राष्ट्रपतिमा पञ्चायती शैली र गन्ध

13

नारान कुमार उपाध्याय

३० जना पत्रकारहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाएको दुई घण्टे अन्तरक्रिया ‘अफ द रेकर्ड’ भनेपछि यो प्रसङ्ग निकै चर्चामा छ । देशको सर्वोच्च पदमा आसिन राष्ट्रपतिसँग चौथो अङ्ग ठानिने/मानिने प्रेसका प्रतिनिधिहरुको अन्तरक्रिया आफैमा सुखद खबरको सञ्चार हुनुपर्ने थियो । तर, जो जो पत्रकारहरु शीतलनिवासका पाहुना बनेर गए, उनीहरुले त्यस भेटको रिपोर्टिङ नगरे पनि ‘रिभ्यु’ भने आफ्नै शैली र ढङ्गमा विभिन्न तरिकाले गरिरहेका छन् ।

देश कोभिड १९ को कहर, बाढी, डुबान र पहिरो तथा अन्य विभिन्न समस्याले थलिएका बेला राष्ट्रप्रमुखले पत्रकारहरुलाई सम्झिनु र गफिनुलाई अस्वाभाविक मान्न सकिदैन । तर, त्यहाँ जनतालाई परेका यस्ता महा विपद र समस्यामा भन्दा राष्ट्रपतिमाथि उठेका विभिन्न मुद्दामा स्पष्टीकरण दिनमा नै समय खर्चिएका चर्चाहरु सहभागी पत्रकारहरुबाटै अनौपचारिक रुपमा आएका छन् । यसले उक्त अन्तरिक्रिया जनताका मुद्दामा भन्दा राष्ट्रपति भण्डारीबारेका विवादित र द्विविधाहरुमा केन्द्रित भएको ठानिएको छ ।

राष्ट्रपति संस्था नयाँ नेपालको, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक हो । तर, राष्ट्रपति भण्डारीका कतिपय विवादास्पद क्रियाकलापहरुले यो संस्था सरकारको र खासगरी सत्तारुढ नेकपाको पनि एक पूर्व गुटको संरक्षक रहेको नकारात्मक सन्देश जनमानसमा प्रवाह भइरहेको छ । मुलतः नेकपाको आन्तरिक कलहका सन्दर्भमा शीतलनिवासको सक्रियता, चासो र खण्डनमण्डनले राष्ट्रपति कार्यालयलाई/संस्थालाई अनावश्यक विवादमा धकेलेकै छ । विपक्षी काँग्रेसका नेताहरुले सत्तारुढ नेकपाको कार्यालय शीतल निवासमा नै सार्न सुझाएको व्यंग्यात्मक टिप्पणी नै राष्ट्रपति संस्थाको वर्तमान उजिल्याउने काफी प्रसङ्ग हो ।

यस्ता धेरै अमिल्दा पृष्ठभूमिहरुका माझ राष्ट्रपति भण्डारीले आफूलाई तटस्थ र निष्पक्ष देखाउन प्रेसको सहारा लिन खोज्नुलाई अन्यथा भन्न मिल्दैन । तर, भनिन्छ नि ‘एक्सन स्पिक्स लाउडर देन वर्ड्स’ हो । राष्ट्रपति भण्डारीले आफ्ना वाणीहरुबाट भन्दा काम र व्यवहारबाटै सन्तुलित, निष्पक्ष, सर्वमान्य र सर्वस्वीकार्य भूमिका निर्वाह गरे उनको र राष्ट्रपति संस्थाकै गरिमा र सम्मान झन उच्च हुँदै जाँदा मान्छेले राजतन्त्र भन्दा गणतन्त्र ठीक भन्दै गीत गाउँदै हिंड्न पाउथे कि ? फेरि मनका सबै भडास छताछुल्ल पारिसकेपछि सबै कुराहरु ‘अफ द रेकर्ड’ भनेर प्रेसलाई यो भेट निल्नु न ओकल्नु पारेर पनि राम्रो सन्देश गएको छैन । या त प्रेसबाट सिधै सुझाव र टिप्पणी मात्र सुन्ने वा अन्तरक्रिया नै गर्ने भए त्यस्ता सटिक जनताका समस्याका विषयमा भएका तर्कविर्तक जनतामाझ पुग्ने खालको अभ्यास भएको भए नै लोकतान्त्रिक शासन व्यवस्थामा राष्ट्रपति संस्थाको पारदर्शिताका सवाल अरु चमकदार हुन्थ्यो । ‘अफ द रेकर्ड’ को झन्झन्टमा यो संस्था नअल्झिएको भए बेश हुन्थ्यो । अपारदर्शिता र ढोंग राजदरवारको नै विरासत हो ।

आमन्त्रणमा नै पक्षपात ?

