कार्ड दुरुपयोग गरी ओहोरदोहोर

96

बुटवल – भैरहवा र भारतको सुनौली भन्सारका क्लियरिङ एजेन्टले जेठ तेस्रो साता भैरहवा आएर काम गर्न पाउनुपर्ने अड्डी कसे। यही मागसहित उनीहरूले सीमापारि कामकाज ठप्पै पारे। नेपाल आउन लागेका मालवाहक गाडी तीन दिनसम्म उतै रोकिए। पटक–पटक छलफल भयो। अन्ततः उनीहरूलाई परिचयपत्रका आधारमा भैरहवा भन्सारमा आउन दिने सहमति बन्यो।

तर, तिनै परिचयपत्रको दुरुपयोग गरेको पाइएको छ। सुरुआती चरणमा पारिका एजेन्टले भन्सारमा आएर काम गराउन थाले। तर, बिस्तारै सीमाबाट आवागमन भद्रगोल बनेको थियो। दुवै देशका भन्सार एजेन्टले चिनजानका आधारमा आआफ्नो फर्मका नाममा ‘प्रतिनिधि’ भन्दै परिचयपत्र जारी गरेपछि समस्या देखिएको थियो। आवश्यकभन्दा बढी आउजाउ हुन थालेपछि सुरक्षा निकायले जाँच गर्दा अधिकांश परिचयपत्र नक्कली भएको खुलेको छ।

‘केही समयअघिसम्म परिचयपत्रको दुरुपयोग गरी सीमाबाट मुभमेन्टहरू भए’, सशस्त्र प्रहरी बल २७ नम्बर गण रूपन्देहीका प्रहरी उपरीक्षक तेज पोखरेलले भने, ‘तर, अहिले कडाइ गरेका छौं।’

भन्सार एजेन्टको विवरण भिडाएर मात्र आउजाउ गर्न दिइएको उनको भनाइ छ। ‘भन्सारको कामका लागि सीमाबाट आवतजावत गर्न ३५–४० वटा मात्र कार्ड जारी भएको छ’, उनले भने, ‘हामीले त्यसको विवरण पनि राखेका छौं, जाँच गरेर मात्र आउनजान दिइएको छ।’ उनका अनुसार एक सयभन्दा बढी नक्कली परिचयपत्र जफत गरी सम्बन्धित व्यक्तिलाई फर्काइएको छ।

जति कडाइ गरे पनि अनेक उपाय लगाएर सीमाबाट आवतजावत भइरहेको छ। भारतीय एजेन्ट काम नभए पनि आफ्नो वा अन्यको व्यक्तिगत कामका लागि पनि सवारीसाधनसहित आएर भैरहवा, बुटवल बजार घुमेर फर्किने गरेका छन्। उनीहरूलाई कुनै किसिमको रोकटोक छैन। भन्सारमा आएर काम गर्न भनिए पनि बाहिर निस्किएर उनीहरू निष्फिक्री घुम्ने गरेका छन्। सीमाबाट छिरेपछि उनीहरूको गतिविधिमा निगरानी नहुँदा सहजै नेपाली बजारमा आउने गरेका छन्। तर, कडाइ गर्दै आएको प्रशासनको दाबी छ। सुनौलीबाट नेपाल आउने भन्सार एजेन्टमार्फत पनि कोरोना संक्रमणको जोखिम बढेको छ। सुनौलीमा मात्रै १२ जना कोरोना संक्रमित फेला परेका छन्।

भैरहवा भन्सार प्रमुख कमलकुमार भट्टराईले २५ जना नेपाली क्लियरिङ एजेन्टको परिचयपत्र जारी भएको बताए। ‘एजेन्टले एक जना आफ्नो सहयोगी नियुक्त गर्न सक्छ। ती सहयोगीले आफ्नो कार्ड भिरेर भन्सार प्रवेश पाउँछन्’, उनले भने, ‘त्यसबाहेक अरूलाई भन्सारभित्र प्रवेश दिइएको छैन। आयातकर्ता भन्सारमा आउँदा पनि गेटबाट प्रवेश कार्ड लिएर मात्रै भित्र आउँछन्।’

प्रमुख भट्टराईले नक्कली कार्ड बनाई त्यसको दुरुपयोग गरेको सुन्नमा आएको जनाए। सीमामा परिचयपत्र जाँच गर्ने काम सुरक्षा निकायको भन्दै राम्ररी जाँच भए नक्कली कार्ड भिरेर सीमापारीबाट आउन नसक्ने उनको भनाई छ।

मुख्य नाका बेलहियामा कडाइ गरिए पनि खुला सीमाका कारण अन्य नाकाबाट लुकिछिपी सर्वसाधारणको आवतजावत हुन गरेको छ। सीमा क्षेत्रका भारतीय र नेपाली दुवै आवश्यक परेको बखत सहज रूपमा एकअर्का देशमा आउन जाने गरेको पाइएको छ।

सीमा नाका बन्द भए पनि भारतीय मजदुर नेपाली उद्योग काम गर्न आएपछि कोरोना संक्रमण फैलिन थालेको छ। प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमित बढेका छन्। संक्रमण देखिनेमा हाटबजार, होटल, उद्योगमा काम गर्ने मजदुर रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here