टोखामा होम आइसोलेसनमा बस्नेलाई ३५० रुपैयाँ

210

काठमाडौं- कोरोना  रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं जिल्लास्थित टोखा नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड बजेट छुट्याएको छ। नगरपालिकाका मेयर प्रकाश अधिकारीले आन्तरिक स्रोतबाट नै ४ करोड छुट्याइएको र सोही रकममार्फत सक्दो धेरै काम भइरहेको जनाएका छन् ।

यो बजेट नगरपालिकाको आन्तिरक मात्र भएको र यसमा संघीय सरकार र प्रदेश सरकारसँग थप बटेज माग गरी खर्च गरिने नगरपालिकाको भनाइ छ। उसले विकास खर्च कटौती गरेर भए पनि कोरोना संक्रमण नियन्त्रणका लागि बजेट व्यवस्था गर्ने सोच रहेको समेत जनाएको छ।

‘आपतको बेला त आफ्नो पनि खर्च गर्नु पर्‍यो। अहिले विकासभन्दा पनि मानवता जोगाउने हो। कसले गर्‍यो, कसले गरेन भनेर आरोप प्रत्यारोप गर्ने बेला होइन। समन्वय गर्दै जाने हो। कामको गतिलाई पनि अगाडि बढाउँदै जाने हो। अलिअलि नगरको आफ्नै स्रोत पनि छ। प्रदेश र संघीय सरकारसँग पनि बजेट माग गर्दै जाने हो,’ मेयर अधिकारीले भने, ‘अहिले विकास निमार्णको काम ठप्प छ। विकासको काम गरिएको छैन। खातामा पैसा छ। आपत्कालीन अवस्थामा यसैलाई प्रयोग गर्नुपर्छ भनेर नगरपालिकाले सोचेको छ।’

भेलि कोरोना संक्रमण अझ भयावह रुपमा फैलियो र लामोसमयसम्म निशेधाज्ञा जारी गर्नुपर्ने बेला आयो भने थप सोच्नुपर्ने उनले बताए।  यसका साथै फ्रन्टलाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको सम्मान गर्दै सुरक्षित भएर रहन सबै नगरवासीहरुलाई आग्रह गरेको मेयर अधिकारीको भनाइ छ।

होम आइसोलेसनमा बस्नेलाई ३५० रुपैयाँ
नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई दैनिक ३५० रुपैयाँ उपलब्ध गराउने भएको छ। संक्रमितलाई सन्तुलित आहारा लिनका लागि समस्या नहोस् भनेर दैनिक ३५० रुपैयाँको व्यवस्था गरिएको नगरपालिकाले जानकारी दिएको छ।

‘सबै स्थानीय तहमा हामीले पहिलो यस्तो निर्णय गरेका छौँ। नगरपालिकाले व्यवस्था गरेको आइसोलेसनमा बस्नेलाई त हामीले आफैँ सन्तुलित आहारको व्यवस्था गरेका छौँ। आफ्नै घरमा सुरक्षित भएर आइसोलेसनमा बस्छु भन्नेहरुलाई हामीले नगद उपलब्ध गराउने निर्णय गरेका हौँ,’ मेयर अधिकारीले भने।

होम आइसोलेसनमा बस्नेहरूको हेरचाहमा नगरपालिकाले स्वास्थ्य टिम परिचालन गरेको उनको भनाइ छ। ‘म आफैले पनि दैनिक सम्पर्क गर्ने र उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने गरेको छु,’ मेयर अधिकारीले भने।

नगरपालिकाले संक्रमितलाई थर्मोमिटर, पल्स अक्सिमिटर आदि उपलब्ध गराएको र उनीहरुलाई नै सिकाएर दिनको ३ पटक भाईटल्स जाँच गर्ने गरेको मेयर अधिकारीले भने।

होम आइसोलेसनमा बस्दा असहज भएमा तत्काल खबर गर्नसमेत भनिएको छ।

आइसोलेसन स्थापना
टोखा नगरपालिकाले आफ्नै खर्चमा आइसोलेसन स्थापना गरेको छ। नगरपालिकाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर २ स्थित १७ बेड क्षमताको आइसोलेसन स्थापना गरेको हो।

