देशभर काेराेनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

84
काठमाडौं – २४ घण्टा भित्र  थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका ३ जना रहेका छन् ।  यसैगरी  धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए ।

गौतमका अनुसार बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो । उनले कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ८ हजार ४४२ पुगेको बताए । उनले प्रतिशतका आधारमा संक्रमितमध्ये ५०.५ व्यक्ति निको भएपनि जनाए ।

परीक्षण घट्यो

सरकार पछिल्लो केही दिनयता कोरोनाको पीसीआर परीक्षण घटाउँदै लगेको छ । हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ । आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन् ।

थप तीनको मृत्यु 

कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना काठमाडौं  र १ जना सिन्धुपाल्चोकका रहेका छन् ।

 प्रवक्ता  गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा  पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले जनाए । मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।