भोको महानगरका परोपकारीहरु

196

– कुमार रञ्जित

नगरै नगरले घेरिएको देशको राजधानी महानगर काठमाण्डौमा वर्तमानमा जति भोका प्राणी शायदै इतिहासमा कहिल्यै भएका थिए । विश्वमै आतंकका रुपमा फैलिरहेको कोरोना भाइरसका प्रमाणित संक्रमित दिनमै हजारका हाराहारीमा थपिँदै गरेको यस महानगरमा लकडाउन, सटडाउन र निषेधाज्ञाका नाममा मानव गतिविधिमा गरिएका प्रतिबन्धले तीव्र रुपमा भोक मात्रै बढाइरहेको जगजाहेर छ ।

महानगरका भोका प्राणीहरुलाई भोकबाट त्राण दिन खाद्यान्नका साथै विभिन्न सेवा र सुविधाका वस्तु लिएर आउने गरेका मालवाहक गाडीहरुका साथ दिनहुँ लगभग दुई हजारका दरले मानिसहरु राजधानी महानगर प्रवेश गरिरहेका तथ्यांक यहाँ प्रवेश गर्ने प्रमुख मार्ग चन्द्रागिरी नगरपालिका अन्तर्गत सञ्चालित नागढुंगा नाकासित रहेको छ ।

त्यसका बाबजुद यहाँभित्र सरकारी स्तरबाटै गरिएकाबन्द र त्यसले बनाएको ठप्पको अवस्थाले भोका प्राणीहरुको संख्या मात्रै अनगिन्ती रुपमा दिनप्रतिदिन बढाइरहेको प्रष्ट देखिन्छ । जसलाई कुनै आधिकारिक तथ्याङ्कले देखाउने गरिएको छैन ।

प्राणी जगतलाई बाँच्न सबैभन्दा पहिलो प्राथमिकता खाना नै भएको हुँदा राजधानी महानगर र यस वरपर उपत्यकाभित्रै आश्रित मानव साथै अन्य प्राणीहरुको पनि आवश्यकताका रुपमा तयारी अवस्थाका खाना नै वितरण भैरहेका विभिन्न ठाउँमा देख्न पाइन्छन् ।

दिनहुँ राजधानीका खुलामञ्च, लगनखेल, ठमेल, बसपार्कलगायतका ठाउँमा खानाका लागि भेला हुने गरेका भोका मानिसका जमातबीचमा तिनलाई खाना दिएर परोपकार गर्ने समूहहरु पनि बढिरहेका देख्न पाइन्छन् । तीबाहेक व्यक्तिगत रुपमै आफ्नो गच्छेअनुसार दिनहुँ यत्रतत्र दौडिएर सहयोग बाँडिरहेका विनयजंग बस्नेत जस्ता सक्रिय मनकारी व्यक्तिहरु पनि देखिन्छन्, जसले महानगरका भोकाहरुका पेटमा केही भए पनि अन्न पुर्याउने काम गरिरहेका छन् ।

महानगरमा “कोही भोकै नपरुन्” भनेर भन्ने साथै त्यसैअनुरुप आवश्यक सहयोग उपलब्ध गराउने केही जनप्रतिनिधिहरु पनि देखिएका छन् । यस्तोमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको नाम पहिलो पंक्तिमा देखिन आउँछ । उहाँ र उहाँको समूहले आफ्नो वडावासीको मात्रै नभएर राजधानी उपत्यकाभरिकै बासिन्दालाई आवश्यक पर्दा एम्बुलेन्स सेवाका साथै औषधिय साथै अन्य सेवा प्रदान गर्दै आएको छ ।

राजधानी महानगर साथै यस वरपरका सबैजसो नगरमा घरधनीहरुका अधिकांश घरका कोठाहरु खाली भएका छन् । घर भाडामा दिइएबापत आउने रकमले जीवन गुजारा गरिरहेका कतिपय घरधनीहरुको अवस्था अभूतपूर्व रुपमा नाजुक भएको छ । यस्तोमा कतिपय घरधनीहरु नै राहत र सहयोगमा निर्भर रहनुपर्ने अवस्था देखिएका छन् ।

मानिस मात्रै होइनन्, यहाँ जनावर र पशुपंक्षी पनि अभूतपूर्व रुपमा खाना प्राप्त नभएर भोकाएका छन् । धार्मिक तथा सांस्कृतिक स्थल पाशुपत क्षेत्र र स्वयम्भू महाचैत्य क्षेत्रमा रहेका बाँदरहरुलाई प्रत्येक दिन नियमित रुपमा खाना प्रदान गर्ने पूर्व सांसद राज्यलक्ष्मी श्रेष्ठको परिवार साथै अन्य व्यक्तितथा परिवारका परोपकारी कार्य निरन्तर जारी छ ।

त्यस्तै महानगरका चोक, गल्ली र बाटाहरुमा पहरा दिएर सुरक्षा दिने गरेका खान नपाएर भोकाइरहेका कुकुरहरुलाई रातदिन सेवा दिइरहेका क्षेत्रपाटीका नासिर खान उदाहरणीय समाजसेवीका रुपमा चिनिनुहुन्छ । हालै विभिन्न मठमन्दिर क्षेत्रमा रहेका पंक्षीहरुलाई नियमित अन्न प्रदान गर्ने समूह पनि सक्रिय हुन थालेका छन् ।

