्य पत्ता लगाउन अमर लामा जीवित रहन आवश्यक थियो । उनी मारिनु हुँदैनथ्यो तर मारिए । मदन भण्डारी हत्याकाण्डको प्रमाण नष्ट गर्न र अपराधीको बचाउको लागि अमर लामा मारिएको हुनसक्ने आशंका धेरैले गरेका छन् । प्रचण्ड–बाबुरामको पछिल्लो अवस्था र १२ बुँदेपछि झन आशंका बढेको छ । अमर लामा हत्याको विषयमा मलाई धेरै कुरा थाहा छैन । तर सो समयमा काठमाडौंमा कार्यरत रहेको कारण जानकारीमा आएका विषय पाठकलाई पस्कनु सान्दर्भिक हुनसक्छ । २०४६ सालको जनआन्दोलनपछि कांग्रेसको शासन चलिरहेको थियो । कांग्रेससँग वर्गसंघर्ष चलिरहेको थियो तर तत्कालीन एमालेसँग वर्गसंघर्ष र वैचारिक संघर्ष दुवै जारी थियो । एमालेसँगको संघर्ष कठिन भएको थियो । कांग्रेसको ठूलो पार्टी, प्रहरी गुप्तचर सञ्जाल र उच्च मनोबल भए पनि लड्न र बुझ्न कठिन थिएन । तर एमालेले कम्युनिष्ट शब्द र नारा लगाउने हुँदा लडाइँ कठिन थियो ।

एमालेलाई समाप्त नगरी जनयुद्ध स्थापित गर्न सकिन्न भन्ने बुझाइ थियो । त्यसबेला हालका गृहमन्त्री थापा विशेष केन्द्रीय कमाण्डका इञ्चार्ज थिए । जसमा त्रिशुली–सुनकेशी बीच (नेवा र ताम्सालिङ)का भूभाग थिए । कुनै बैठकमा हो एक दिन बादलले ‘सुनारको सय चोट, र ..के एकचोट’ भनेझैं हुन्छ, अमर लामालाई भण्डारी हत्याको सबै थाहा छ । त्यसलाई समातेर आधार इलाकामा पु¥याउनु प¥यो, त्यसपछि सबै तथ्य सार्वजनिक गरिदिएपछि ओलीसहित सबै समाप्त हुन्छन्’ भनेका थिए । त्यसको जिम्मा उपत्यकाको एसटीएफ (विशेष कार्यदल)लाई दिइएको थियो । उसको विषयमा अनुसन्धान सुरु भयो । जनमुक्तिसेना कीर्तिपुर केन्द्रित थियो । एसटीएफले एक दिन अमर लामालाई कीर्तिपुरबाट नियन्त्रणमा लियो । लामा बलिया थिए । एसटीएफका युद्धप्रसाद रायमाझी (काभ्रे), दिनेश श्रेष्ठ ‘पृथ्वी’ (तनहुँ) लगायत साथीहरु पातलो गाँठीका थिए । एसटीएफको सबै विषय सेनाका साथीहरुलाई थाहा हुने गथ्र्याे । अमर लामालाई दक्षिणकाली हुँदै मकवानपुर लगेर थप योजना बनाउने भन्ने थियो । तर अमर लामा हात फुत्काएर भागेछन् ।

एसटीएफको चेतावनी पनि सुनेनन् । त्यसपछि पछाडिबाट पेस्तोल फायर भयो र उनी घटनास्थलमा नै मारिए । गिरफ्तार गर्नु भनेको सफाया भएपछि एसटीएफलाई कारबाही गर्नुपर्ने आवाज पनि उठ्यो । तर भवितव्य भएकाले कारबाही नगर्ने निर्णय भयो । कार्यदलका साथीहरुले पार्टीको आदेश पूरा गर्न नसकेकोमा आत्मालोचना गरे । मदन भण्डारी हत्याको भण्डाफोर गर्ने लामो समयदेखिको माओवादी प्रयास अधुरै रह्यो ।

मदन भण्डारी हत्याकाण्ड र अमर लामाको सन्दर्भमा देशी–विदेशी षडयन्त्रको विषयमा छलफल चलिरहेको छ । अमर लामालाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने र तथ्यहरु सार्वजनिक गर्ने माओवादी योजना थियो । तर जनमुक्ति सेनाको त्यो जिम्मेवारी सफल भएन । असावधानी भयो– भन्ने टिप्पणी पनि भयो । अमर लामा भागेको भए पीएलएका साथीहरु को ज्यान पनि खतरामा थियो । अमर लामाको हत्या योजनाबद्ध नभएर परिस्थितिजन्य थियो भन्ने मेरो बुझाइ छ । सो सम्बन्धमा तत्कालीन पार्टी नेतृत्व थापा र पीएलएका नेतृत्वका साथीहरु नै बढी जानकार होलान् । –२०७७ असार १४,भरतपुर अस्पताल चितवन, (लेखक बिप्लव नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य हुनु हुनुहुन्छ )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here