पत्रकारिताको बर्तमान जनपक्षधरताको अवस्था

210

नेपाली छापा पत्रिका र अन्य संचार माध्यमहरुनै हुन जसले नेपालमा प्रजातंत्र आएको हो कि भन्ने झल्को दिइरहेका छन् । कतिपय पत्रपत्रिकाले भ्रष्टाचारका घटनाहरु उदिनीरहेका छन्, कतिपय टीभी कार्यक्रमहरुले बेथीतिका कुराहरु आफ्नै हिसाबले र अन्तर्वार्ता मार्फ़त संप्रेषण गरिरहेका छन् र यूट्यूब,फ़ेसबुक आदि संजाल मार्फत् नयॉ पिढीले बेथीति बिरुध्द आफ्ना असन्तुष्टिहरु ब्यक्त गरिरहेका छन्। यी अभिब्यक्तिहरुले बेथीतिहरु बिरुध्द जनचेतना उठाउने र बिरोधका स्वरहरुलाई संगठित गर्ने काममा केही टेवा पुर्याइरहेका छन्।

नेपालमा अहिले पंचायतकाल र संबैधानिक राजतंत्रकालको तुलनामा संचार माध्यमहरुको बाढी नै आएको छ। २००७ देखि २०१७ साल सम्ममा प्रमुख जनसंचार माध्यम छापा ख़बर पत्रिका थिए र त्यसको संख्या १७० थियो भने २०७६/७७ मा आइपुग्दा यो छापाको संख्या प्रेस काउन्सीलको रिपोर्ट अनुसार ९२४ पुगिसकेको छ। टीभी मात्रै दशौं भएका छन्, अनलाइन पत्रिका तीसौं भएका छन्, र रेडियोहरु चालीसौं छन्।कैयौं सामाजिक संजालहरु छन् र त्यसमा लाखौंको सहभागिता छ। नागरिकका कुरा अहिले र पहिलेमा कहिले बढी भए तुलना गर्न पर्ने भएको छ।

संचार माध्यम बढी भएका कारणले, स्वतंत्रताको उपभोग गर्ने अवसर बढी भएको कारणले र जनयुध्दले तल्लो वर्गका जनतामा चेतना र ऑट थपेका कारणले पहिले भन्दा अहिले मात्राको हिसाबले निश्चय नै बढी जनताका कुरा बढी भएको हुनु पर्छ  । तर पेशागत मर्यादा सहित परिवर्तनको कुराको अनुपात र गहनताको हिसाबले त्यो समयमा धेरै जनपक्षधरता देख्दछु। त्यतिबेला सरकारी दमन थियो, छेकवारहरु थिए,  तैपनि धेरै छापाहरुले आफूलाई बिचारप्रधान भनेर चिनाएका थिए, पत्रिकाको आम्दानीले पत्रिका चलाउन हम्मे हम्मे पर्थ्यो, तैपनि बिज्ञापन मोह आज जस्तो थिएन। पत्रिकाहरु नेताका हरेक उध्दरणको फेर समातेर ब्यापार गर्ने र दशैं केन्द्रित कम थिए । त्यस्तो अवस्थामा पनि पदम ठकुराठीले गोली खान आँट  गरेकै हो,  कृष्ण  सेन ‘इच्छुक’ लगायत क़तिले ज्यान दिन हिम्मत गरेकै हो। तर आज त्यो कम छ।

सन्देशमूलक साहित्यिक पत्रिका वा विचार अन्वेषण गर्ने पत्रिकाहरु पनि त्यतिबेला समाजका आकर्षण हुन्थे, लगभग पाठ्यपुस्तकको मर्यादा पाएको देखिन्थ्यो भने आज त्यो स्थिति प्रायः देखिदैन। त्यतिबेला प्रायः पत्रिकाका आफ्ना पहिचान हुन्थे, सरकार वा सत्ता परिवर्तन भएसंगै आफ्ना रंग फैर्दैनथे भने आज त्यो स्थिरता कमैमा देख्न पाइन्छ । त्यतिबेलाका पत्रिकाका धेरै सम्पादकहरु दह्राे राजनीतिक आस्था भएका, समाजले पत्याएको छवि भएका, राजनीतिक दलका ज़िम्मेवार तहमा भएता पनि पत्रकारिताको पेशागत मर्यादा प्रति प्रतिबध्द पाइन्थे भने अहिले संख्याको अनुपातमा यो स्थिति धेरै कम देखिन्छ।

त्यतिमात्र होइन, त्यतिबेला धेरै संचार माध्यमहरु समस्याको स्राेतसमेत केलाउथे भने अहिले धेरैमा बाहिर देखिने रुपको मात्र मानवीय वा ब्यक्तिगत कमजोरीको रुपमा मात्र ब्याख्यान गर्ने गरेको देखिन्छ। केही टीभी च्यानलका प्रस्तोताहरुले राम्रो लोक प्रियता कमाएका छन् तर उनिहरुले समस्याको विवेचना गर्दा समस्याको स्राेत अर्थ राजनीतिमा भएको विश्लेषण गरेको कमै देखिन्छ।

कतिपय संचार माध्यमहरुमा ज़्यादै ब्यापारिक मोह रहेको पनि देखिएको छ। बिज्ञापन मोह त परै राखौं, चर्का झूठा कुरा बेच्ने, पाठकको क्लीक संख्या बेचेर ब्यापारिक कंपनीहरुबाट कमिशन खाने, सूचनाहरु बेचेर राजदुतावासहरुबाट कमिशन खाने, बिदेश भ्रमणको माध्यम बनाउने, धम्क्याएर धनपतिहरूबाट पैसा झार्ने, सहयोगी श्रमिक पत्रकारहरुको शोषण गर्ने गलत प्रबृत्ति पनि पहिले भन्दा निक्कै बढेको देखिन्छ।

आजको सूचनाको सुलभता, संबैधानिक र कानूनी संरक्षण, प्रेस स्वतंत्रता आदि तुलनात्मक लाभको स्थितिलाई सदुपयोग गर्दै संचार माध्यमहरुले बढी भन्दा बढी जन सम्पर्क गरेर, अनुसन्धान गरेर, भ्रष्टाचार, बेथीति, दमन, अन्याय, दुरुपयोग र दुरावस्था जस्ता समस्याको जरो खोतलेर, वैचारिक निष्ठा र पारदर्शिता बढाएर र पेशागन धर्म पालन गरेर आज नेपाली संचार  माध्यमहरुले नागरिकहरुले आशा गरेको आफ्नो नागरिक दायित्व अझ स्तरीय रुपमा निभाउनु परेको छ।

(लेखक प्रा.डा. शम्भु कट्टेल एक समयका योजना साप्ताहिकका सहायक सम्पादक, केही विज्ञान-ब्यवस्थापन सम्बन्धी सामयिक नेपाली पत्रिकाहरुका सम्पादक र नेपाल समाजवादी मंचका संयोजक हुनहुन्छ, [email protected])

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here