काठमाडौं-नेवाः विद्यार्थी युनियनले भाद्र १८ गते विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी हस्तक्षेपको सम्बन्धमा विरोध गर्दै ध्यानाकर्षण गराएको छ ।
युनियनले सोमबार प्रेस विज्ञप्ति जारी गरी भनिएको छ, विश्वभर सबैभन्दा लामो जात्राको रूपमा चर्चित रहेको रातो मच्छिन्द्रनाथको रथ यात्राको क्रममा पुल्चोकमा भएको घटनाप्रति नेवाः विद्यार्थी युनियनका सम्पूर्ण विधार्थी परिवारले दुःख प्रकट गरेका छन् ।
उपत्यकाका आदिबासी नेवार समुदायको संस्कृति सभ्यतालाई बेवास्ता गर्दै स्थानीय प्रशासनले कदम चलाएकाे घटनाप्रति युनियनको गम्भिर ध्यानाकर्षण भएकाे उल्लेख गरिएकाे छ ।
आज भन्दा करिव १६०० बर्ष अगाडिदेखि निरन्तर रूपमा उपत्यकाबासी नेवार समुदायले चलाउँदै आइरहेको रातो मच्छिन्द्रनाथ रथ यात्राका विषयमा राज्य पक्ष गम्भीर नभएकोले गर्दा यस संस्कृति अन्यौलतामा परेको जनाउँदै आदिबासी नेवार समुदायको मौलिक संस्कृति सभ्यताको विषय प्रति राज्यले समयमै ठोस निर्णय नलिएकाले स्वतः स्फुर्त रुपले रथ यात्रा गर्ने क्रममा राज्यले व्यवस्थित गर्नु पर्नेमा त्यसकाे उल्टाे दमन गर्नुका साथै कर्फ्यू लगाइ अमानवीय ढंगले घर-घरमा गइ धरपकड गर्ने जस्ता आपत्तिजनक कार्य गरेकाेले सो को घोर भर्त्सना गरेको छ ।
युनियनले यो नेपालकै संस्कृतिमा सबै भन्दा ठुलाे हस्तक्षेप भएकोले गर्दा नेवारहरूकाे भावना, नेवाः संस्कृति, नेवाः सभ्यताप्रति गम्भीर भइ थुनामा थुनिएकाहरूलाई विना शर्त यथाशिध्र छाड्न समेत अनुराेध गरेका छन् ।