बामदेव कमरेडको पराजयदेखि मनोनयनसम्मको अपमानजनक राजनीतिक यात्रा

68

— निमकान्त पाण्डे

बामदेव कमरेडलाई पछिल्लोपटक राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय सरकारले गरेपछि मलाई पनि बधाईहरु धेरै आए । बामदेव कमरेडसँगको मेरो पुरानो राजनीतिक सामिप्यताका आधारमा आएका बधाईहरु स्वीकार गर्न मलाई खासै समस्या हुने कुरा भएन नै । परन्तु बामदेव कमरेडको यो नियुक्ति प्रकरण मलाई पटक्कै मन परेको छैन र यो नियुक्तिसँग मलाई कुनै लिनु दिनु पनि छैन । वर्तमान सम्बिधानको जगमा टेकेर जुन खालको राष्ट्रघात गर्ने काम डबल नेकपाको दुईतिहाई बहुमत नजिकको सरकारबाट हुन गैरहेको छ , त्यसलाई रोक्ने धरोहरको रुपमा बामदेव कमरेडको भूमिका आजको आवश्यकता हो मेरो लागि ।

 तत्कालीन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेतको हैसियतमा रहेका बामदेव कमरेडलाई बर्दिया जिल्लाको निर्वाचनमा पार्टी भित्रैबाट अन्तरघात गरेर पराजित गराइयो भन्ने कुरा त्योबेला नै व्यापक चर्चाको विषय भएको थियो । प्रधानमन्त्रीको उम्मेदवारका रुपमा आपूmलाई प्रस्तुत गर्दै चुनावी अभियानका दौरानमा बामदेव कमरेडले संचारमाध्यमलाई अन्तर्वार्ता समेत दिनु भएको थियो । मानिसहरु भन्ने गर्छन् — प्रतिनिधिसभाको चुनावमा केपी ओलीको भावी प्रधानमन्त्रीका रुपमा प्रचार भएकाले अत्यधिक बहुमत प्राप्त भएको हो । तर वास्तविकता फरक छ । बामदेव कमरेडले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गराउने कामको अग्रता लिएको कुरा पार्टीभित्रका सबै नेताहरुलाई जानकारी भएकै विषय हो । त्यसैक्रममा बामदेव कमरेडलाई अरु सबै शीर्ष नेताहरु प्रधानमंत्री भैसकेकाले भावी प्रधानमन्त्री बामदेव नै हो भनेर नेतृत्वबीच प्रस्ताव गरिएको आधारमा उहाँले अन्तर्वार्ताका क्रममा आपूmलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर दावी गर्नु भएको थियो । परन्तु बामदेवको यही दावी नै बर्दियाको चुनावमा पराजयको मुख्य कारण बन्न पुगेको चर्चा  त्यहीबेला चलेको थियो । वास्तविकता के हो भन्ने कुरा स्वयम बामदेव कमरेडलाई नै जानकारी होला ।

बर्दियाको चुनावमा  पराजित भइसकेपछि त्यसलाई जनादेश मान्नुको विकल्प बामदेव कमरेडसँग रहेन । त्यसपछिका लगभग तीन बर्षसम्म लगातार  बामदेव कमरेडलाई पुनः निर्वाचनमा खडा गराएर सांसद बनाउने र प्रधानमंत्री नै बनाउने चर्चा पटक—पटक भए । तर प्रत्येक चर्चामा बामदेव कमरेडको राजनीतिक उचाइ भने घटाउने कामले नै निरन्तरता पायो । अन्ततः बामदेव कमरेडलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने भनेर पार्टीले निर्णय गरेपछि केपी ओली नेनृत्वको सरकारले  बाध्यात्मक रुपमा बामदेव कमरेडलाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गरेको कुरा स्पस्ट छ ।

