केपी सरकार आफ्नै कारणले एकपछि अर्को विवादमा फस्दै

169
काठमाडौं –  समाजवादको नारा दिएर जनतालाई भ्रममा पारिरहेको वर्तमान केपी वली सरकार आफ्नै कारणले एकपछि अर्को विवादमा फस्दै गएका छन् । सरकारका विभिन्नखाले काण्डहरूले तताएको बजार सेलाउन नपाउँदै, अझ यसो भनौँ १० अर्ब भ्रष्टाचार भएको ओम्नी र यती काण्ड सेलाउन नपाउँदै सरकारले अर्को काण्डको रचना गरेको छ जसको कारण पछिल्लो २४ घन्टामा सोसल मिडियामा सरकारको आलोचना मात्र होइन, समाजवादी सरकारको मजाक उडाउनेहरूको सङ्ख्या ठूलो छ ।

राष्ट्रिय लगानी बोर्ड ठूला वैदेशिक लगानीहरूलाई नेपालमा ल्याउनका लागि अनुमति दिने, ठूला लगानीलाई प्रवद्र्धन गर्ने र लगानीकर्तालाई सहजीकरण तथा सुरक्षण गर्ने निकाय हो जसले राष्ट्रिय अर्थतन्त्रमा निकै महत्व राख्छ । सोही बोर्डको प्रमुखमा सरकारी पदधारीहरूले आफ्नो खल्तीको, विवादित व्यक्ति सुशील भट्टलाई नियुक्त गरेर अर्को जनविरोधी काम गरेका छन् । योसँगै राष्ट्रिय लगानी बोर्डमा औपचारिक रूपमा बिचौलियाहरूको प्रवेश भएको छ ।

सरकारले पूर्वाधार विकासका आयोजनाहरू अलपत्र पारेको र राम्रो काम नगरेको भनेर आफैँले कालोसूचीमा राखेको विदेशी कम्पनीका एजेन्ट सुशील भट्टलाई लगानी बोर्डको सीईओ बनाएपछि समाजबादी सरकारको समृद्ध नेपाल बनाउने उद्देश्य बुझ्न कसैलाई भ्रम रहेको छैन । सरकारले नै कालोसूचीमा राखेको भरतपुर बर्दघाट विद्युत प्रसारण लाइन निर्माणको ठेक्का पाएको चाइनिज कम्पनी र लमजुङको उदीपुर–चितवनको भरतपुर सबस्टेसन निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीका स्थानीय एजेन्ट सुशीलको निकै विवादास्पद छवि छ ।

यस्तै हेटौँडा–ढल्केबर र इनरुवाको विद्युत् सबस्टेसन, तामाकोसी–काठमाडौं प्रसारण लाइन, बाह्रबिसेमा निर्माणाधीन सबस्टेसन, हेटौँडा–भरतपुर प्रसारण लाइन, काबेली करिडोर, नेपाल प्रहरीको सञ्चारसेट ठेक्कालगायत दर्जनौँ योजनाहरू अलपत्र गराउने सुशील भट्टको हातमा सरकारले पूर्वाधार विकास आयोजना सुम्पिएको छ ।

राष्ट्रिय सम्पत्तिको दोहन मात्र होइन, राष्ट्रलाई अर्थतन्त्रको क्षेत्रमा ठूलो क्षति पुर्याएको भट्टलाई सरकारले लगानी बोर्डको सीईओमा नियुक्त गरेर स्वाभिमानी, देशभक्तहरूको शिर निहुराएको छ भने दलाल, कमिसनखोर र बिचौलियाहरूलाई हौस्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा वलीसहित उपाध्यक्ष वामदेव गौतम, विष्णु पौडेल, नेता जनार्दन शर्मासम्मका व्यक्तिहरूसँग सम्बन्ध बनाएका कारण अन्य एक दर्जन बढी योग्य व्यक्तिहरूलाई पछारेर उनी उक्त पदमा पुगेको विश्लेषकहरूको भनाइ छ । उनै नेताहरूसँगको उठबसकै कारण सुशील र उनका सहोदर भाइले नेपालमा ठेक्काका लागि विदेशी कम्पनी ल्याउने र आयोजनाहरू अलपत्र पारेर छोड्नुका साथै राज्यको ठूलो सम्पत्ति नोक्सान पार्ने गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here