अंगीकृत नागरिकलाई अधिकार कि सुविधा ?

71

–प्रीति रमण

हाम्रो देश नेपालको भौगोलिक अवस्थाका कारण नागरिकताको विषय निक्कै पेचिलो बन्दै आएको छ । खासगरी छिमेकी देश भारतबाट नेपाली नागरिकता लिनेहरूको लामबन्दी नै लाग्ने गरेका कारण नेपालको नागरिकता समस्या झन् पेचिलो बन्न पुगेको देखिन्छ ।

खुल्ला सिमानाका कारण र धर्म, संस्कृति, भाषा र खानपानका साथै रहनसहनमा समेत समानता भएकाले बैवाहिक सम्बन्ध पनि भारत र नेपालका नागरिकहरू बीच भइरहेको पाइन्छ । त्यही कारणले पनि नेपालको जनसंख्या वृद्धिमा नकारात्मक प्रभाव परिरहेको छ । नेपाली चेलीहरू विवाह भएर भारतमा जाँदा उनीहरूले भारतको नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने कानुनी व्यवस्था भारतले गरेको छ । त्यतिमात्र होइन, विदेशी बुहारीले भारतको राजनीतिमा अंगीकृत नागरिकको हैसियतमा रहँदासम्म सहभागिता नपाउने व्यवस्था पनि रहेको छ । तर हाम्रो देश नेपाल यो सवालमा निक्कै उदार बनेको छ । नेपालको कानुनी प्रावधान नै त्यस्तै किसिमको भएकोले विदेशी नागरिकहरूलाई नेपालको मन्त्रिपरिषद्मा पुग्नसमेत कुनै कठिनाइ भएको पाइदैन । यही कारणले गर्दा अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिहरू नेपालको राजनीतिक अधिकार प्रयोग गरेर छिमेकी देशहरूको हितलाई मात्र प्राथमिकतामा राखेर सन्धि तथा सम्झौताहरू गर्ने गरेका पाइन्छन् । हुन त बंशजका आधारमा नागरिक बनेका व्यक्तिहरूले पनि भारतसँग गरेका सन्धि सम्झौताहरू नेपालको अहितमा भएको भनेर बारम्बार टिक्का टिप्पणी भइरहने गरेको पाइन्छ ।

नागरिकता राष्ट्रको अधिकार प्रयोग गर्ने अत्यन्त महत्वपूर्ण प्रमाण हो । यस्तो प्रमाणलाई सामान्य रूपमा लिने काम गरियो भने हाम्रो देश विदेशीहरूको अधिनमा जाने निश्चित हुन्छ । नेपालको जनसंख्या भन्दा धेरै गुणा ठूलो जनसंख्या भएका र भू—भाग पनि त्यतिकै ठूलो रहेका दुुई छिमेकीहरूबाट एक/एक प्रतिशतमात्र नागरिकहरू नेपालमा छिरेर नेपाली नागरिकता प्राप्त गर्ने हो भने नेपालको जनसंख्या हालको जनसंख्या भन्दा दोब्बर हुन पुग्दछ । त्यसैले पनि नेपाललाई नागरिकता सम्बन्धी नीतिमा गम्भीर बन्न आवश्यक देखिन्छ ।

नेपालको भूबनावटका कारण दक्षिणतिरको छिमेकी देश भारतसँग खुल्ला सिमाना रहेको छ । खुल्ला सिमानाका कारण एक देशका नागरिक अर्को देशमा आउने जाने प्रकृया सामान्य बनिरहेको छ । व्यापार लगायतका सामान्य पारिवारिक सम्बन्ध समेतलाई खुल्ला सिमानाले सहज तुल्याएको छ । तर यो सहजता नै नेपालका लागि जनसंख्या बृद्धिको एउटा दुरगामी नकारात्मक प्रभाव पार्ने कारण बन्न पुगेको छ ।

