दश वर्षमा सिद्धार्थ रंगशालाको निर्माण कार्य १० प्रतिशत मात्र

209

लुम्बिनी – भैरहवास्थित सिद्धार्थ रंगशालालाई अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ ।  पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रंगशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुनेछ ।

क्रिकेटका लागि अत्यन्तै महत्वपूर्ण मैदानका रुपमा विकास र स्तरोन्नति गर्ने उद्देश्यले निर्माण थालनी गरिएको उक्त आयोजनाको काम नौ वर्षअघि शुरु भए तापनि पूरा हुन सकेको छैन । बजेटको पर्याप्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल  जनाउँछन् ।

उनले भने, ‘काठमाडौं बाहिर धेरै बजेट पाउने र राम्रो प्रगति हासिल गरेको सिद्धार्थ रंगशाला हो तर  छिटो सम्पन्न गर्न आवश्यक बजेट भने उपलब्ध छैन । यसैले अब एकैपल्ट टेन्डर गरी बहुवर्षीय योजनामा लगेर यसको निर्माण सक्नुपर्छ ।’

क्रिकेट मैदानमा अहिलेसम्म रू. नौ करोड ५९ लाख खर्च भइसकेको छ । विसं २०६८ देखि शुुरु गरिएको मैदान स्तरोन्नतिकोे काम भने कछुवा गतिमा छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को न्यूनतम मापदण्डअनुरुपको मैदान बनाउन कम्तीमा रू. ५० करोड लाग्ने जानकारी दिइएको छ ।

बजेट भने निकै कम उपलब्ध गराइँदै आएको छ । विसं २०७५ मा क्यानले गुरुयोजना बनाएको हो । गुरुयोजना आएपछि  काममा विगतमा भन्दा गति लिएको छ ।  हरेक वर्ष बजेट थोरै आउने र ससाना काम गर्दा निर्माणमा ढिलाइ भएको अध्यक्ष मल्लले बताए ।  छ बिघामा निर्माणाधीन रंगशालाको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा रू. एक करोड बजेट छुट्याइएको छ । उनले भने, ‘एक करोड बजेट छ । काम धेरै छन् । के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

रंगशालामा विसं २०६८ मा रू. एक करोड १९ लाख  खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्याउन तीन वर्ष लगाइयो । अहिलेसम्म प्याभेलियन भवनसहित रू. ८९  लाखमा मैदान सम्याउने काम, रू. ४० लाखमा तारजाली, रू. ९० लाखमा ढल व्यवस्थापन, रू. एक करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर र भवन मर्मत गरिएको छ ।

आव २०७६/०७७ मा आएको रू. चार करोड बजेटमा काठमाडौंको कुमार गिरी कन्ट्रक्सनले रू. तीन करोडमा ठेक्का सम्झौता गरी हल, खेलाडी बस्ने ठाउँ, शौचालयसहितको तीनतले भिआइपी प्यारापिट निर्माण गरिरहेको छ ।  यही असोज मसान्तसम्म निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण उक्त प्यारापिट निर्माण अझै चारपाँच महीना लम्बिने साइट इञ्जिनीयर योगानन्द चौधरीले जनाए ।

वर्षेनी आवश्यकताभन्दा निकै कम बजेट आउने र ठेकेदार फेरिरहँदा सुस्त गतिमा बनिरहेको क्रिकेट मैदानको काममा आव २०७५/०७६ मा आएको रू. तीन करोड ५० लाख बजेट समयमा बोलपत्र हुन नसक्दा खर्च नै हुन नसकी फिर्ता भएको थियो । मैदानको रुपन्देही क्रिकेट संघले संरक्षण र सम्बद्र्धन गर्दै आए पनि सरकार र जिल्ला खेलकूद विकास समितिबाट संरक्षणमा समेत खासै ध्यान दिइएको छैन । कामको प्रगति विश्लेषण गर्दा नौदश वर्षयता रंगशालाको करीब १० प्रतिशत काम मात्रै भएको देखिएको छ । यसरी काममा ढिलाइ हुनाको मुख्य कारण पर्याप्त बजेट नहुनु नै हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here