स्तरहीन स्यानिटाइजर भन्दा साबुनपानी नै फाइदाजनक

156

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले मेथानल मिश्रित स्यानिटाइजर खरिद गरेको भए तत्काल फ्याँक्न सल्लाह दिन्छन्।

‘मेथानल विषाक्त हो। बच्चाबच्चीको कमलो छालामा बारम्बार घस्दा विषाक्त रसायन छालाले सोस्छ। त्यसले दीर्घकालमा दृष्टि क्षमतामा असर गर्छ। मुखमा परे ज्यानसमेत जान्छ’, डा. काफ्ले भन्छन्, ‘साबुनपानीले मिचीमिची हात धुनु जत्तिको राम्रो अरू केही होइन।’

नेपाल औषधि व्यवस्था विभागले विषाक्त स्यानिटाइजर कहाँ-कति छ भनेर लेखाजोखा गर्न सकेको छैन। सीमित साधनस्रोत र जनशक्तिका कारण अनुगमन गर्न नसक्दा बजारमा गुणस्तरहीन उत्पादन छ्यापछ्याप्ती छ। कतिपयले थाहा नपाएरै विषाक्त स्यानिटाइजर घरका कोठा–कोठामा सजाएका छन्। उत्पादक कम्पनीले स्यानिटाइजरको लेभलमा मेथानल मिसाइएको उल्लेख नगरी बिक्रीवितरण गरिरहेकाले सचेत हुन विज्ञको सुझाव छ।

कोरोना महामारीमा अत्यधिक उपयोग भइरहेको स्यानिटाइजरमा मेथानल मिसाउने कार्य नेपालसहित विभिन्न मुलुकमा भइरहेको छ। विभागका महानिर्देशक नारायण ढकाल स्वदेशमा उत्पादित र विदेशबाट आयातीत सबै स्यानिटाइजरको परीक्षण गर्न नसकिएको स्वीकार गर्छन्।

‘केही नमुना संकलन गरी परीक्षण गर्दा पाँचवटा कम्पनीको स्यानिटाइजरमा विषाक्त पायौं’, महानिर्देशक ढकाल भन्छन्, ‘अरू थप स्यानिटाइजर पनि परीक्षण गर्दै छौं।’ आयातीत स्यानिटाइजर पनि गुणस्तरहीन हुन सक्ने उनको ठम्याइ छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका साथै अन्य सरुवा रोगविरुद्धको लडाइँमा साबुनपानीको प्रयोग प्रभावकारी हुने जनाएको छ। हात धुँदा औंलाको बीचमा, हातको अगाडि एवं पछाडि र नङलाई राम्ररी धुनुपर्छ। जुन सबैभन्दा सस्तो र सजिलो छ।

युनिसेफले पनि बगिरहेको पानीमा हात भिजाउने, मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच र नङलगायत सबै भागमा कम्तीमा २० सेकेन्डसम्म मिच्नुपर्ने सुझाव दिएको छ। बगिरहेको पानीमा हात पखाल्ने र सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात पुछ्ने हो भने कोरोना भाइरसको अवशेष नष्ट हुन्छ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here