हालै मात्र नेपालको संसदले विदेशी बुहारीलाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता उपलब्ध गराउने भन्ने प्रावधान पारित भएपछि यो विषय निक्कै बहसको मुद्धा बनेको छ । सात बर्षपछि नागरिकता प्राप्त गरेकी बुहारीले नेपालको राजनीतिक अधिकारमा प्रवेश पाउने कि नपाउने भन्ने विषय पनि जटिल विषय हो । नागरिकता प्राप्तिको विषय भन्दा पनि नागरिकता प्राप्त गरिसकेपछि पाउने अधिकार महत्वपूर्ण कुरा हो । त्यसैले अंगीकृत नागरिकलाई राजनीतिक र उच्च सरकारी ओहोदामा प्रवेश गर्ने अधिकारबाट बञ्चित गरिनु आवश्यक हुन्छ । अझ नेपाल जस्तो सानो भू—भाग भएको र विशाल छिमेकी देशहरू भएको हुनाले अंगिकृत नागरिकहरूलाई राजनीतिक अधिकारमा प्रवेश नदिनु नै उपयुक्त हुन्छ ।

व्यक्ति र राज्यको कानुनी सम्बन्ध देखाउने महत्वपूर्ण प्रमाण नागरिकता नै हो । त्यसैले नागरिकता संवेदनशील दस्ताबेज पनि भएका कारण नागरिकता वितरणलाई कडाई गर्नु आवश्यक हुन्छ । नेपालको कानुनअनुसार विदेशी पुरुष नागरिकसँग विवाह गरेकी नेपाली छोरीले नेपालको नागरिकताको हक पाइरहने वा निजले नेपाली नागरिकता पनि परित्याग गर्नुपर्ने भन्ने तर्फ  स्पष्ट हुन जरुरी छ विदेश नागरिकसँग विवाह गरेकी नेपाली चेली स्वतः विदेशी नागरिक बन्न पुग्दछिन् । यस्तो अवस्था नेपाली चेलीको नागरिकता अनिवार्य रूपमा बञ्चित हुनु आवश्यक हो । तर नेपाली छोरीका श्रीमान्ले समेत अंगीकृत नागरिकता पाउनु पर्छ भन्ने आवाज नेपालमा उठिरहेको छ । यो अत्यन्त संवेदनशील विषय भएकाले राजनीतिक दलहरू यस विषयमा गम्भीर बन्न जरुरी छ । यो विषय राजनीतिक चुनावी मैदानमा जनताको मत प्राप्त गर्न लहडमा गरिने नाराबाजी होइन र बनाइनु हुँदैन ।

विदेशी ज्वाँई लगातार १५ वर्ष नेपालमा बसेपछि नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था भएकाले यो व्यवस्थालाई विभेदकारी भयो भन्दै सडकमा विरोधका आवाज गुञ्जायमान हुन थालेका छन् । विदेशी ज्वाँइलाई नागरिकता दिन थाल्ने हो भने भाञ्जाभाञ्जीहरूलाई पनि नागरिकता दिनु पर्ने हुन आउँछ । यसरी नागरिकता वितवरणमा लापर्वाही गरियो भने नेपालको जनसंख्या कुन रफ्तारमा बढेर जाला भन्ने कुरामा ध्यान पुग्न जरुरी छ ।

नेपालको जनसंख्या नियन्त्रणका लागि परिवार नियोजनलाई निक्कै महत्व दिइएको छ । तर खुल्ला सिमानाबाट नयाँ नेपाली बनाउने कामले परिवार नियोजनको अभियानलाई निरर्थक बनाई दिएको छ । सहज रूपमा विदेशीहरूलाई नागरिकता वितरण गरेर जनसंख्या बढाउनु भन्दा परिवार नियोजनको अभियान बन्द गरेर जति सक्छौ सन्तान जन्माऊ भनेर जनतालाई सन्तान बढाउन प्रोत्साहित गरेमा नै उपयुक्त होला ! किनभने नेपालमै जन्मेको नेपालीले निश्चय पनि नेपालको अहितमा सोच्न र काम गर्न सक्ने छैन, जति नेपालको नागरिकता प्राप्त गरेको विदेशी नागरिकले गर्ला ! त्यसैले नेपालको जनसंख्या नियन्त्रणका लागि पनि नागरिकता वितरण नीतिमा कडाई गर्नु आवश्यक देखिन्छ ।

[email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here