उत्तरी काठमाण्डौको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगा शेषमतीका परोपकारी अनिल महर्जन त्यस्तै मध्येका एक परोपकारी एवम् समाजसेवी हुनुहुन्छ । जसले व्यक्तिगत तवरमा कहीँकतै कोही भोका, रोगी तथा असहाय अवस्थामा रहेको थाहा पाउने बित्तिकै आफ्नै गाडीमा राखेर अत्यावश्यक वस्तु सम्बन्धित व्यक्ति सम्म पुर्याइदिने गर्नुहुन्छ र त्यस्ता कार्यमै आत्मसन्तुष्टि लिइरहनु भएको छ ।

यसैगरी भक्तपुरका समाजसेवी पदम सुन्दर शाक्य हुनुहुन्छ, जसले अत्यावश्यक खाद्य वस्तु प्रदान गरेर भोकालाई तात्कालीन समस्याबाट मुक्ति दिने कार्यमा आफैंलाई समर्पित गरिरहनुभएको छ । यस्तै नामका सूचीमा श्रीमती राधा श्रेष्ठले पनि आफूलाई बिरामी असहायहरुको सेवामा समर्पित गर्दै सम्भव भएसम्मका स्थानमा पुगेर सेवा प्रदान गरिरहनुभएको छ ।

लकडाउन, सटडाउन र निषेधाज्ञा जस्ता जनजीवन बन्दगर्ने कार्यले महानगरमा व्यापार व्यवसाय ठप्प पारेपछि यहाँ फूटपाथमा व्यापार गरेर जीविकोपार्जन गरिरहेका समूहलाई त्राण दिन यहाँका अधिकारप्राप्त जिल्ला प्रशासन अधिकारीहरुले अन्य पसल र व्यवसायहरु जस्तै फूटपाथ पसलहरु पनि खोल्न पाउने सूचीमा समावेश गरेर प्रेषित गरेको छ ।

महानगरमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा जनमानसमा बढिरहेकोलाई रोक्न यहाँ भइरहेका भीडभाडपूर्ण कार्यमा कमी ल्याउनुपर्ने यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुको निष्कर्षलाई बेवास्ता गर्दै जिल्ला प्रशासन कार्यालयद्वारा प्रेषित सूचीप्रति स्थानीय तहले अस्वीकार गर्दै वक्तव्य जारी गरेर फुटपाथमा पसल राख्न नदिने घोषणा गरिसकेका छन् ।

यसले गर्दा स्थानीयस्तरमा जनप्रतिनिधि र प्रशासनबीच द्वन्द्वको स्थिति सिर्जना हुनसक्ने अवस्था नआओस् भन्नेतर्फ सतर्कता अपनाउनुपर्ने देखिएको छ । यसै क्रममा साना फूटपाथ पसले साथै तिनीहरुमा आश्रित विपन्न परिवारजनलाई खाद्य सहयोग गर्दै आएको “हर्टबिट्” संस्थाले आफ्नो सक्रियता अझै तीव्र बनाएको छ ।

त्यस संस्थाका जुजुमान महर्जन दिनहुँ सयौँको संख्यामा विपन्न परिवारका बालबालिका साथै महिलाहरुलाई खाना दिइरहेको बताउनु हुन्छ । यसैगरी उपत्यकाभित्रकै गोदावरी नगरपालिका अन्तर्गत ठेचोका हरि महर्जन पनि रेडक्रस लगायत अन्य संस्थाको सहयोगमा दिनहुँ दक्षिणी ललितपुरका विभिन्न स्थानमा पुगेर असहाय विपन्न परिवार र व्यक्तिहरुलाई खाद्यान्न प्रदान गरिरहनुभएको छ ।

उत्तरी काठमाण्डौको ताकेश्वर नगरपालिका अन्तर्गतकै औषधि व्यवसायी समेत रहेका मनमैजुका अजित खड्का उपत्यकाका विभिन्न स्थानमा पुगेर वर्तमानमा अत्यावश्यक वस्तुहरु मास्क र स्यानिटाइजर वितरण गर्दै उपत्यकाकै विभिन्न स्थानमा हिँडिरहनुभएको छ ।

काठमाण्डौ र ललितपुर महानगरपालिका र यस वरपर रहेका विभिन्न नगरपालिका क्षेत्रमा रहेका अधिकांश ठूला तथा साना व्यवसायीहरुले सरकारद्वारा गरिने लकडाउन, सटडाउन र निषेधाज्ञाहरु अब मान्य नहुने स्पष्ट गरिसकेका छन् । यस्तो अवस्थामा कोरोना भाइरसका संक्रमित बढे पनि सावधानीपूर्वक पेशा व्यवसायलाई निरन्तरता दिँदै आर्थिक कृयाकलापलाई अगाडि बढाउँदै जानेमा निश्चिन्तता देखिन थालिएको छ ।

यस्तो अवस्थामा कोरोना भाइरस संक्रमितहरु तीव्र रुपमा वृद्धि हुन सक्ने सम्भावित परिस्थिति हेरेर भोको महानगरमा परोपकारी मन हुनेहरुको सक्रियता अझै वृद्धि हुनुपर्ने देखिन्छ । जसको आवश्यकता र सहयोगी भावनालाई समाजले सदा सम्झिरहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here