ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव

227

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा जान लागेको भन्दै संकटमोचनका लागि पाँच प्रस्ताव सारेका छन् । जसमध्ये उनले शुरुका दुई बुँदामा संसद अधिवेशन बोलाएर लोकतान्त्रिक ढंगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीको नेकपाभित्रबाट राजीनामा माग भइरहँदा जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका बाबुरामको सामाजिक सञ्जाल ट्वीटरमार्फत् पछिल्लो प्रस्ताव आएको हो । उनले पहिलो बुँदामा संसद अधिवेशन बोलाउनुपर्ने भनेका छन् । दोस्रो बुँदामा प्रधानमन्त्री ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न भनेका छन् ।

संसदको विशेष अधिवेशन बोलाएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षीको समेत रणनीतिबारे चर्चा चलिरहेको छ । यस्तो अवस्था सृजना गर्न नेकपाभित्रकै ओली विरोधी नेताहरु प्रतिपक्षीलाई आग्रह गरिरहेको बुझिएको छ । यही बेलामा बाबुरामको ओलीलाई संसद अधिवेशन बोलाएर लोकतान्त्रिक ढंगले हटाउने विषय आउनुलाई अर्थपूर्ण मानिएको   छ ।

यसैगरी, डा. भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् । श्रीमती हत्याको अभियोगमा जेल परेका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले गरेको थियो । बाबुरामको संकेत दुवै न्यायाधीशतर्फ थियो । यसका साथै  बुढानिलकण्ठमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको घटनामा अभियुक्तलाई धरौटीमा रिहा गर्ने फैसलापछि न्यायाधीश सपना मल्ल पनि विवादमा छिन् ।

यसैगरी, डा. भट्टराईले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न प्रस्ताव गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था समेत प्रस्ताव गरेका छन् । नेकपाभित्र प्रचण्ड स्वयं प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षधर हुन् ।

बाबुरामको ट्वीटः देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:

१.संसद अधिवेशन बोलाऊँ;

२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;

३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;

४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;

५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here