उपन्यास महारानी लेखनको आधारभूमि

7
 –चन्द्रप्रकाश बानियाँ

कालीगण्डकी र म्याग्दी नदीको संगममा बसेको ‘बेनीबजार’ । बेनीबजारको पश्चिम खण्डमा अवस्थित ‘कुरिला–खर्क’ । त्यही खर्कमा स्थापित ‘महारानी–स्थान’ । डोटेली खस भाषामा ‘माडौंं’ भनिने देवीदेवताका मन्दिरलाई कर्णाली भेकको खस लवजमा ‘थान’ भनिन्छ । गण्डकी क्षेत्रमा मन्दिरको विकल्पको रुपमा ‘स्थान’ को प्रयोग बाक्लै हुन्थ्यो । बागलुङको माईस्थान, पोखराको विन्ध्यवासिनी स्थान भने जस्तै बेनीको सेरोफेरोमा ‘स्याउला थान” भनेर लोकप्रचलित बनेको एउटा मन्दिर छ । मन्दिरमाथि वरको रुख झांगिएको हुनाले झट्ट हेर्ने, देख्ने मानिसहरुले स्याउलाको थान भनिनुको कारण त्यहीे होला भनेर अनुमान गर्न सक्छन् । वरको रुखलाई मन्दिरको विशेषता मान्नेहरु पनि छन् । यथार्थमा त्यो मन्दिरको नाम ‘शिवालयस्थान’ हो । कुरिलाखर्कको महारानीस्थानमा पूजिने देवी महारानीको कथा बेनीको दोविल्लास्थित शिवालय स्थापनासँग जोडिन्छ भन्ने जनश्रुति रहेको छ ।

कुरिलाखर्ककी महारानीको इतिहास खोज्दै जाँदा ठ्याक्कै तीन शताब्दी पुँडो पुगिन्छ । तीन शताब्दी पूर्वको त्यही इतिहासलाई आधार बनाएर “महारानी” उपन्यास लेखिएको छ । यो कथा बाइसी चौबीसी राज्यकालको हो । चौबीसी राज्यहरुमध्येको ‘मलेवम प्रदेश’ भनेर लोकप्रसिद्ध ‘१६ हजार पर्वत राज्य’को हो ।

कुरिलाखर्कको महारानी स्थानमा देवी पुजिन्छ । पुजिने देवीको लोकप्रचलित नाम भने ‘महारानी’ रहेको छ ! रानी÷महारानी राजाका श्रीमतीहरुलाई गरिने सम्बोधन–संज्ञा हो । कुरिलाखर्कमा पुजिने महारानीको वैवाहिक सम्बन्ध कुनै राजा—रजौटासँग भएको इतिहासले प्रमाणित गर्दैन । यो ऐतिहासिक तथ्यले देवीको प्रचलित नाम आफैमा अद्वितीय जस्तो लाग्दछ । नमिले जस्तो लाग्छ । अनौठो लाग्छ । महारानी किन भनियो भन्ने जिज्ञासा उत्पन्न हुन्छ ।

कुरिलाखर्कमा कहिलेदेख महारानीको नाममा पूजा दिन थालिएको हो भनेर खोजीपाँसुली गर्दा निस्कने तथ्यले अर्को आश्चर्यजनक कथा भन्छ । महारानी अलप भएको पूरापूर दुई शताब्दीपछि जन्मिएका एकजना श्रद्धालुले गाईगोठमा गरिने छमासिक गोठधूपको सन्दर्भमा किन कसरी हो कुन्नी महारानीलाई समेत धूप, धजा, अक्षता चढाउन थालेछन् । त्यसैको विकसित विस्तारित रुप वर्तमानको महारानी पूजा हो । त्यसको अर्थ महारानीको नाममा पूजा अर्चना गरिने परम्परा नभए पनि महारानीको स्मरण स्मृति जनमानसले शताब्दीयौंदेखि गर्दै आएको रहेछ र महारानीको कुरिलाखर्कसँग कुनै न कुनै साइनो सम्बन्ध जोडिँदो रहेछ भन्ने कुरा प्रमाणित हुन्छ । अर्थात किंवदन्तीकै रुपमा भए पनि दुई शताब्दी पुरानो महारानीको इतिहास—कथा समाजमा जीवित रहेछ भन्नुपर्ने हुन्छ । शदियौंसम्म महारानीलाई सम्झनुपर्ने कुनै विशिष्ट कारण अवश्य हुनुपर्छ भनेर अनुमान गर्नुपर्ने हुँदोरहेछ ।

