साढे ३ वर्षमा पनि सम्पन्न भएन टेलिकमको ‘फोरजी’ विस्तार

137

 काठमाडौं – नेपाल टेलिकमले २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा चौथो पुस्ताको मोबाइल इन्टरनेट ‘फोरजी’ सेवा उपलब्ध गराउन थाल्योे । त्यसपछि अन्यत्र सेवा विस्तारका लागि ठेक्का लगाउन मात्रै टेलिकमलाई २ वर्ष समय लाग्यो । २०७५ माघमा बल्ल टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशभर पुर्याउने भन्दै दुई चिनियाँ कम्पनीलाई ठेक्का त दियो, तर काम भनेजस्तो भएन ।

टेलिकमका अरु परियोजना जस्तै फोरजी विस्तारको काम पनि समयमै सकिएन । गत फागुनससम्म फोरजी विस्तारको काम सकिनुपर्थ्यो । तर, अझै पनि यो परियोजना कहिले सकिन्छ भन्ने अन्योल कायम छ । फागुनपछि ६ महिनामा काम सक्ने भनेर टेलिकमले ठेक्काको समयावधि लम्ब्याएको थियो । तर, असारमा नसकिएपछि फेरि म्याद थप्ने अवस्था आएको बताउँछन् नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी ।

टेलिकमले भन्दा झण्डै ६ महिनापछि फोरजी सेवा थालेको एनसेलको गत जेठसम्म फोरजी ग्राहक ३६ लाख ८४ हजार पुर्याएको थियो । तर, टेलिकमको फोरजीका ग्राहक ८ लाख ४३ हजार मात्रै छन् । स्मार्ट टेलिकमको पनि १ लाख ८२ हजार फोरजी ग्राहक छन् । एनसेलको ग्राहक टेलिकमकोभन्दा साढे ४ गुणा बढी छन् । टेलिकमले ७५३ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याउने गरी नेटवर्क डिजाइन गरेको छ । तर, अझै पनि २२९ स्थानीय तहमा फोरजी सेवा पुग्न सकेको छैन् ।

कति भयो काम ?

टेलिकमले बजार मूल्यभन्दा महंगो रकम खर्चिएर ठेक्का लगाउन खोजेपछि विवाद अख्तियारसम्म पुगेको थियो । अख्तियारले बोलपत्र लिइसकेको ठेक्का प्रक्रियालाई अघि बढाउने वा नयाँ लागत मूल्य तयार गरेर अर्को ठेक्का प्रक्रियामा जाने भन्ने निर्णय सञ्चार मन्त्रालयले गर्नुपर्ने राय दिएको थियो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ३६ महिनाको परियोजनालाई १२ महिनामै काम सक्ने शर्तमा दुई चिनियाँ कम्पनीलाई ठेक्का लगाउन सहमति दिएका थिए । छिटो विस्तार सक्दा त्यसबाट टेलिकमले पनि छिटै लगानी छिटो उठाउने र लागत महंगो भए पनि लाभ उठाउन सहज सकिने बास्कोटाको तर्क थियो । तर, सम्झौता अनुसार १२ महिनामा टेलिकमले काम गर्न सकेन । पछिल्लो पटक म्यद थपिएको ६ महिनामा पनि कोभिड–१९ को महामारी र त्यसलाई रोकथाम गर्न गरिएको लकडाउनले परियोजना प्रभावित बन्न पुग्यो ।

टेलिकमका प्रवन्ध निर्देशक अधिकारीका अनुसार अहिलेसम्म ‘कोर नेटवर्क’तर्फको काम ९० प्रतिशत सकिएको छ । रेडियो एक्सेस नेटवर्कतर्फ भने ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । हालसम्म करिब २४ सय स्थानका टावरबाट फोरजी सेवा दिन थालिएको छ । जसबाट ५३२ स्थानीय तहका विभिन्न भूभागमा ‘कभरेज’ पुगेको अधिकारीले बताए ।

उनका अनुसार टेलिकमले ७५३ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याउने गरी नेटवर्क डिजाइन गरेको छ । तर, अझै पनि २२९ स्थानीय तहमा फोरजी सेवा पुग्न सकेको छैन । टेलिकमले अझै करिब ५ सय वटा टावरहरुमा काम सकेर फोरजी सेवा थाल्न बाँकी छ । तीमध्ये कतिपय टावर नयाँ बनाउनुपर्ने छ भने केही स्थानमा फोरजीसम्वद्ध उपकरणहरु जोड्न बाँकी छ ।

कोरोनाको बहाना

टेलिकमका एक बरिष्ठ इञ्जिनियर विस्तारका लागि ‘महत्वकांक्षी’ रुपमा निर्माण अवधि छोट्याएर खरिद सम्झौता गरेकाले समयमै काम नसकिनु स्वभाविक भएको जनाएका छन् । ‘परियोजनाको विवाद साम्य पार्न त्यतिबेला १२ महिनामै काम सकिने भनेर हल्ला गरियो, जुन सम्भव हुने अवस्था थिएन,’ उनी भन्छन्,‘फागुनपछि मात्रै कोरोनाको महामारी सुरु भएकाले कोरोनाकै कारण परियोजना प्रभावित भयो भन्नु हास्यास्पद हुन्छ ।’

टेलिकमका प्रवन्ध निर्देशक अधिकारी भने डिसेम्बर महिनामै नयाँ वर्ष मनाउन चिनियाँ प्राविधिकहरु चीन गएको र त्यहाँ भएको लकडाउनकै कारण नेपालमा परियोजना प्रभावित हुन पुगेको दाबी गर्छन् । उनले कोभिड–१९को कारण फागुनबाट असारसम्म काम नै गर्न नपाएको भन्दै फोरजीको विस्तार सक्न अझै केही समय लाग्ने जनाए ।

‘अहिले पनि स्थानीय तहहरुमा कतै–कतै लकडाउनको अवस्था छ, नयाँ मान्छे स्थानीय तहमा गएर काम गर्न नसकिने अवस्था छ,’ उनी भन्छन्, ‘भारतबाट आएर काम गरिरहेका प्राविधिकहरु यहाँ फर्किन सकेका छैनन, नेपालका सीमित इञ्जिनियरहरु फिल्डमा छन् । तर अहिलेको अवस्था हेर्दा कहिले काम सकिन्छ भन्न मुस्किल छ ।’  यो सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब खर्चिएको छ । फोरजी सेवाका चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनी (हुवावे)सँग गत माघमा सम्झौता भएको थियो ।

टेलिकमले यो सेवालाई ‘एलटीई ए’ अर्थात आधुनिक एलटीई भनेको छ । यसमा अधिकतम् २४७ एमबीपीएसको गतिमा डाटा सेवा प्राप्त हुन्छ । औसतमा यस्तो गति १३० एमबीपीएस रहेको टेलिकमको दाबी छ ।  तर, नेपालभरका जनताले कहिलेबाट यसको उपयोग गर्न पाउँछन् भन्ने अनिश्चित बन्न पुगेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here