उपभोक्ता ठगी गर्नेलाई छाडिन्न : आपूर्ति मन्त्री भट्ट

72
काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता ठगी गर्ने र गलत गर्ने जो कोहीलाई पनि नछाडिने जनाएका  छन् ।

आफूले मन्त्रालय सम्हालेयता भएगरेका कामबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मन्त्रालय आम उपभोक्ता र श्रमिकहरूकै हित हुने काममा लागिरहेको दाबी गर्दै कुनै पनि आवरणमा हुने कालोबजारी तथा ठगीविरुद्ध मन्त्रालय सशक्त रूपमा प्रस्तुत हुने जनाएका थिए ।

शंकर समूहअन्तर्गतको जगदम्बा स्टीलको उत्पादन गुणस्तरहीन देखिएपछि यसमा कारबाही गरिएको र कम्पनीले गरेका थप गल्ती खोजी भइरहेको जानकारी दिँदै उनले उपभोक्ता ठग्नेमाथि कारबाही गर्ने विषयमा मोलाहिजा नहुने जनाए  ।ठूला औद्योगिक तथा व्यापारिक घरानाले ठगी गर्दा कारबाहीबाट बच्न शक्ति केन्द्र धाउने र आपूmले गरेको गल्तीबाट उन्मुक्ति हुने गरेको सन्र्दभमा मन्त्री भट्टले यस विषयमा मन्त्री, सचिव वा मन्त्रालयबाट दबाब नदिइएको खुलाशा गरे ।

मन्त्री भट्टले मन्त्रालय साना माछा होइन, ठूला माछा समात्ने प्रयासमा रहेको बताउँदै पछिल्लोपटक भएका कारबाहीले त्यो पुष्टि हुने जनाए । ‘शंकर समूहअन्तर्गत सुलभ अग्रवाल समेतको स्वामीत्वको जगदम्बा स्टीलको उत्पादन गुणस्तरहीन देखिएपछि कारबाही शुरू गरिसकिएको छ । बजारबाट उठाएर नष्ट गर्ने काम भइरहेको छ । कारबाही नगर्न भनेर कसैको दबाब आएको छैन । मैले पनि दबाव दिएको छैन । यसमा ढुक्क हुनुभए हुन्छ,’ उनले भने ।
जगदम्बा स्टील कम्पनीको टीएमटी छड कम गुणस्तर देखिएकाले कम्पनीको उत्पादन रोक्का राखिएको र गुणस्तरहीन ३०० टन छड नष्ट गर्ने कार्य चलिरहेको जानकारी उनले दिए । उनले कालोबजारी गर्नेहरू राज्यको दृष्टिबाट उम्किन नसक्ने जनाए ।
बजारमा सबै कुरामा सन्तुलन होस् र उपभोक्ता नठगिऊन् भनेर मन्त्री आफै सचिवहरूसँग उपभोक्ता बनेर अनुगमनमा निस्कने गरेको उनको दाबी छ ।जगदम्बा स्टील गुणस्तरहीन देखिएपछि गुणस्तर तथा नापतौल विभागले यसअघि नै कारबाही गरिसकेको छ ।
विभागले जगदम्बा स्टीलद्वारा उत्पादित १६ एमएमको टीएमटी वान फलामे डन्डीको विक्रीमा पूर्णतः रोक लगाएको छ । साथै, बजारमा पठाइएको डन्डी फिर्ता गरेर नष्ट गर्नसमेत विभागले कम्पनीलाई निर्देशन दिइसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here