कालक्रममा पर्वत राज्यको अस्तित्व समाप्त भयो । पर्वतको राजधानीको गौरवबाट बेनीबजार वञ्चित भयो । झन्डै डेढ शतक गुमनाम रहेको बेनीबजार २०१८ सालपछि पुनः ब्युँझियो । बेनीको बगर बजारमा रुपान्तरित भयो । बेनीबजारमा जिल्ला सदरमुकाम बसेपछि स्वभावतः बजारको आवादी बढ्दै गयो । जनआवादीको विस्तारसँगै महारानीको महिमा मण्डन हुँदै गयो । म्याग्दी जिल्लाको सन्दर्भमा गलेश्वरपछिको दोस्रो सर्वाधिक चर्चित र मनितो हुने देवधामको रुपमा महारानीस्थान स्थापित भएको छ ।

महारानी को थिइन् ? उनलाई किन महारानी भनियो ? कुरिलाखर्कसँग उनको के सम्बन्ध थियो ? प्रारम्भमा ‘देउती’को रुपमा पूजिने महारानी कसरी ‘देवी भगवती’ मा फेरिइन् ? देवीको रुपमा पूजिने महारानीको सुनाम के थियो ? महारानी थिइन् भने उनी कुन देशकी महारानी थिइन् ? कुनै राजा महाराजासँग उनको बिहे भएको थिएन भने उनी कसरी महारानी भनिइन् ? उनको माइती कहाँ थियो ? घर कहाँ थियो ? सबैका मनमा यस्ता  जिज्ञासाहरु उठ््नु स्वाभाविक हो ।

उधौली उभौलीको अवसरमा जसले महारानीलाई नियमित पूजा दिने परम्परा बसाल्यो उसैलाई त्यसबारेमा कुनै जानकारी थिएन होला । थाहा हुन्थ्यो भने महारानीसँग असली नाम पनि जोडिएर आउँथ्यो । नाम, गोत्र उच्चारण गरेरै पूजा दिने परम्परा बस्थ्यो । महारानीका आफ्ना सन्तान थिएनन् । सन्तान नभएपछि हिन्दू परम्पराको श्राद्ध तर्पण पाउने अवस्था पनि थिएन । पिण्ड तर्पण पाउने जम्मा अवधि तीन पुस्ताको हो । महारानी भने आफ्ना सन्तान आफन्त नभए पनि पराइहरुबाटै शताब्दीयौं शताब्दीसम्म पूजा अर्चना पाउने भाग्यमानी किन कसरी बनिन् त ?

इतिहासको गर्भमा विलुप्त भएको त्यही रहस्यमयी कथाको सत्य तथ्य कोट्याउने कोशिश स्वरुप यो कथानक तयार भएको हो । यो कथाको पृष्ठभूमि इतिहास हो । तर कथानक सम्पूर्ण इतिहास भने होइन । समाजमा भनिँदै सुनिँदै आएका लोककथन र किंवदन्तीहरुको तथ्यगत विश्लेषणको कोशिश हो । त्यस अर्थमा सम्भावित सत्य तथ्यमा आधारित भएर गरिएको इतिहास पुनर्लेखनको अभ्यास पनि हो । यो तात्कालीन समाजको कथा पनि हो ।

