यसपटक दिवंगत बाको सम्झनामा , पीण्डदान अर्थात श्राद्दबारे मनमा लागेका कुरा

199
   –निमकान्त पाण्डे 

मेरो पितालाई मैले बा भनेर सम्बोधन गर्दथें । बालाई अन्तिम बिदाई गरेको १४ बर्ष पूरा भैसकेको छ । ०६२ साल चैत्र १९ गतेका दिन आर्यघाटका अन्तिम संस्कार गर्दाका समयमा मैले बाको बिगतलाई निकै स्मरण गरेको थिएँ । बालाई ८५ बर्षको उमेरमा अन्तिम बिदाई गर्दा मैले खासै पीडाबोध भने गरेको थिएन । मृत्यु सत्य हो भन्ने प्रारम्भिक ज्ञान मैले मेरो बाबाटै पाएको थिएँ , त्यसैले पनि बाको ८५ बर्षको उमेरमा भएको मृत्युलाई मैले स्वाभाविक रुपमा लिएको थिएँ ।

बाको सेवा र उपचारमा मैले आफूले जाने र सके जति सबै पूरा गरेकाले पनि मलाई खासै पीडाबोध नभएको होला जस्तो लाग्छ । बाको चाहना मैले कति पूरा गर्न सकेँ वा सकिन भन्ने बिषय फरक हो । तर सकेसम्म मैले बाको चाहनालाई पूरा गर्न कुनै कसर बाँकी राखेको जस्तो लाग्दैन ।

बा बितेको १४ बर्ष ब्यतित भैसकेको छ, मैले बालाई बर्षमा एक पटक होईन, पटक–पटक सम्झना गरिरहन्छु । बालाई सम्झदा बाको ईमान्दारितालाई श्रद्दा गर्न मन लाग्छ । तर बालाई श्राद्दको नाममा पीण्डदान गर्ने काममा भने मलाई कहिल्यै चासो भएन । मैले आफ्नो हातले दागबत्ती दिएर आगो लगाएर जलाएर खरानी बनाएको मेरो बालाई मैले पीण्डदान दिएर  त्यो पीण्ड बाले पाउँनु हुन्छ भन्ने विश्वास मलाई कहिल्यै भएन । त्यसैले पीण्डदान दिने कार्यमा मेरो आकर्षण कहिल्यै भएन ।

हुन त हाम्रो वैदिक सनातन धर्म जस्तो वैज्ञानिक र व्यवहारिक धर्म कुनै पनि ठाउँमा भेट्टाउन सकिँदैन । हाम्रो सनातन धर्ममा देवतालाई जति प्रशंसा र सम्मान गरिन्छ त्यति नै सम्मान र प्रशंसा आफ्ना पितृहरुलाई गरिन्छ । तर देवता भनेका पनि पितृ नै हुन् अर्थात हाम्रो समाजले देवता मान्दै आएका शिव, राम, कृष्ण, विष्णु, बुद्ध, पार्वती, भगवती आदिहरु पनि मानिस भएरै जन्मेका हुन् । सबै भगवानहरु मानवकै रुपमा चर्चा भएका पाइन्छन् अर्थात हामीले भगवान् मान्दै आएकाहरु सबै दिवंगत मानिस नै हुन् भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले भगवान् र पितृहरुलाई एउटै स्थानमा राखेर हेरिएको हुन सक्दछ ।

आफ्ना पितृहरु भन्नाले आफ्नो घर र मावली घरमा सद्गति भइसकेका अर्थात् मृत्यु भएको एक वर्ष पुगिसकेकालाई भनिन्छ भनेर श्राद्धको परम्परामा चर्चा गरेको पाइन्छ ।  सबै पितृहरुलाई पीण्ड दिनुपर्छ भन्ने संस्कार रहेको छ । यहाँ सम्मकि राजालाई पनि  पीण्ड दिनुपर्छ भन्ने संस्कार रहेको छ । मेरो बाले भने मलाई यस्तो शिक्षा कहिल्यै दिनु भएन । बरु मेरो बाले जीवनभर शंख फुकेर र घण्ट बजाएर केही उपलब्धी हुन नसकेको गुनासो मसँग धेरै पटक सुनाउनु भएको मलाई अझैपनि  सम्झनामा छ ।

श्राद्धको संस्कारमा सबैभन्दा नजिकका पितृहरुमा घरतर्फका तीन पुस्ता र मावली तर्फका हजुरबुवादेखि माथि तीन पुस्तालाई मान्ने गरिएको छ । यसै बिषयमा पनि मेरो बाले मलाई श्राद्धको संस्कार पनि आपूmलाई परम्परा धान्नको लागि मात्र गरिँदै आएको भनेर सुनाउनु हुन्थ्यो । त्यसैले पनि मेरो बा र मेरो आमाको  श्राद्ध गर्नु र मेरो पीण्ड दिनु उपयुक्त हो जस्तो मलाई लाग्दैन । निश्चय पनि मेरो बालाई मैले श्रद्धा गर्छु, तर बालाई प्राप्त नहुने पीण्ड दिनुको कुनै अर्थ  छ जस्तो मलाई लाग्दैन ।

यथार्थमा  पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्ध हो । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । तर जसले मातापितालाई बाँचुञ्जेल कष्ट दिएर सताउने काम गरे उनीहरुले मृत्युपछि श्राद्ध गरेर पीण्डदान गर्नु नौटंकी हो ।

आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेदलाई मान्दछन् । ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झनु अर्थात् श्राद्ध गर्न जुनसुकै धार्मिक सम्प्रदायलाई रोकावट छैन भनिएको छ । यसैबाट स्पष्ट हुन्छ श्रद्धा गर्नु र श्राद्ध गर्नु समान कार्य हो । जसले श्रद्धा गर्न सकेको छैन उसले श्राद्ध गरेर मनको शान्ति महसुस गर्ने मात्र हो । तर जसले श्रद्धापूर्वक मातापिताको सेवा गरेको छ, उसले श्राद्ध नगरे पनि उसलाई ‘पाप’ अर्थात कुनै अपराधबोध हुनसक्दैन । त्यो हैसियत मैले आपूmमा रहेको महसुस गर्छु  ।

हुन त सबै किसिमका पुराणहरु मानिसहरुले नै रचना गरेका हुन् र  पुराणहरुमा कतिपय काल्पनिक कथा जोडिएको पाइन्छ । तथापि विष्णुपुराण, नृसिंहपुराण, गरुडपुराण आदिले पनि ऋग्वेदको अनुशरण गरेको पाइन्छ । श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ । पितामाताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त भएको हुँदा उनीहरूको निमित्त श्रद्धासुमन चढाउने निर्देशन वैदिक हिन्दुधर्मले दिएको छ । यसरी भन्नुपर्दा पनि श्राद्ध भनेको स्मरण नै हो । त्यसैले पीण्डदानको कुनै प्रयोजन पितृको लागि हुँदैन भन्ने कुरा स्पष्ट हुन्छ ।

आफ्नो सँस्कार, मातृभूमि, जाति, धर्म, संस्कृति, दर्शन, रीतिस्थिति, भेषभूषा र खानपान लगायतका मूल्यमान्यतालाई आदर गर्ने र तिनमा गौरवानुभूति गर्नै पर्छ । परन्तु हाम्रो धर्म संस्कारमा  कूरीतिहरु छन्, कूसंस्कारहरु छन् र अमानवीय व्यवहारहर छन् भने त्यस्तालाई समयानुकूल परिमार्जन गर्दै जानु पर्छ भन्ने शिक्षा पनि मैले मेरो बाल्यकालमै बाबाट पाएको थिएँ । त्यसैले पनि हाम्रो संस्कारमा रहेका गलत परम्पराहरु प्रति मेरो झुकाव रहने गरेको छैन । हाम्रो परम्परामा श्राद्ध गर्नका लागि ब्राह्मण हुनै पर्ने हुन्छ । आफ्ना पितृको सम्झना गर्नको लागि अरु किन चाहियो ? अर्थात ब्राह्मण बिना पितृको सम्झना पनि गर्न नसकिने संस्कारलाई कसरी उत्कृष्ट संस्कार मान्न सकिन्छ ? हाम्रो संस्कारमा रहेका  छुवाछुतका व्यवहार पनि गलत परम्परा हुन् भन्ने मान्यतामा मेरो बाले मलाई शिक्षा दिनु भएको थियो । माक्र्सबादको दार्शनिक ज्ञान नै नभएका मेरा बाले मलाई व्यवहारबाटै माक्र्सबादी शिक्षा दिनु भएको जस्तो अनुभूति हुन्छ । कथित शनिग्रहबाट मुक्ति पाउन भैंसी पुजा गर्नु पर्ने मान्यतामा रहेका ढोंगीहरुका सामु मेरो बा सच्चा माक्र्सबादी नै ह्नु हुन्थ्यो ।

चैत्र १९ गते २०६२ साल, काठमाडौं उपत्यका आन्दोलनमय थियो । सडकमा सेनाको गस्ती देखिन्थ्यो भने आन्दोलनले सडक छप्पकै पारेको थियो ।  सो दिन म काठमाण्डौको कमलपोखरीमा एउटा कार्यक्रममा सहभागी भैरहेको थिएँ , अकस्मात बल्खुस्थित मेरो घरबाट फोन आयो र बाको स्वास्थ्य अलि गम्भिर भएको जानकारी प्राप्त भएपछि म कार्यक्रम छोडेर घरतर्फ लागें । घरमा पुग्दा बाको अवस्था सामान्य जस्तै लाग्यो । तर घरमा देखिएको आफन्तहरुको जमघटले मलाई स्थितिको गम्भिरताबारे बुझ्न सहयोग पुग्यो । मलाई देख्दा साथ बाले मलाई बिदा देउ बा भनेर मृत्युको अनुमति माग्नु भयो । मैले अनुमति नदिएसम्म एकछिन रोकिंदै र अनुमतिको शब्द दोहो¥याउँदै गरिरहनु भयो । चौथोपटकको अनुमति माग्ने बाको शब्द अलि पीडादायी भएको मलाई महशुस भयो । मैले बालाई बिदा नै चाहिएको हो भने हुन्छ, जानुस् भनेर बोलेपछि बा आँखा बन्द गरेर जानु भयो । त्यसपछि बाको शब्द सुन्न पाईएन । मृत्यु भैसकेपछि आगोमा जलाएर खरानी बनाउनु बाहेक अरु विकल्प थिएन , आर्यघाट पु¥याएर जलाइयो । मैले पीण्डदान नगरे पनि कहिले काँही सपनामा देख्छु र सपनामा पनि बालाई  प्रशन्न भैरहेको अवस्थामा देखिरहन्छु । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here