ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार रातो मत्स्येन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोकमा बिहीबार दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र कर्फ्यू आदेश जारी गरिएको छ ।
कोरोना संक्रमण बढ्दै जाँदासमेत सचेत नभएको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जनाउनुभयाे ।
कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी भट्टद्वारा जारी गरेको सूचनामा उल्लेख छ ।
ललितपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई, गुठी संस्थानका अधिकारी र १९ जातीय संगठनको संयुक्त बैठकले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेको छ ।
स्थानीय प्रशासन ऐनअनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कफ्र्यु लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।
विशेषगरी रथयात्रा गर्न धेरै स्थानीय निस्किएपछि स्थिति नियन्त्रण बाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो । बिहीबार झडपक्रममा ट्राफिक प्रहरीलाई कुटपिट भएपछि त्यसमा संलग्न १० जना पक्राउ परेका छन् ।