काठमाडाैं – नेपाल राष्ट्र बैंकले भोलि मंगलबार १० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी र संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न पाउनेछन् ।
ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ भने उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ ।
उक्त ऋणपत्रमा भोलि मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोल हुने र राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । लगानीकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जान अंकमा बोलपत्र पेस गर्नुपर्नेछ।
यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रुपमा मात्र भाग लिन सक्नेछन्। राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीका रुपमा भाग लिन पाउने छैनन्।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब रुपैयाँ छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउन रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।
यो ऋणपत्रको निष्कासन २०७७ असोज २१ गते हुनेछ। साँवा भुक्तानी २०८४ असोज २१ गते हुनेछ।