नेकपाद्वारा सचिवालय बैठक आह्वान  

118
काठमाडौंं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ ।

सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ । प्रतिवेदनमाथि छलफलका लागि यही भदौ १३ गते सचिवालयको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवासमा मङ्गलबार अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नुभयो ।

कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । प्रतिवेदन उपर स्थायी कमिटी बैठकमा छलफल हुने नेता सुवास नेम्बाङले जानकारी दिनुभयो । कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो ।

कार्यदलको प्रतिवेदनले पार्टीमा नयाँ र एकताको सकारात्मक सन्देश दिएको युवा नेताको  धारणा  छ । पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल कार्यदलले बुझाएको प्रतिवेदनप्रति निकै आशावादी हुनुहुन्छ ।

पार्टी विदेश विभागका उपप्रमुखसमेत रहनुभएका नेता रिजालले सहमति र सहकार्यका आधारमा पार्टीलाई निकास दिनुपर्ने कुरामा जोड दिनुभयो । युवा नेता तथा राजनीतिक विश्लेषक हरि रोका यसले नेकपालाई निकास दिनेमा विश्वस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, “मैले प्रतिवेदन अध्ययन गर्न पाएको छैन तर प्रतिवेदनका बारेमा जुन कुरा बाहिर आएका छन्, त्यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here