 सरकारले मनोनयन गरेको र सपथ खाएको एकहप्ता पनि नबित्दै बामदेव कमरेडको सांसद पद फेरि असुरक्षित बनेको छ । एकजना अधिवक्ताले सांसद पद मनोनयन प्रक्रिया संविधान बिपरित भएको भन्दै खारेज गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन गरेका छन्,  यो निवेदनले बामदेव कमरेडको सांसद पदलाई अदालतको कठघरामा पुगाएको छ । बर्दिया जिल्लाको  चुनावी पराजय भन्दा पनि राष्ट्रियसभाको यो मनोनयन प्रकरण बामदेव कमरेडका लागि घोर अपमानजनक भैरहेको मलाई लागेको छ । स्वयम्  उहाँलाई अपमानबोध भइरहेको छ वा छैन ? उहाँले जान्ने कुरा हो । तर उहाँका शुभेच्छुकहरुलाई यो अवस्था अत्यन्त अपमानजक नै लागिरहेको होला भन्ने मलाई लाग्दछ ।

आजका कमरेड बामदेवलाई देखेर भन्ने हो भने  बामदेव कमरेडमा अन्त्यत पदलोलुपता देखिन्छ । तर बामदेव कमरेडको बाल्यावस्था हुँदै युवावस्था  र ०५४÷०५५ तिरका घटनाक्रमहरुलाई फर्केर हेर्ने हो भने बामदेव कमरेड पदलोलुप चरित्रका राजनीतिक पात्र होइनन् भनेर ठोकुवा गर्न सकिन्छ । तर आजका  बामदेव कमरेडलाई  क्रन्तिकारी र देशभक्तको रुपमा दावी गर्न सकिँदैन ! खासगरी महाकाली सन्धि पछिका घटनाक्रमले बामदेव कमरेडमा निकै उतारचढाव ल्यायो, महाकाली सन्धिपछिको चुनावी पराजयलाई नै राजनीतिक प्रतिष्ठासँग जोडेर हेर्ने गल्ती बामदेव कमरेडले गर्नु भएपछि र महाकाली सन्धिबारे अबदेखि पार्टीमा प्रसंग नै नउठाउने सर्तमा एमालेमै फर्किने निर्णय उहाँले गरेपछि उहाँसँगको मेरो राजनीतिक सम्बन्ध टुटेको हो ।

महाकाली सन्धिमा पार्टी नेतृत्वले राष्ट्रघात गरेको कुरा आज आएर प्रमाणित भैसकेको छ । तर त्यो सन्धीमा पार्टीलाई गल्ती नगर्न बामदेव कमरेडले चर्को दवाव दिनु भएको थियो । तेह्रौं पटकसम्मको पार्टी बैठकमा सन्धिको पक्षमा बहुमत नपुगेपछि बैठकलाई निर्णयमा पुग्न नदिने र माइन्यूटसमेत नगर्ने काम भयो । तैपनि पार्टीको हितका निम्ति बामदेव कमरेडलगायतको महाकाली सन्धि विरुद्धमा रहेको त्योबेलाको नेतृत्वले पार्टीको बैठकलाई निरन्तरता दिदै आएको हो । अन्ततः चौधौं पटकको बैठकमा भारततिर घुम्न गएका भनिएका केन्द्रिय सदस्य ईश्वर पोख्ररेल र अस्पतालमा उपचारमा रहेका पार्टी अध्यक्ष मनमोहन अधिकारीको मत प्रयोग गर्ने बैकल्पिक केन्द्रीय सदस्य देवराज घिमिरेसमेतको मत थपेर एक मतले बहुमत बनाइ सन्धिको पक्षमा निर्णय गराइयो । यो राष्ट्रघाती निर्णयले देशको महत्वपूर्ण जलाधार क्षेत्र ओगटेको र पश्चिम नेपालको सिमानालाई समेत स्पष्ट गर्न सक्ने अवस्थाको महाकाली नदिलाई भारत—नेपालको साझा नदि मान्ने काम ग¥यो । यही महाकाली सन्धिको जगमा टेकेर भारतले महाकाली नदिको  मुहान समेत परिवर्तन गरेको छ भने पश्चिम नेपालका भूभाग आफ्नो देशको भूभागमा मिलाएर नेपालको सिमा अतिक्रमण गर्न पुगेको छ । तर बामदेव कमरेड हालका दिनहरुमा यस्ता विषयहरुलाई पार्टीमा उठाउन नपाउने ‘आचारसंहिता’मा बाँधिनु भएको छ !

