चितवन – हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले जनाएका छन् । आज अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको धारणा छ ।
यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उहाँले बताउनुभयो । मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ ।
भट्टराईले भन्नुभयो “दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन । ” धार्मिक, सांस्कृतिक अध्येता डा। गुरुप्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरु गर्न नहुने बताउनुहुन्छ । उहाँका अनुसार विशेष संस्कारका कर्महरु, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न हुँदैन ।
मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उहाँको भनाइ रहेको छ ।