यसरी गरेका छौं हामीले पुर्खाको सम्झना र श्रद्धा !

6

– नारायण शर्मा

हालै लेखिएको मेरो सानो लेख “श्राद्धको अर्थ र औचित्य” शीर्षकको लेख एउटा सामान्य परिचयात्मक लेख हो ! त्यसका बारेमा कतिपय प्रश्न पनि उठे र मलाई “के कसरी गर्नुहुन्छ होला आफूले श्राद्ध” ? भनी जिज्ञासा पनि दर्शाइएकोले त्यसबारे केही लेख्नु वान्छ्नीय भएको छ !हाम्रो परिवारले विशेषत: म र मेरी बुढी शान्ताले आमा कलावतीको निधन (२०६५)पछि हाम्रा आफ्ना बाबुआमा र पुर्खाहरुलाई सम्झना र श्रद्धा गर्दा अर्थात् श्राद्ध गर्दा भने हाम्रो आफ्नै भिन्न तरिका अवलम्बन गर्ने गरेका छौं !

यद्यपि बुवा बित्दा २०२१ चैतमा म सात बर्षको थिएँ र दुई कक्षामा पढ्थें । त्यो गते थाहा नभएपनी दस कक्षा पढ्दासम्म आमाको अनुरोधमा पुरानै विधिअनुसार श्राद्ध गर्ने गर्थें भने त्यसपछी क्रान्तिकारी रङ्ग चढेपछी गर्न छोडियो । त्यो क्रान्तिकारी रङ्ग र ढङ्ग अनि नारा र पारा यति गाढा र तगडा गरी चढ्यो कि बाबुआमा, बाजेबज्यै आदि आफ्ना पिता-पुर्खाभन्दा अग्रज नेता-गुरुहरु र शहीदहरुलाई नै स्मरण, श्रद्धान्जली र सलामी दिनु र उहाँहरुका सपना र जपना साकार पार्नु अर्थात् क्रान्ति सफल पारेर देस र जनताको मुक्ति र प्रगति गर्नुमा नै वास्तवमा वर्तमान र भविष्यका सन्ततिहरुप्रतिको योगदान मात्र हुने नभएर पुर्खाप्रतिको सच्चा श्रद्धा हुनेछ भन्ने ठानियो र त्यसै गरियो ! तर अहिले हामी माओवादी केन्द्रहुँदै नेकपा (नेकपा)मा विलीनीकरण भएसङ्गै क्रान्तिकारी पार्टीको रुपमा कम्युनिस्ट पार्टी र क्रान्ति पनि हराउँदै र बिलाउँदै जाने क्रमसङ्गै सहिद-बेपत्ता योद्धा र गुरु-नेताहरुका जन्म र मृत्युका दिनहरु विस्मृत जस्तैभए ! फलत: सहिदका सपना र जपनाहरुप्रतिको नेताहरुको प्रणप्रतिज्ञा र प्रतिबद्धता-कटिबद्धता पनि लूज हुँदै गयो ! पार्टी र सरकारका उच्चपदस्थ नेता-शासकहरुलाई स्मृति दिवस मनाउने, अग्रज र प्रेरकहरुको सम्झना र श्रद्धा गर्ने कुरा कसैलाई फगत एक औपचारिकतायुक्त झन्झटिलो र समय बर्बाद गर्ने कार्य लाग्न थाल्यो भने कसैलाई आफ्नो बर्चस्व कायम राख्न भ्याइनभ्याई गर्नै पर्ने बाध्यात्मक कार्य लाग्न थाल्यो ! यो स्थितिमा एकातिर आफूलाई पार्टी र क्रान्तिको ठोस र कार्यकारी जिम्मेवारी नहुनु र अर्कातिर स्वस्फूर्तरुपमा गरिने स्वअध्ययन, चिन्तन र मनन गर्दैगर्दा क्रान्तिप्रतिको, राष्ट्रप्रतिको र वर्गप्रतिको आफ्नो कर्तव्य सार्थक र पूर्ण हुन-गर्न नपाए-नसके पनि आफ्ना बाबुआमाप्रतिको जीवित कालमा वा निधनपश्चातको अधुरो जिम्मेवारी पूरा गर्नेतिर स्वत: र स्वाभाविक रुपमा हाम्रो ध्यान गयो । फलत: बाबुआमाको सम्मान र सम्झनामा केही स्थायी र ठोस कार्यगर्नु पर्छ भनी सोंच्न थालियो !

