नेकपाका आन्तरिक विवाद र आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड

59

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतालाई जोगाउनको लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गणेश साहले अहिलेको समस्या हल गर्नको लागि ‘एक व्यक्ति, एक पद’ मा जानैपर्ने आवश्यकत्ता औंल्याए । पार्टीभित्रको आन्तरिक विवादको बारेमा पूरा देश र जनतामा चासो र चिन्ता देखिएको बताउँदै विवाद समाधान गर्न नेताहरुले प्रयत्न गरिरहेको साहले जनाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय विवाद समाधानको लागि भैरहेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक रहेको पनि विश्वास दिलाए । उनले भने,‘अध्यक्षद्धयबीचको वार्ताले आपसी मनमुटाब कम गर्नको लागि पनि सहयोग पुगेको छ । उहाँहरुले अहिले देखिएको संकट र अनिश्चयको निकास दिनुपर्छ ।’ उनले अहिलेको विवादलाई समाधान गर्नको लागि पनि जेठ २ गतेको सहमतिलाई आधार बनाएर अघि बढे निकास निस्किने विश्वास दिलाए ।
साहले नेकपाभित्रको विवाद हल गर्नको लागि पनि ‘एक व्यक्ति, एक पद’मा जानैपर्ने स्पष्ट पारेका छन् । ‘यसरी जान सकियो भने सरकार अध्यक्ष ओलीले चलाउने र पार्टीको नेतृत्व अर्का अध्यक्ष प्रचण्डल गर्नुपर्छ’–साहले भने,‘ओली कमरेड सरकारको काममा केन्द्रित हुने र प्रभावकारी बनाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्छ। र, एकता महाधिवेशनको तयारी गर्नुपर्छ ।’
साहले आगामी साउनको अन्तिममा वा भदौं पहिलो साता नै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने बताए । र, सरकार र पार्टी दुवैलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि पार्टीभित्रैबाट शक्तिशाली उच्चस्तरीय संयन्त्र बनाएरपनि जानुपर्ने तर्क गरे ।
साहले अब दुई अध्यक्षबीच हुने सहमति दुई जनामा मात्रै सिमित गर्न नहुने र यसलाई केन्द्रीय कमिटी बैठकबाट सहमतिको अपनत्व गराउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘यसरी केन्द्रीय कमिटीबाट अपनत्व गराउन सकियो भने कोहीपनि दायाँबायाँ जान मिल्दैन् । कसैलाई पनि त्यो सहमतिबाट दायाँ–बायाँ जाने अधिकार हुँदैन् ।’
साहले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘अब हामी महाधिवेशनको तयारीमा जुट्नुपर्छ ।’ उनले नेताहरुबीच सहमति भए वर्तमान प्रधानमन्त्री ओलीले सरकार चलाउने र पार्टीमा सेरेमोनियल अध्यक्षको रुपमा रहँदापनि राम्रो हुने तर्क गरे ।
फरक प्रसँगमा उनले नेपालका लागि चिनियाँ राजदूतले नेकपाका बरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेटेको विषयलाई ‘सकारात्मक रुपले भेटेपनि समयको हिसाबले अहिले नकारात्मक सन्देश’ गएको टिप्पणी गरे । उनले भने,‘नेकपा सार्वभौम पार्टी हो । पार्टीमा विदेश हस्तक्षेप सह्य हुँदैन् । यति यस्तो गतिविधि भएको हो भने यो अशोभनीय हुन्छ । कुटनीतिक मर्यादामा यो स्विकार्य हुँदैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here