ब्यालेन्स थाहा पाउने तरिका : दूरसञ्चार प्राधिकरणद्वारा एउटै सर्टकोड लागु

104

काठमाडौं – सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स जानकारी, रिचार्ज तथा ट्रान्स्फरका लागि एउटै सर्टकोड प्रयोग गर्नुपर्ने भएको छ । सेवा प्रदायकका सर्टकोड फरक हुनाले प्रयोगकर्तामा अन्योल भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले एउटै सर्टकोड लागु गरेको हो ।

यसैगरी नयाँ सेवा प्रदायक आएपछि उनीहरुले नयाँ सर्ट कोड प्रयोगमा ल्याउने सम्भावना हुँदा ग्राहकमा झनै असहज परिस्थिति आउने ख्याल गर्दै यस्तो व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल-फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ ले हाल प्रयोगमा रहेका सर्ट कोड र टोल-फ्री नम्बरको व्यवस्थापन नयाँ तरिकाले गर्ने व्यवस्था छ । जसअनुसार सबै सेवा प्रदायकका ग्राहकले वर्तमान ब्यालेन्स थाहा पाउन यूएसएसडी कोड १४४, रिचार्ज गर्न १२२ र ट्रान्सफर गर्न १३३ लागु गर्नुपर्नेछ ।

व्यवस्था कार्यान्वयनमा आएपछि अब फरक सेवा प्रदायकको सुविधाका लागि ग्राहकले अनावश्यक कोड सम्झनुपर्ने झन्झट हुने छैन । यो व्यवस्था ६ महिनाभित्र कार्यान्वयन गरिसक्नुपर्नेछ ।

कार्यविधि अनुसार सेवा प्रदायकले १ वर्षसम्म हाल कायम र नयाँ दुवै यूएसएसडी कोड समानान्तर रुपमा प्रचलनमा ल्याउन सक्नेछन् भने १ वर्षपछि अहिले प्रयोगमा रहेका सर्ट कोड निष्क्रिय हुनेछन् । व्यवस्थाअनुसार ३ अंकको सर्ट कोड अत्यावश्यक आकस्मिक सेवा (प्रहरी, एम्बुलेन्स) का लागि मात्र प्रयोग गर्नुपर्नेछ । यस्तै अंकको सर्टकोड जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका विभिन्‍न निकायका एंव संवैधानिक निकायहरुले प्रदान गर्ने सेवाहरुका लागि तोकिएको छ ।
३ र ४ अंकको प्रकारका नम्बरमा सबै दूरसञ्चार सेवा प्रदायक प्रयोगकर्ताले सम्पर्क गर्न सक्नेछन् ।

सेवा प्रदायकले अन्य अतिक्ति सेवा उपलब्ध गराउने प्रयोजनका लागि ५ अकंको सर्ट कार्ड प्रयाग गर्न सक्नेछन् भने टोल फ्री सेवाका लागि १० अंकको सर्ट कोर्ड प्रयोग हुनेछ । निजी क्षेत्रले ४ अंकको टोल-फ्री नम्बर प्रयोग गरिरहेको भए उनीहरुबाट सो नम्बर फिर्ता लिई प्राधिकरणले १० अंकको नम्बर उपलब्ध गराउनेछ ।

दूरसञ्चार सेवा प्रदायकले यसअघि ४ अंकको सर्ट कोड प्रयोग गरेको भए त्यसलाई ५ अंकमा परिवर्तन गर्नुपर्ने भएको छ । अर्थात् चार अंकको सर्ट कोडबाट प्रयोग भइरहेका एसएमएस, आईभीआर, यूएसएसडीलगायत अन्य सेवालाई ५ अंकको सर्ट कोडमा रुपान्तरण गर्नुपर्नेछ ।

टोल-फ्री नम्बर भारतको जस्तै १८०० बाट सुरु
प्राधिकरणले गरेको व्यवस्थाअनुसार १० अंकको टोल-फ्री नम्बर प्रचलनमा आउनेछ । सबै टोल-फ्री नम्बरमा सबै सेवा प्रदायकका ग्राहकले सम्पर्क गर्न सक्नेछन् । हाल नेपाल टेलिकमले १६६० बाट सुरु भएका ११ अंकका र एनसेलले १० अंकका टोल-फ्री नम्बर उपलब्ध गराउने गरेको छ ।

व्यवस्थाअनुसार अब टोल-फ्री नम्बर १८०० बाट सुरु हुनेछ । सेवा प्रदायकले दिने टोल-फ्री नम्बरमा १८०० पछि एउटा नम्बर सेवा प्रदायक छुट्टिने कोड हुनेछ भने बाँकी ५ वटा नम्बर हुनेछ । भारतमा पनि १८०० बाट सुरु हुने १० अंकको टोल-फ्री नम्बर छ ।

दूरसञ्चार सेवा प्रदायकहरुले अबको एक महिनाभित्र र त्यसपछि आर्थिक वर्षको साउन १५ गते र माघ १५ गते भित्र आफूले प्रयोग गरेको सर्ट कार्ड र टोल-फ्री नम्बर र त्यसको प्रयोगसम्बन्धी सम्पूर्ण विवरण प्राधिकरणलाई उपलब्ध गराउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here