त्यसो त आमा कलावतीको मृत्यु २०६५ सालको शान्तिकालमा मा भएकोले त्यतिबेलै हाम्रो पूरै परिवारका तर्फबाट गृहजिल्ला दाङको म आफै संस्थापक प्र अ भै स्थापना र संचालन गरेको स्थानीय जनकल्याण मावि दुधरासमा रु. १,००,०००/एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसैको ब्याजबाट गरीब तथा जेहन्दार, दलित र जनजाति समुदायका छात्र-छात्रा गरी तीन जनालाई छात्रवृत्ती दिने व्यवस्था गरेका थियौं । तर बुवा झग्गुप्रसाद पौडेलको सम्झनामा भने केही गरिएको थिएन । त्यसैले त्यो गर्नु जरुरी पनि थियो र आजभन्दा तीन बर्षअघिनै निष्ठाको राजनीती र नेता-कार्यकर्तालाई पन्छाइएको त्यो समयलाई पनि सदुपयोग गर्दैगर्दा बुवाको नाममा पनि बुवाहरुले स्थापनार्थ योगदान गर्नुभएको मेरो जन्मस्थल दाङकै रामपुरस्थित मैले क, ख सिक्दै SLC गरेको गङ्गा माविमा रु. १,००,०००/ एकलाख रुपैयाँकै अक्षयकोष स्थापना गर्नु नै सर्वोचित र अत्यावश्यक हो भन्ने ठहराई फेसबुकबाटै यसै सोह्र श्राद्धका समयमा २०७५ मा हामी बूढाबूढीले घोषणा गर्‍यौं । तरपनि अर्थाभावले केही ढिला गरी गत २०७६ पौष ४ गते मेरो जन्मदिनमा मात्रै विद्यालयलाई सो रकम हस्तान्तरण गरेर विधिवत प्रकृया पूरा गरिदिएका छौं । यसरी हामीले घरका बुवाआमालाई सार्वजनिक सम्झना र श्रद्धा गरेका छौं भने व्यक्तिगत-पारिवारिक सम्झना भने आमाको मृत्यु भएकै दिन चैत्र १६ गते र बुवाको मृत्यु भएको पन्चमी तिथिमा फोटो भए (बुवा झग्गु प्रसादको त फोटो पनि छैन) फोटो राखेर फूल र अबीर अर्पण गरेर फोटो नभए त्यत्तिकै यस्तै केही लेखेर वा बोलेर सम्झना र श्रद्धा गर्ने गरेका छौं । यससन्दर्भमा हामी छोराछोरी, पूरै परिवार र गाउँसमाजका लागि उहाँहरुको माया, भूमिका र योगदानहरुको चर्चा गर्ने गर्दछौं !

यही चर्चागर्ने क्रममा यश बर्ष पनि हामीले बुवाले आर्जन गरेको श्रीसम्पत्तिको बलियो जगमा नै अहिले हाम्रा बुवाहरुका चार भाइको घरघृहस्थी र पारिवारिक बन्दोबस्त संतोषजनक रुपमा चलेको कुरा स्मरणीय र स्तुत्य ठान्यौं । बुवाहरुले दाङकै सुनपुरबाट रामपुरमा सारेको विद्यालयमा पढेर नै म आज यत्तिको लेख्न सक्ने भएकोमा गर्व लाग्यो । बुवा अल्पायुमै बितेकोले र आमा पनि बुवा बित्नुभन्दा पहिलेदेखि नै बाथले कुँजी भएर थल्लिएकी हुनाले हामीले आमाबुवाबाट त्यति धेरै प्रेरणा, अभिभावकत्व, हौसला र हिम्मत नपाएकोले सानैदेखी हाम्रो परिवार उपेक्षित हुँदै आएको अनुभूत गरियो । म पढाईमा तेज भएकोले सधैं जसो प्रथम हुने भएर गुरुहरुबाट माया पाउँदा पनि परिवार र गाउँसमाजका ठुलाबडा, जान्नेसुन्ने र हान्नेमार्ने भन्नेहरुले रिसले हो वा ईखले हो अथवा इर्स्याले हो वा डाहले हो बेलाबखत हामीलाई उपेक्षा र अपहेलना गर्नुका पछाडी बुवाकै अनुपस्थिती र आमाको रोगी अवस्था मुख्य कारण थियो भन्ने लाग्यो ! आज पनी हामीमाथिको अन्याय र हेलाहोंचोका विरुद्धमा बोल्ने र लड्ने कोही पनि नहुनाले नै हाम्रो यो मरे-हरेको वा कतै भागे-लागेको जस्तो तीन न तेह्र वा धोबिको कुकुर घरको न घाटको हुने गरी गुमनाम हुनुपरेको अवस्था भएको हो भन्ने अनुभूति पनि गर्‍यौं ! तथापि आमाबुवाकै श्रम र बुद्धिको प्रतिफलले आज यो रुपमा बाँच्न सकिएकोमा राहत अनुभव गर्‍यौं ।


