भक्तपुरमा लुटपाट गर्ने पाँच पक्राउ

187

भक्तपुर- डलर देखाई लुटपाट गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिबार लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौं गोकर्णेश्वर–१ बस्ने वर्ष ३६ का खेलबहादुर तामाङ र सोही ठाउँका वर्ष ३३ का रेलबहादुर तामाङ रहेका छन् ।

यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी ९ बस्ने वर्ष ५६ को श्यामबहादुर तामाङ, सोही ठाउँका वर्ष २५ को रामकृष्ण तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नैै घर भई हाल मध्यपुरठिमी–९ बस्ने वर्ष ३२ की कान्छी तामाङ रहेको प्रहरी परिसरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढोथोकीले जानकारी दिनुभयो ।

प्रहरीको अनुसन्धानबाट उनीहरुले विगत केही समयदेखि व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिलाई फोन गरी पहिलादेखि नै चिनजान भएको जस्तो व्यवहार गर्दै लुटपाट गर्ने गरेको खुलेको छ ।

आफूसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनी विभिन्न वहाना बनाएर अमेरिकन डलर देखाई उनीहरुले नेपाली रुपियाँ लुटपाटका गर्दै आएको प्रहरीको भनाइ छ ।
खोजतलास गर्दै जाँदा मध्यपुरठिमी–९ बाट ८ जनालाई नियन्त्रणमा लिएको प्रहरी परिसरका सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

अनुसन्धानपश्चात् संलग्नता नदेखिएका तीन जनालाई भने छाडिएको तथा घटनामा संलग्नता देखिएका बाँकी पाँच जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । यसबारेमा थप अनुसन्धान भइरहेको साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट नेपाली रुपियाँ २ लाख ४२ हजार ९ सय ३५, विभिन्न कम्पनीका मोबाइल ५ थान, मोटरसाइकल २ थान, डलर भनी झुक्काउन तयार गरिएको कागजको बिटो २ बन्डल बरामद गरेको छ । उक्त समूहले भक्तपुरका विभिन्न स्थानबाट डलर साट्ने वहानामा लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here