पार्टीबाट भएका यस्ता राष्ट्रघातका तमाम विषयहरुमा बामदेव कमरेडको मौनताले उहाँको पदीय चाहनामा के छ भन्ने अनुमान लगाउन सकिन्छ । आफ्नै पार्टीिको सरकारले गर्न खोजिरहेको एमसीसी जस्तो साम्राज्यवादी शैन्य योजनाको चक्रब्यूहमा देशलाई फसाउने काम हुँदैछ , यो एमसीसी सम्झौता पारित भयो भने नेपालको ईतिहास नै समाप्त हुने अवस्था छ । तर बामदेव कमरेड यो बिषयमा मौन हुनुभएको छ । राष्ट्रियसभामा पुगेपछि त झन उहाँलाई थप आचारसंहितामा बाँधिएर बस्नु पर्ने बाध्यता नै हुनेछ ।

 नेपाल कम्युनिष्ट पार्टीको आदर्श अनुरुप साम्राज्यवादको विरोध स्वाभाविक हुन जान्छ । तर डबल नेकपाको सरकारले साम्राज्यवादको स्वार्थमा नेपाली भू—भागलाई शैन्य खेलमैदान  बनाउन दिने गलत सम्झौतालाई सम्बिधान भन्दा माथि राख्नेगरी संसदबाट नै पारित गर्ने तत्परता देखाइरहेको छ । साम्राज्यवादको स्वार्थमा पार्टीलाई लम्पसार बनाउने हो भने पार्टीको नाम नेकपा, अझ डबल नेकपा राख्नुको कुनै औचित्य रहन्न । नेकपाको सरकारले जनताका जनजीवीका र राष्ट्रिय स्वाधीनको सवालमा ध्यान दिने कि साम्राज्यवादीहरुको स्वार्थमा ? यो विषयमा बामदेव कमरेडको महाकाली सन्धिताकाको देशभक्तिपूर्ण अडान आजको आवश्यकता हो । पछिल्लोपटक नेपालको भूभाग सम्बन्धमा तयार भएको पाठ्यपुस्तकमाथि प्रधानमंत्री केपी ओलीको हस्तक्षेपले त झन नेपालको वर्तमान सरकार नेपालको अस्तित्व नै समाप्त पार्ने खेलमा लागिरहेको स्पष्ट भएको छ । त्यसैले वर्तमान अवस्थामा बामदेव कमरेडको भूमिका भनेको पदीय महत्वाकांक्षातिर नभएर देशको स्वाधीनताको रक्षार्थ जीवन समर्पण हो ।

महाकाली सन्धिको बिरुद्धमा उभिईंदा बामदेव कमरेड लगायतका शीर्ष नेताहरुलाई तत्कालीन नेकपा एमालेको प्राविधिकबहुमत पक्षले कार्वाही गरेर पार्टीबाटै निस्काशन गरेपछि पार्टी बिभाजनको जोखिम उठाउनसमेत पछि नपरेका बामदेव कमरेड त्योबेला सम्मानित क्रान्तिकारी र देशभक्त धरोहर नै बन्नु भएको थियो ! आजको अवस्था झनै भयावह छ, बामदेव कमरेडको लागि सांसद र प्रधानमंत्री पद भन्दा नेपाल राष्ट्रलाई नै उहाँको फरक भूमिकाको आवश्यकता छ । महाकाली सन्धिको बिरोध गरेर राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिंदाको अवस्थाको व्यक्तित्व कति उच्च थियो र कति मूल्यवान थियो भन्ने कुरा आजका दिनहरुमा स्मरण गर्न मात्र सकियो भने आफ्नो भूमिकाको आवश्यकता महशुस बामदेव कमरेड स्वयमलाई हुनेछ, आगे बामदेव कमरेडकै मर्जीका कुरा ! – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here