उपत्यकामा काेराेनाबाट बच्न १५ दिने एसएमएस सचेतना अभियान

104

काठमाडौं-नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवं युनिसेफ नेपालको सहयोगमा काठमाडौं उपत्यकाका ३ वटै ज़िल्लामा काेराेना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न १५ दिने एसएमएस सचेतना अभियान सञ्चालन भइरहेको छ। गत भदौ २० गतेदेखि सञ्चालन भइरहेको यो अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययनरत विद्यार्थी समेत गरी १०० जना स्वयंसेवक उपत्यकाका ३ जिल्लालाई १३ क्लस्टर बनाई दैनिक रुपमा परिचालन हुँदै आएका छन्।

स्वयंसेवक हरेक दिन बिहान र बेलुका उपत्यकाका भीडभाड हुने कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चाबहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज र ललितपुरका पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो तथा भक्तपुरका सबै नगरपालिकालाई लगायतका क्षेत्रमा खटिएका छन्।

उनीहरु कोभिड-१९ बाट बच्न र बचाउन जनचेतनामूलक अभियान अन्तर्गत मुख्य रुपमा कम्तीमा २ मिटर भौतिक दूरी कायम गर्न सिकाउने र अनुरोध गर्ने, घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गर्नुका साथै यसको सही प्रयोग गर्न सिकाउने  र मास्क नलगाएकालाई मास्क वितरण समेत गर्ने, बीस सेकेण्डसम्म साबुनपानीले मिचिमिची हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने (एसएमएस) लगायतका जनचेतना अभिवृद्धि गर्ने अभियानमा लागिरहेका छन्।

अभियान अन्तर्गत बुधबार स्वयंसेवकसँग साथमा साथ मिलाउँदै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी लगायत नेपाल स्काउटको नेतृत्व समेत फिल्डमा खटिएको छ।

संयोजक भण्डारीले अभियानमा खटिएका स्वयंसेवकलाई प्रोत्साहित गर्न र यस अभियानलाई गति प्रदान गर्न आफू पनि फिल्डमा निस्किएको बताए। साथै, उनले कोभिड-१९ प्रति आम मानिसले बुझ्न सक्ने सरल भाषामा सन्देश प्रवाह गर्दै उनीहरुलाई थप सुसूचित गराउने र समाजमा कोभिड-१९ बारे भ्रामक गलत सूचना प्रवाह हुन नदिने यस अभियानको उद्देश्य रहेको बताए।

अभियानमा सहभागी नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले सही तरिकाबाट मास्क लगाउनु, साबुन पानीले मिचीमिची हात धुनु, एक अर्काबीच कम्तीमा २ मिटर दूरी कायम गर्नुपर्छ भन्ने जान्दाजान्दै पनि आममानिसले पालना नगरेकोले उक्त तथ्यलाई स्वस्फुर्त रुपमा पालना गर्ने/गराउने वातावरण सिर्जना गर्ने कार्यमा यस अभियान फलदायी हुने जनाए।

अभियान १५ दिनसम्म सञ्चालन हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here