आधार इतिहास हो । कथा काल्पनिक हो । तैपनि अधिकांश घटनावली, पात्र र भाषा इतिहासबाट लिने कोशिश भएको छ । अर्थात् यो कथानक न पूर्ण इतिहास हो न पूर्ण काल्पनिक । लेख्ने प्रयत्न सामाजिक उपन्यासको हो, अनभ्यस्त कलमले उपन्यास बनाउन सक्यो कि सकेन कुन्नि ? मूल्यांककनको जिम्मा समादरणीय पाठकवर्गलाई नै ।

पर्वत राज्यकालको भाषा कस्तो थियो भन्ने कुरा अन्धकारमा छ भन्न मिल्दैन । पर्वत राज्यकालका दुई दर्जनभन्दा बढी लेखोटहरु उपलब्ध छन् । देशको सम्पर्क भाषाको मान्यता पाएकोे ‘नेपाली भाषा’को जननी खस भाषा हो । खस भाषाको आफ्नै मौलिक लिपि ‘खरोष्टि” थियो रे । लोप भयो । देवनागरीले त्यसलाई विस्थापित गरिदियो । कुनै बेला राष्ट्र भाषाको मान्यता समेत पाएको भाषाको नामकरण ‘नेपाली’ हुनुपूर्व त्यसलाई ‘गोर्खा भाषा’ भनियो । गोर्खा भाषाको जननी ‘पर्वते भाषा” थियो । खस–डोटेली भाषाले नेपाली भाषातिरको गन्तव्य यात्रा शुरू गरेको स्थान पर्वत हो । पर्वतको साहित्य सिर्जनाकाल भानुभक्तभन्दा जेठो छ । सबै लेखोटहरु सुरक्षित हुन सकेनन्, आवश्यक प्रचारप्रसार पुगेन, कुना परे । तैपनि सीमित र आधा अधूरै भए पनि त्यसकालका लेखोटहरु उपलब्ध छन् । ती लेखोटहरुले तत्कालीन समाजमा बोलीचालीमा प्रयोग हुने भाषाको उदाहरण प्रस्तुत गर्छन्् । तिनै लेखोटहरुलाई आधार मानेर वादसंवादमा उपन्यासका पात्रहरुबाट तत्कालीन भाषिकाको प्रयोग गराउने कोशिश गरिएको छ । त्यसले पाठकहरुलाई पर्नजाने असुविधाको लागि क्षमा माग्नुको दोस्रो विकल्प रहेन ।

‘तपाईंसँगै पर्वतको इतिहास पनि विलुप्त हुने भो !’ तिलचामले मेरो कपाललाई लक्षित गरेर झन्डै दुई दशक अगाडि शिख घारका घनश्याम खड्का र मल्लाज जलजलाका हरिकृष्ण आचार्यले सगोलमा गरेको टिप्पणीले च्वास्स कतै घोचेथ्यो । इतिहासमा कलम चलाउन उत्प्रेरित गरेथ्यो । इतिहास तथ्य प्रमाणको आधारमा लेख्नुपर्ने, पर्वतको सन्दर्भमा समाजमा प्रचलित लोकथनहरुलाई पुष्टि गर्ने तथ्य प्रमाणहरु दुर्लभ ! त्यही तीतो यथार्थले इतिहासमा आधारित उपन्यास लेख्नुपर्ने आवश्यकताबोध भएको हो । “मृत्युसंस्कार विमर्श” नामको पुस्तक प्रकाशनपछि भिन्न विधामा कलम चलाउने शिखा प्रकाशनका प्रबन्धक पुष्पराजजीको सल्लाहले पनि कुतकुत्यायो । त्यसैले योजना बनेको डेढ दुई दशकपछि भए पनि कलम चलाउने धृष्टता गरिएको हो । यही आधारभूमिमा कुरिलाखर्के महारानीको कथा सिर्जना भएकोे हो । – (बाँकी महारानी पुस्तकमै) – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here