तीन सातापछि काठमाडौंमा चहलपहल

132

काठमाडौं – काठमाडौं उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ। कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि बिहिबारदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका हुन्।

सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालनमा आएको छ। सङ्क्रमण रोक्न गएको चैत ११ गते सरकारले जारी गरेको बन्दाबन्दीपछि चार महिना मुलुकको आर्थिक क्षेत्र ठप्प हुन पुगेको थियो। साउन ६ गतेबाट बन्दाबन्दी हटाइएपछि कोभिड–१९ को सङ्क्रमण एक्कासि बढ्दा पुनः मुलुकका विभिन्न जिल्लाले स्थानीय प्रशासन ऐन, २०२८ र सङ्क्रामक रोग ऐन, २०२० को अधिकार प्रयोग गरेर निषेधको आदेश जारी गरेको थिए। कतिपय जिल्लाले अझै निषेधको आदेश कायमै राखेका छन् भने कतिपय जिल्लाले खुकुलो बनाउँदै लगेका छन् ।

निषेधाज्ञा जारी गरिएपछि पनि आशातीत रूपमा सङ्क्रमण दरमा कमी आउन नसकेको तथ्याङकले देखाएको छ। त्यसैले पनि स्थानीय प्रशासनले आदेशमा केही होलो गर्दै स्थानी समुदायलाई आफैँ सतर्क बन्न अनुरोध गरेको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनजीवन प्रभावित भएकाले आदेशमा केही हेरफेर गरी खुकुलो बनाइएको र आर्थिक क्षेत्रलाई सहजीकरण गरिएको बताए। अब आफैँ सचेत हुनुको विकल्प छैनु, प्रजिअ दाहालले भने स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर सावधानी अपनाउने हो भने सङ्क्रमण रोक्न सकिन्छ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आजदेखि लागू हुने गरी केही हेरफेर गरेर नयाँ आदेश जारी गरेको हो। उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर मा उक्त आदेश जारी भएपछि व्यापार, व्यवसाय तोकिएको समयमा खुल्न थालेका छन्। मानिस र यातायातका साधनको चहलपहल ह्वात्तै बढेको छ।

निषेधाज्ञा जारी भएपछि भदौ ४ गतेबाट यहाँको व्यवसाय ठप्प भएको थियो भने अत्यावश्यक बाहेकको आवागमनमा समेत रोक लगाइएको थियो। आजदेखि भने बढी जमघट हुने क्षेत्रबाहेकका गतिविधि सञ्चालनमा सहजीकरण गरिएको छ। भदौ ३१ गते राति १२ बजेसम्मका लागि लागू गरिएको आदेशपछि भने मजदुरहरु समेत खुसी भएका छन्। काठमाडौँको रत्नपार्कमा भेटिएका किसन नेपाली अब भने कतै न कतै मजदुरी गर्न पाइने आशा पलाएको बताउछन्।

आदेशानुशार यसपालि १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन, भाडाका ट्याक्सी र निजी सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने छ। औषधि र पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने, खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुको व्यवसाय बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने नयाँ व्यवस्था गरिएको छ। विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२ बजेदेखि साँझ सात बजेसम्म तथा सहकारी संस्थाहरु ११ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्नुपर्ने छ।

सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइनेछ भने भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मङ्गलबार र शुक्रबार तथा फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै सञ्चालन हुने आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here