कमरेड प्रचण्डलाई बस्ने घरको समस्या समाधानका लागि सुझाव

99

देशमा १० बर्षे जनयुद्दको कमाण्डिङ गरेका र हाल डबल नेकपाको दोश्रो तहको  अध्यक्षको हैसियतमा चित्त बुझाएर बसेका कमरेड प्रचण्डले हालै मात्र एउटा टेलिभिजनमार्फत गरेको गुनासो सुने पछि केही लेख्न मन लाग्यो । कमरेड प्रचण्डले आफ्ना बारेमा कसैबाट नकारात्मक चर्चा नभैदिए हुन्थ्यो भन्ने चाहना ब्यक्त गर्नु भएको छ सो अन्तरवार्तामा । खुला राजानीतिमा आएदेखि सुरु भएका पलङका चर्चा हँुदै परिवारवादी भएको जनताको आरोपका साथै बिभिन्न उतार चढावका टिका टिप्पणी र आफू बसेको घरका घरधनीसँगको सम्बन्धका कुरासम्म गुनासोमा समेटिएको पाईयो ।

 मैले कमरेड प्रचण्डलाई उहाँ राज्यको कुनै हैसियतमा नभएका बेला अर्थात पञ्चायतकालमा उहाँ भूमिगत अवस्थामा रहेका बेला ( हालका बिप्लवहरुको जस्तै अवस्था )मा ललितपुरको पाटन ढोकासम्म पुगेर धेरै पटक भेट गरेका क्षणहरु अहिले यी हरफहरु लेख्न बस्दाका अवस्थामा सम्झना भैरहेको छ । मरिचमान ,सूर्य बहादुर , लोकेन्द्र बहादुर लगायतका तत्कालीन सत्ताका शासकहरुसँग सामिप्यमा रहेको भए निश्चय पनि त्याबेला कुनै न कुनै शुभलाभ प्राप्त गर्न सकिन्थ्यो होला ! तर त्यो शुभलाभको बाटोमा लागिएन ।

 निस्वार्थ रुपमा कमरेड प्रचण्डलाई भेटेर उहाँको राजनीतिक निष्ठामा सहयात्री बनेर देश र जनताको लागि केही योगदान गरेको महशुस गरिन्थ्यो त्योबेला । आजका दिनहरुमा त्यही प्रचण्डलाई भेटेर शुभलाभ लिनेहरुको लामबन्दीमा आफूलाई लगाउनू भनेको  अमेरिकी साम्राज्यबाद र भारतीय नव साम्राज्यबादको सेवामा लम्पट भएर केवल सत्ताको प्रलोभन मात्र गरिरहेको र आसेपासेहरुलाई  रिझाएर समय बिताउन अभ्यस्त भैरहेको एउटा दुष्ट शासक सामू लम्पसार भएको जस्तो महशुस हुने अवस्था भन्दा फरक देख्न सकिएन । त्यसैले आज धिक्कार्न मन लाग्छ , तर प्रचण्डलाई होईन आफ्नो बिगतको समय बर्बादीलाई  !

 बिगतको राजनीतिक मिशनलाई सम्झेर वर्तमानमा  राजनीतिक यात्रा तय गरेर कदम चाल्ने हो भने कमरेड प्रचण्डलाई साथ नदिने नेपाली को होला ? आज आफ्ना सहयात्रीहरुलाई धारे हात लगाउँदै सञ्चारमाध्यममा किन चिच्याउनु पर्ने अवस्था आउँथ्यो र ? बिगतका सहयात्रीहरु बैद्य, बाबुराम र बिप्लवले मात्र हैन दुश्मन नै बनेका कटवालले पनि गोप्य कोठामा बसेर प्रचण्डको महानताको गुणगान गाउन थाल्ने छन् ! बुद्दिको बिर्को बन्द गरेर राखेपछि जे हुनु थियो त्यही नै भैरहेको छ ।

प्रचण्डले अब नयाँ डेरा खोज्नु पर्ने आफ्नो समस्या पनि अन्तरवार्तामा भन्नु भएको सुनियो । किन खोज्नु प¥यो डेरा ? तपाईले नेतृत्व गरिरहनु भएको डबल नेकपाको स्थायी कमिटी बैठक  भदौ २६ गते शुक्रबारदेखि  सुरु हुने भएको छ । बैठक सुरु हुनासाथ बहुचर्चित एमसीसीलाई बिदा गर्न पहल गर्नुस् , आफ्नो लागि बस्ने घरको ब्यवस्था पार्टीले गरोस् भनेर बैठकमै अर्को प्रस्ताव गर्नुस् , अनि हेर्नुस् तपाईको लोकप्रियता र प्रशंसा ! बालुवाटारको पलङमा सुतेको भन्दा पार्टीले ब्यवस्था गरेको सामान्य घर भित्रको खाट नै किन नहोस् , त्यो खाटमा सुतेर युद्दमा ज्यान गुमाएका १७ हजार नेपाली जनताको रगतलाई सम्झेर भावी योजना बनाउनुस् त , धेरै आनन्दको निद लाग्ने छ कमरेड तपाईलाई ।

गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीमा विवाद हुँदा १४ भन्दा बढी पटक स्थगित भयो । महाकाली सन्धि पारित गर्दा पनि यसैगरी १४ पटकसम्म बैठक निर्णयबिहिन भएको थियो । अहिलेको बिबादको जड के हो ? कुर्सी ?  स्थायी कमिटी बैठकमा विवाद समाधान कार्यदलको प्रतिवेदनका विषयमा छलफल हुने जनाईएको छ । के छलफल हुने हो ?  किन रुनु हुन्छ ? किन चाहियो कार्यदल ? किन चाहिए प्रतिवेदन ? साम्राज्यबादी अमेरिकालाई घुमाएर नेपालमा प्रबेश गराउने तपाईको  बदनियतलाई बदल्नुस् त ! सबै समस्याको जड भनेकै तपाईको लम्पसारबादी प्रबृत्ति हो ।

स्थायी कमिटी बैठक लगत्तै असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने सुझाव पनि कार्यदलले प्रतिवेदनमा दिएको छ । त्यही केन्द्रीय कमिटी बैठकले एमसीसीको बिरोध गरेको होईन ? महाधिवेशन सम्बन्धी कार्ययोजना समेत पारित  गर्ने  सुझाव कार्यदलले दिएको छ । एकपटक मालेमाबादको मार्गनिर्देशन स्मरण गर्नुस् र स्थायी कमिटी बैठकमा प्रस्तुत हुनुस् त  ! कति अग्लो हुनेछ तपाईको राजनीतिक उचाई ?  त्यसैले अत्यन्त महत्वपूर्ण बैठकका रुपमा चर्चा पाएको  यो स्थायी कमिटी बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना हुनै नपाउने गरी सरकारलाई समेत  पार्टीको ट्रयाकमा हिंडाउने गरी प्रस्तुत हुनुस् त ! साम्राज्यबादको चक्रब्यूहमा फस्नबाट पार्टीलाई बचाउन यो स्थायी कमिटी बैठक नै सफल हुनेछ  !

ओली नेतृत्वको सरकार साम्राज्यवादी अमेरिकी रणनीतिको अन्तिम भू–राजनीतिक कडीका रुपमा फसिसकेको छ र त्यसबाट उम्किन नसक्ने अवस्था पनि बिकसित भएका केही संकेतहरु देखिन थालेका छन् । यसले गर्दा समग्र पार्टी नै  अभूतपूर्व संकटको दुश्चक्रमा धकेलिएको छ । अमेरिकाले नेपाल सरकारलाई आफ्नो दूरगामी रणनीतिमा प्रयोग गर्ने कसरतलाई अन्तिम र निर्णायक मोडमा पु¥याईसकेको छ । यसमा अमेरिका सफल भयो भने नेपाल चीन र अमेरिकाको युद्द भूमिमा परिणत हुने निश्चित छ । स्थायी कमिटीका धेरै जसो सदस्यहरु यसबारे स्पष्ट छन् र बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने सम्भावना देखिएको छ ।

यही अमेरिकी स्वर्थमा फसेका कारणबाट  डबल नेकपाको नेतृत्वलाई पार्टी पद्दतिमा चल्न समेत ब्रेक लागेको अवस्था छ । पार्टीमा अल्पमतमा रहेर पनि प्रधानमंत्री केपीले आफ्ना एकलौटी स्वार्थ अनुरुपका कामहरु गरिरहेका छन् । गुटबन्दिले पार्टी ध्वस्त र अराजक बन्ने अवस्था बिकसित भएको छ । ओली र माधव–दाहाल गूटका बीचको सम्बन्ध कहाँ गएर टुंगिन्छ भन्ने कुरा विश्व ध्रुविकरणसंग नै जोडिएको देखिन्छ । स्थायी कमिटी बैठकले लिने निर्णयले केन्द्रीय कमिटी बैठकलाई समेत मार्गदर्शन गर्ने भएकाले यो बैठकले डबल नेकपाको दूर भविष्य पनि निर्धारण हुने देखिन्छ । हिम्मत गरेर प्रस्तुत हुने साहश छ कमरेड प्रचण्डसँग ?

