कोभिड-१९ खोप सघाउने अभियानमा चीन पनि साथ रहने

114

बेइजिङ – चीन कोभिड-१९ खोपका लागि वैश्विक पहलमा सहभागी हुने भएको छ । कोभाक्सको रुपमा परिचित यो पहलकदमीले निम्न र मध्य आय भएका देशहरुलाई कोरोनाविरुद्ध लड्न ठूला अर्थव्यवस्था भएका देशहरुले आर्थिकरुपमा सघाउँछ ।

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । यद्यपि मन्त्रालयको विज्ञप्तिमा कति सहयोग गर्ने भन्नेबारे उल्लेख छैन । यद्यपि आउँदो दुई वर्षभित्र २ बिलियन अमेरिकी डलर सघाउने प्रतिवद्धता राष्ट्रपति सि जिनपिङले यसअघि नै गरिसकेका छन् ।

कोरोनाबाट आजसम्म १० लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले भने, ‘हामी विशेषगरी विकासशील देशलाई खोपको समान वितरण सुनिश्चित गर्नका लागि यो ठोस कदम उठाइएको हो र आशा छ कि अधिक सक्षम देशहरु पनि यो अभियानमा सहभागी हुनेछन् र कोभाक्सको समर्थन गर्नेछन् ।’

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गठित कोभाक्सको लक्ष्य २०२१ को अन्त्यसम्म खोपको कम्तिमा पनि दुई बिलियन मात्रा उपलब्ध गराउनु छ ।

विश्व स्वास्थ्य संगठनले चीन र रुसका साथै अमेरिकालाई पनि यो अभियानमा सहभागी गराउन कुराकानी भइरहेको बताए पनि अझै यो अभियानमा सहभागी भइसकेको छैन ।

चिनियाँ विदेश मन्त्रालयले चीनसँग पर्याप्त मात्रामा कोभिड-१९ को खोप निर्माण क्षमता रहेको बताएको छ । उसले खोप तयार भएपछि विकासशील देशमा आपूर्ति प्राथमिकतामा राख्ने जनाएको छ । -रोयटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here