कांग्रेसका सभापति १४ औं महाधिबेशनमा लागि मत जुटाउँदै

99

काठमाडौं  – आगामी १४ औं महाधिबेशनमा आफूलाई पुग्ने मत जुटाउने हिसाव कितावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युद्ध स्तरमा जुटेका छन् । नेपाली कांग्रेसको महाधिबेशन आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तोकिएको छ । यो मिति आउन अब लगभग सात महिना बाँकी रहँदा दुवै पक्ष सघन रुपमा जुटेका छन् ।

महाधिबेशनका क्रममा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि सभापति पदमा चुनाव जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । कसैको पनि ५० प्रतिशत नकटे पहिलो हुने र दोस्रो हुनेबीच फेरि प्रतिस्पर्धा गरिन्छ । त्यसैले ५० प्रतिशत मत पुर्याउने गृहकार्यका सभापति देउवा अहिलेदेखि नै जुटेका हुन् ।

यसका लागि महाधिबेशन प्रतिनिधि चयनमै ठूलो खेलोफड्को हुने गरेको छ । आफ्नो पक्षमा बढी महाधिबेशन प्रतिनिधि ल्याउनका लागि संस्थापन पक्षलाई जति सहज छ इतर पक्षलाई त्यति नै असहज हुन्छ । यो सहजताको फाइदा बहालवाला सभापति शेरबहादुर देउवाले लिएका छन् । महाधिबेशनमा करिव ८० प्रतिशत प्रतिनिधि प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आउँछन् । बाँकी २० प्रतिशत प्रतिनिधि भ्रातृ तथा शुभेच्छुक संघ संगठन, विदेशस्थित जनसम्पर्क समिति तथा बहालवाला केन्द्रीय सदस्यहरु हुने गर्दछन् । मनोनित केन्द्रीय सदस्यले त देउवालाई स्वतः मत दिने  भइहाले ।

भ्रातृ तथा शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिहरुबाट पनि देउवाको पक्षमा एकलौटी हुने संभावना देखिएको छ । यी संस्थाहरुमा देउवाले करिव करिव एकलौटी बनाई सकेका छन् । बाँकी ८० प्रतिशतमध्ये करिव ३५ प्रतिशत मत हासिल गरे भने पनि देउवाको पक्षमा स्पष्ट बहुमत पुग्छ । यसका लागि पनि देउवाले सुरक्षित रणनीति बनाएका छन् । हालै उनले चार सय २९ सदस्यीय जेष्ट नागरिक सभा गठन गरेका छन् । यसमा पनि करिव करिव देउवाको सोलोडोलो छ । यी चार सय २९ मध्ये ८० प्रतिशत भन्दा बढीले महाधिबेशन प्रतिनिधि निर्वाचित भएर आउने हैसियत राख्छन् ।

त्यसैगरी ४१ वटा विभाग तथा सातै प्रदेशस्तरीय समिति गठनको तयारीमा सभापति देउवा छन् । करिव चार हजार नेता तथा कार्यकर्ताहरुले विभाग तथा प्रदेश समितिमा भूमिका पाउँछन् । उनीहरुमध्ये १० प्रतिशत मात्रै महाधिबेशन प्रतिनिधि निर्वाचित भएर आए भने पनि देउवाको पक्षमा बहुमत पुग्छ । यसैगरी पार्टी एकीकरणका क्रममा समाहित भएको विजयकुमार गच्छदार समूहले पनि पहिलो पटक भएकोले २–३ सय महाधिबशेन प्रतिनिधि पाउने अवस्था छ ।

सुनिल थापाको नेतृत्वमा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेको समूहले पनि २–३ सय महाधिबेशन प्रतिनिधि पाउने संभावना छ । यस बाहेक विभिन्न पार्टी छाडेर प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको संख्या नेपाली कांग्रेसमा उल्लेख्य छ । यस्तो मत संस्थापन पक्षले नै पाउने बढी संभावना रहन्छ । त्यसैले सभापति देउवाले आफूलाई सुरक्षित महसुस गरेका छन् । सामान्यतया बहालवाला सभापति चुनाव हार्ने गरी उम्मेदवार बन्दैन । जित्ने निश्चित भएपछि मात्रै उमेदवारी घोषणा गर्छ । तर, सभापति देउवाले आफ्नो क्याम्पभित्र फेरि उम्मेदवार बन्ने जानकारी दिइसकेका छन् । देउवाले सुरक्षित महसुस गरिसकेको अनुमान यसैका आधारमा गरिएको छ ।

गत १३ औं महाधिबेशनमा देउवाले विमलेन्द्र निधिलाई भावी सभापतिको वचन दिएका थिए, तर यसपटक भने उनले रणनीति बनाउँदा उपसभापति निधिलाई वास्ता नै गरेका छैनन् । निधि र गच्छदारमध्ये एउटालाई रोज्नु पर्ने र एउटालाई फाल्नु पर्ने वाध्यता सभापति देउवालाई छ । दुवै जना उपसभापति भन्दा तल्ला पदमा चुनाव लड्न मिल्दैन । उपसभापतिका दुई मात्रै कोटा छन् । दुवै कोटामा मधेसी समुदायका नेतालाई समावेश गर्दा प्रत्युत्पादक हुन्छ भन्ने देउवाले बुझेका छन् । तर यी दुईमध्ये एक जना रोज्न देउवाका लागि धेरै नै कठिन अवस्था छ । गच्छदारसँग भोट बैंक छ, निधिसँग इमेज छ ।

उपसभापतिमा ठाउँ नपाए सभापतिमै चुनाव लड्ने हैसियत निधिले राख्छन् । यदि निधि सभापतिको उमेदवार बने भने देउवा सिधै धरापमा पर्नेछन् । उता गच्छदार विरुद्धमा लागे भने पनि देउवालाई चुनाव जित्न सहज हुँदैन । चुनावी अंक गणितको राजनीतिमा गच्छदार पनि बलिया खेलाडी हुन् । समयबद्ध साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here