‘बुधबार हामी निर्णय गरेर १५ बेड थप्दैछौँ। संक्रमितको संख्या बढ्दै गयो र आवश्यकता पर्‍यो भने लगभग ७० बेडसम्मको आइसोलेसन बनाउने तयारी गरेका छौँ,’ मेयर प्रकाश अधिकारीले भने। कोरोना रोकथाम तथा नियन्त्रणका लागि। कन्ट्याक्ट ट्रेसिङ तथा पिसीआर परीक्षणको दायरालाई फराकिलो बनाएको नगरपालिकाले जनाएको छ।

‘कन्ट्याक्ट ट्रेसिङ तथा पिसीआर परीक्षणको दायरा फराकिलो बनाएका छौँ। आवश्यक किट केन्द्र सरकारसँग माग गरेका छौँ, पाइरहेका पनि छौँ,’ मेयर अधिकारी भन्छन्, ‘हाम्रो म्यानपावर तथा क्षमताअनुसारको कामको प्रक्रियालाई हामीले अगाडि बढाइरहेका छौँ। प्रदेश सरकारले पनि ४० लाखसम्म बजेट पठाउने आश्वासन दिएको छ।’

के छ नगरको अवस्था?
नगरका वडा नम्बर १० र ५ मा बढी कोरोना संक्रमित भेटिएका छन्। वडा नम्बर २ मा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्ति नभेटिएको तथा कन्ट्याक्ट ट्रेसिङमा समेत सो वडामा बसोबास गर्ने व्यक्ति नपरेकाले सो वडामा हालसम्म संक्रमित भेटिएका छैनन्।

मेयर अधिकारीका अनुसार अन्य वडामा दैनिक सय जनामा पिसिआर परीक्षण गराउँदा कम्तीमा ४ देखि ५ जनासम्मको कारोना पोजिटिभ देखिन थालेको छ।

नगरपालिकामा अधिकांश कोरोना संक्रमित विभिन्न अस्पताल तथा क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मी छन्। त्यस्तै बैंकहरुमा काम गर्ने कर्मचारी, प्रभावित जिल्लाबाट आएका, जनसम्पर्कमा बढी रहने व्यक्ति तथा व्यवसायीमा समेत कोरोना देखिएको छ।

‘धेरैजसो कन्ट्याक्ट ट्रेसिङमार्फत् पत्ता लागेका कोरोना संक्रमितको एउटा न एउटा परिवारको सदस्य स्वास्थ्य निकायमा काम गरेको भेटियो। जस्तै वडा नम्बर ११ मा ६ जनामा संक्रमण भेटिएको छ। उनीहरुमा टिचिङमा काम गर्ने कर्मचारीमार्फत् सरेको पाइयो,’ मेयर अधिकारीले भने।

पहिलो चरणमा कोरोना देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षण गर्दा समुदायमा कोरोना फैलिसकेको पाइएको नगरपालिकाले जनाएको छ।

२ जनाको निधन 
नगरपालिकामा मंगलबारसम्म टोखा १२० जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये एकजनाको अवस्था गम्भीर रहेको र बाँकी सबैजसोको अवस्था सामान्य रहेको नगरपालिकाका मेयर प्रकाश अधिकारीले जनाए ।  ‘नगरपालिकामा २ जना कोरोना संक्रमितको निधन भएको छ। ज्यान गुमाउनेमा एकजना सुत्केरी र अर्का क्यान्सर पीडित हुन्। क्यान्सर पीडित व्यक्तिको मृत्युपछि कोरोना पुष्टि भएको थियो,’ मेयर अधिकारीले भने।

४५ जना निको भएर घर फर्किए 
संक्रमितमध्ये ४५ जना कोरोना जितेर घर फर्किसकेको नगरपालिकाले जनाएको छ। बाँकी ७३ मध्ये केही अस्पतालको आइसोलेसनमा तथा केही होम आइसोलेसनमा रहेको मेयर अधिकारीले जनाए ।  ‘होम आइसोलेसनमा बस्छु भन्नेहरुलाई हामीले होम आइसोलेसनमा राखेका छौँ। बाँकीलाई बलम्बुस्थित आइसोलेसनमा र हाम्रो नगपालिकाले तयार गरेको आइसोलेसनमा राखेका छौँ,’ मेयर अधिकारीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here