तनहुँका कर्मचारीमा कोरोना

65

पोखरा – काठमाडौंबाट हालै फर्किएका तनहुँका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ । ‘उहाँ बिदा लिएर पारिवारिक काममा जानुभएको थियो । साेही क्रममा  काठमाडौंको एक अस्पतालमा गएको भन्ने खबर पाएका छौं,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले भने, ‘ट्रेसिङको काम भइरहेको छ । भोलिसम्म सबै डिटेल आउला ।’

 

विदा लिएर काठमाडौं आएका उनले विभिन्न ठाउँको यात्रा गरेका थिए । परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग ती कर्मचारीले भेटघाट गरेकाले ट्रेसिङमा समय लागिरहेको छ । ‘उहाँ काठमाडौंको कुन हस्पिटलमा जानुभएको थियो । कति जनासँग भेट भएको थियो भन्ने खोजी गरिरहेका छौं,’ उपाध्यायले भने ।

स्याङ्जामा थप एक प्रहरीमा कोराना

स्याङ्जामा संक्रमण पुष्टि भएका ८ जनामध्ये एक जना प्रहरी कर्मचारी पनि रहेका छन् । उनी वालिङको वडा प्रहरी कार्यालयमा कार्यरत थिए । एक जना थपिएसँगै स्याङ्जामा मात्र कोरोना संक्रमित हुने प्रहरीको संङ्ख्या ४१ पुगेको छ ।

कास्कीमा आइतबार रुपा गाउँपालिकाका ३ जना र पोखरा महानगरपालिका – १९ का एक जनामा कोरोना संक्रमण पुष्टि भएका छ । रुपा गाउँपालिकामा ३ जना एकै परिवारका हुन् । उनीहरुको परिवारको एक जनामा ३ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखराको वडा नम्बर १९ का एक जना संक्रमितको ट्राभल हिस्ट्री र संक्रमणको स्रोत पत्ता लागेको छैन । उनी ज्वरो आउने, रुघा लाग्नेजस्ता लक्षण देखिएपछि पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ओम अस्पतालमा पुगेका थिए ।

‘हिजोमात्र उनी पश्चिमाञ्चल अस्पताल र ओम अस्पतालमा जँचाउन पुगेका थिए । कोरोनाको शंका लागेर परीक्षण गर्दा पोजेटिभ देखियो,’ जिल्ला स्वास्थ्य प्रमुख बाबुराम आचार्यले भने, ‘उनलाई अहिले पश्चिमाञ्चल अस्पतालकै आइसोलेसनमा राखिएको छ ।’

गण्डकी प्रदेशमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेको छ । त्यसमा पनि ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या बढ्नुलाई जनस्वास्थ्य विज्ञहरुरुले खतराको संकेत भनेका छन् । आइतबारमात्र गण्डकी प्रदेशको स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजनामा संक्रमण देखिएको छ ।

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढिरहँदा संक्रमणको दर पनि बढेपछि धेरैमा त्रास पनि थपिएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५०५ पुगेको हो । गण्डकीमा हालसम्म १२४५ जना निको भएर घर फर्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here