ओम्नी एक वर्षसम्म कालोसूचीमा

10

काठमाडौं – स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा सरकारले ओम्नी विजनेश कर्पोरेशन इन्टरनेसनललाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।  कार्यालयले  स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारदेखि लागू हुने गरी कालोसूचीमा राखेको जनाएको छ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको भन्दै ओम्नीलाई कालोसूचीमा राख्न विभागले सिफारिस गरेको थियो ।

यसअघि विभागले गत चैत १९ गते ओम्नीसँग भएको खरिद सम्झौता रद्द  गर्ने निर्णय गरेको थियो । ओम्निले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्ध गर्नुपरेको विभागले जनाउँदै आएको छ ।  ओम्नीले चिकित्सकले लगाउने पिपिई, एन–९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क, र्यापिड टेस्ट किट ल्याउनुपर्ने थियो । तर, बिना प्रतिष्पर्धा दिइएको उक्त ठेक्का सम्झौताअनुसार ओम्नीले सामाग्री ल्याउन असफल भएको थियो ।  सरकारले बिना प्रतिस्पर्धा महंगो मूल्यमा स्वास्थ्य सामाग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिएको भन्दै त्यतिबेला नै सरकारको चौतर्फी आलोचना भएको थियो । सरकारले भने हत्तारमा सामाग्री ल्याउनु परेकाले यस्तो निर्णय गर्नुपरेको भन्दै अहिलेसम्म पनि सम्झौताको बचाउ गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here