राष्ट्रपति भण्डारीले लकडाउनपछि पहिलो पटक आयोजना गरेको अनौपचारिक र ‘अफ द रेकर्ड’ भनिएको पत्रकार भेटवार्तामा राष्ट्रपति कार्यालयबाट विभेदपूर्ण आमन्त्रण गरिएको पाइयो । राष्ट्रपति कार्यालयका लागि सबै मिडियाका सम्पादक, पत्रकार बराबर हुनुपर्नेमा सरकार र खासगरी राष्ट्रपतिकै आलोचना गरेर लेख्नेहरुले शुक्रवार शीतलनिवासको निम्तो पाएनन् । नयाँ पत्रिका दैनिक, जसले राष्ट्रपतिले करोडौंको कार्पेट किन्न लागेको खबर छापेथ्यो, त्यस दैनिकका सम्पादकहरु शीतलनिवासले निम्तो दिन लायक ठानिएनछ । पूर्व माओवादीका कित्ताका मात्र होइनन् चिनिएका माधव नेपाल पक्षका पत्रकारहरुलाई नियतपूर्वक नै नबोलाइएको देखियो । चलेका स्थापित कतिपय मिडियाका पत्रकारहरु शीतलनिवासमा आमन्त्रण पाउन योग्य नुहुनु ठूलो राष्ट्रपति कार्यालयका सानो मनका राष्ट्रपति भण्डारीको दरिद्र चिन्तन र चरित्रलाई उजागर गरेको छ । पूर्व एमाले सम्वद्धभित्र पनि एउटा गुटको बढी पत्रकार र केही ‘व्यावसायिक’ पत्रकारहरुलाई मात्र उनले बोलाइन ।

नेपाली गणतन्त्रको प्रतिक राष्ट्रपति संस्था आफैमा उच्च गरिमायुक्त भएकाले सबैलाई एक प्रष्ट मापदण्डका आधारमा बोलाउनु पर्ने थियो । यहाँ त सरकार वा राष्ट्रपतिप्रति आलोचनात्मक चेत र फरक विचार वा समाचार पस्कने सबैजसो मिडियाका पत्रकारहरुलाई राष्ट्रपति कार्यालयको दैलो बन्द गरिएको सन्देश पो दिइयो । यसरी हेर्दा समग्र पत्रकारिताप्रति राष्ट्रपति कार्यालयको समान नजर र सम्मान भएको सन्देश आम जनमानसमा सञ्चार गरिएन, गराइएन । आफ्नो सत्ताप्रति फरक मत राख्नेहरु पञ्चायती शासकहरु गोली ठोक्थे र झुट्टा मुद्दा लगाएर थुनामा राख्थे, अहिले शासकहरु फरक मत राख्नेलाई ‘बाइकट’ गर्न थाले । ढोका बन्द गर्दै निषेधको बाटो अपनाए । यसले पत्रकारितामा नयाँ पदम ठकुराठीहरु जन्माउने मेलो शीतलनिवासको क्रियाकलाप र व्यवहारबाट देखिनु आफैमा राष्ट्रपति संस्था र कार्यालयको मानमर्दन हो ।

आलोचनात्मक चेत राख्नेहरुहरुलाई निषेध गर्ने चरित्रको अवलम्बन भयो । लोकतान्त्रिक आन्दोलन उत्कर्षमा पुगेको बेलामा हिजो राजदरवारमा पुगेर हण्डी खाने  पत्रकार समेत अहिले राष्ट्रपतिका निवासमा प्राथमिकताका पाहुना बने । उनीहरुको बोलवाला र चुरीफुरी देख्दा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका पत्रकारहरु शर्मले पानीपानी भएको अनुभव अनौपचारिक कुराकानीमा सुनाइरहेका छन् ।

राष्ट्रपतिले आफू गाउँमा जन्मिएको, किसान रहेको बताएको वाहिर आएको छ । मान्छे कुन वर्गमा जन्मिएको भन्दा पनि कुन वर्ग रोज्ने भन्ने कुरा मुख्य हो । राष्ट्रपतिले यसको गरिमा बचाइनन् । उनी पञ्चायतकालीन राजाको पदछाप पछ्याएको अनुभूत धेरैले गरेका छन् ।

प्रतिपक्षी धारमा रहने मिडियालाई भन्दा राष्ट्रपति संस्थाको गरिमा उच्च बनाउनमा राष्ट्रपतिका कामहरु सन्तुलित हुन सक्नुुपर्छ । राष्ट्रपतिका पछिल्ला गतिविधि र व्यवहारले यसको सम्मान र गरिमा पटक्कै थेग्नै सकिनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here