स्मरणीय के छ भने सात दिदी मुनिको र दुई बहिनी माथिको एकमात्र आठौं पुत्र भएर हो वा दिदीहरु विवाह भै पराइघर गएकाले घरमा धेरै लामो समयसम्म आमाछोराको निरीह र एक्लो परिवार भएर हो मेरी आमाले मलाई गर्ने जति माया गर्ने, मेरानिम्ति सम्पूर्ण रुपले आफूलाई समर्पण गरेर दुखकष्ट गरी मलाई देस र जनताको निम्ति पार्टी र क्रान्तिमा हिड्ने र भिड्नेमा समेत मन, वचन र कर्मले साथदिने आमा त सायदै कोही होलान् भन्ने लाग्यो ! हुन त गोर्कीको उपन्यासका पात्र पावेल कोर्चागिनकी आमा र महान् कोरियाली नेता किम इल सुङ्गकी आमा काङ्क वान शोकजस्ता इनेगिने महान् र ममतामयी आमा नभएका होइनन्, तथापी तीजस्तै विरलै आमा हामी पनि हुनुहुन्थ्यो झैं ठान्यौं ! त्यसैले आमाबुवाप्रती सामान्यतया हामी सबै सन्ततिहरु र मुख्यतः म सहित सबै छोरीबुहारी कृतज्ञ छौं, रिणी छौं र आभारी छौं !
यससन्दर्भमा हाम्रा माइतिका बुवा दाङ घोराहि रझेनाका रिषिराम गौतम र आमा लक्ष्मी गौतमको पनि स्मरण र श्रद्धा गरिन्छ र अहिले पनि गरियो ! यद्यपि मैले उहाँहरुलाई भौतिकरुपमा प्रत्यक्ष नदेखे पनि उहाँहरुको योगदान दाङमा कम्युनिस्ट पार्टी स्थापना, संचालन, संरक्षण र सम्बर्द्धन गर्ने क्रममा गरेको दुखकष्ट, मोलेको खतरा, माथिका नेतासङ्ग भएको जीवन्त सम्बन्ध – यहाँसम्म कि शान्ताको छैंटीको दिनमा क. निर्मल लामा आशीर्वाद दिन त्यहाँ पुग्नुभएको आदि) विशेष रुपले उल्लेख्य रहेको चर्चा र बोध गरियो । जहाँसम्म आफ्ना आमाबुवाको नाममा भने अक्षयकोष खडा गरिदिने तर श्रीमतीका बुवाआमाको नाममा चाहिँ यति मात्र भन्ने प्रश्न छ, त्यसबारे भए-गरेका हाम्रा प्रयासहरुबारे अरु कसैले लेख्दा राम्रो र विश्वसनीय होला ! लेखिएनछ भने पनि आवश्यकता अनुसार आगामी दिनमा लिखितै चर्चा गरौंला ! अहिले यति मात्र भनौं कि परिवार, गाउँसमाज, बन्धुबान्धव, इष्टमित्र र नाताकुटुम्बहरुका अतिरिक्त पार्टीसङ्ग सम्बन्धित नेता, कार्यकर्ता र विद्यार्थीहरुलाई सकीनसकी, दुखविराम हुँदा पनि, भै नभै खुसी मन र उदार चित्तले खानपिन, बासगासलगायतका सहयोग गर्दागर्दै आफ्नो स्वास्थ्य बिग्रेको र राम्रोसङ्ग उपचार गर्न-गराउनमा ध्यान नपुगी बुवाको बवासीर (पायल्स) र आमाको क्षयरोग(टीबी) जस्ता सामान्य रोगले अल्पायुमै निधन भएकोमा एकातिर तीव्र दुखानुभूती गर्‍यौं भने अर्कातिर त्यो त्याग, निष्ठा र समर्पणप्रतीको हाम्रो सम्झना र श्रद्धा विशेष रुपले बढ्यो र हार्दिक नमन गरियो !यी र यस्तै व्यथा-कथाको गाथा कोर्दै कोरोनाको कहर र डरका बीचमा यस बर्ष हामी बुढाबुढी र छोरा मननले हाम्रा आमाबुवा लगायतका दिवङ्गत पुर्खाहरुको सम्झना र श्रद्धा कार्य सम्पन्न गरियो !

अन्तमा फेरिपनि हार्दिक सम्झना, श्रद्धाञ्जली र सलामी सबै दिवङ्गत परिवार निर्माता पुर्खा, पार्टी-क्रान्ति निर्माता गुरु-नेता-सहिद र देस-राष्ट्रनिर्माता अग्रज-दिग्गजहरुलाई !!
समाप्त ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here