 कोरोना महामारीले ल्याएको आर्थिक संकटपछि चीन र अमेरिकाका बीचमा निकै तिब्र गतिमा अगाडि बढेको द्धन्दको छायाँ नेपालको सत्ता राजनीतिमा परिरहेको छ । विश्वका जुन जुन ठाउँमा द्धन्दका कडीहरु छन्, ती सबै ठाउँको अवस्था निकै जटिल बन्दै गएका देखिन थालेका छन् । अमेरिकाले ताईवान, कोरिया, दक्षिण चीन , अफगानिस्तान , ईराक लगायतका देशहरुमा जस्तै नेपाललाई पनि निशानामा राखेको देखिन्छ । ईण्डो–पश्चिमा शक्तिहरुद्धारा चीनलाई  घेराबन्दीमा पार्ने प्रयासमा अमेरिका लागेको छ । यस्मा भारतको समेत सहयोग पाउनका लागि नेपाललाई भारतको मातहतमा राख्ने योजनामा पनि अमेरिकाका गतिबिधि केन्द्रित देखिन्छन् । नेपाली सिमा अतिक्रमण र एमसीसी परियोजनाका साथै ‘स्वतन्त्र तिब्बत’को मुद्दा भारत र अमेरिकाका साझा स्वार्थ रहेका छन् । अमेरिकाले एमसीसीका बहानामा नेपाल पसेर ‘स्वतन्त्र तिब्बत’को आन्दोलनलाई चर्काउने दीर्घकालीन योजना बनाएको स्पष्टै छ , तर केपी ओली नेतृत्वको डबल नेकपाको सरकार यस्को लागि गोटी बनेर नेपाललाई संकटमा फसाउन कृतसंकल्पित देखिएको छ ।

 नेपाललाई उपनिवेश बनाएर चीन हान्ने योजनाका रुपमा ल्याउन खोजिएको एमसीसी परियोजनालाई सफल बनाउन अमेरिकाले निकै चतुर्याँईंपूर्वक काम गरिरहेको छ । अमेरिकाको यस योजनामा फसिसकेको केपी ओली नेतृत्वको सरकार उम्किन नसक्ने भैसकेको देखिन्छ । पछिल्लो पटक बिकसित भएको युवराज खतिवडाको सत्ताबाट बहिर्गमनको घटनामा ओलीको छट्पटाहट र अमेरिकी दौडधूपले यो कुरालाई पुष्टि गरिसकेको छ । यो अवस्थालाई धक्का दिन प्रचण्ड कमरेडको भूमिका खोई ?

अमेरिकाले एमसीसीलाई संवैधानिक मान्यता दिलाएर नेपालको संविधान र कानूनको नियन्त्रणमा नरहने गरी स्वायत्त बनाउने योजना बनाएको स्पष्ट छ । ओलीलाई यो कुरा जानकारी नभएको बिषय होईन । तर पनि यस्लाई पारित गर्ने अडानमा ओलीको नग्नता सर्वत्र आलोचित भैरहँदा पनि निर्लज्जताको पराकाष्टाका रुपमा सार्वजनिक भैरहेको छ ।  एमसीसी संझौता प्राकृतिक श्रोतको उपयोग र बाँडफाँडसंग जोडिएको परियोजना हो भन्ने स्पष्ट छ । एमसीसी सम्झौताका सवालमा संसदमा दुईतिहाई बहुमतको सुनिश्चितता अमेरिकालाई आवश्यक किन परेको हो भन्ने बारे सामान्य नागरिकले पनि बुझेको कुरा ओलीले किन नबुझे झैं रिरहेका छन् ? यो बिषयमा स्थायी कमिटी बैठकले निश्चय पनि प्रधानमंत्री ओलीको अडानलाई सच्याउने आशा देशभक्त बौद्दिक जगतले गरेको छ , तर प्रचण्ड कमरेडको भूमिका नै यस्मा  निर्णायक हुनेछ

 नाकाबन्दीको बेला ओली मोदी विरोधी बनेका थिए । त्यही कारणले ओलीको छवी देशभक्तका रुपमा बनेको थियो । महाकाली सन्धिमा ओलीले गरेको राष्ट्रघातलाई सामान्य गल्ती मानेर नेपाली जनताले माफी पनि दिई सकेका थिए । तर पछिल्ला ओलीका गतिबिधिहरु माफी पनि नपाउने खालका देखा परिरहेका छन् ।

 ओलीले प्रधानमन्त्री र दलको अध्यक्ष दुबै पद छोड्न मानिरहेका छैनन् । एक ब्यक्ति एक पदको बिषय पार्टीको निर्णयसमेत भैसकेको अवस्था छ । तर ओलीले नमानेर अडान लिन सक्नुका पछाडि कुन शक्तिको आड छ भन्ने कुरा बुझ्न धेरै मथिंगल खियाउनु नै पर्दैन , एमसीसीमा ओलीको अडानले स्पष्ट  गरेको छ । ओलीले सरकारी निर्णयहरु गर्दा दलभित्र परामर्श पनि गरिरहेका छैनन् , दलका निर्णयहरु पनि अवज्ञा गरिरहेका छन् , अदालत र संसदीय समितिहरुका निर्णयहरु पनि लागु गर्न ओली मानिरहेका छैनन् ।  तर यस्ता अराजक कामहरु गरिरहँदा पनि ओलीलाई पार्टीले अंकुश लगाएर पार्टीको ट्रयाकमा चलाउन सकिरहेको छैन । कारण के हो त ? कारण स्पष्ट छ –अमेरिकाको दलालीबाट प्राप्त भएको शक्ति । डबल नेकपाको नेतृत्व पंक्ति समग्रमा यही अमेरिकाको रणनीतिक प्रभावमा फसेको छ । आगे कमरेड प्रचण्ड र डबल नेकपाका स्थायी कमिटी सदस्य कमरेडहरुलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here