आइसोलेसनमै अक्सिजन राखेर उपचार गर्ने तयारी

61

काठमाडाैं – चितवनका अस्पतालहरूमा कोरोना संक्रमित बिरामीका लागि भनेर छुट्टाइएका करिब एक सय वटा आइसियू छन्। अहिले सबै आइसियू संक्रमितले भरिएका छन्। कोही जटिल अवस्थाको संक्रमित अस्पताल पुग्यो भने उपचारका लागि आइसियू छैन।

अस्पतालले तयार गरेका आइसोलेसन शैयासमेत संक्रमितले भरिएका छन्।   केन्द्रीय सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र दर्जनौं अस्पताल रहेको चितवनमा करिब ७५ प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्। अस्पताल संक्रमितले भरिएपछि घरमै बस्न बाध्य भएको संक्रमित बताउँछन्।

संक्रमितको चाप थेग्न नसकेपछि भरतपुर अस्पतालले आइसियूको विकल्पमा एचडियू (हाइ डिपेन्डेन्सी केयर युनिट) सञ्चालनको तयारी गरेको छ। अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीकाअनुसार केही दिनयता आइसियू आवश्यक पर्ने बिरामीको संख्या बढ्न थालेको छ।

‘तत्काल आइसियूका संरचना थप्न सहज नभएका कारण अस्पतालका स्रोत, साधनको उपयोग गर्दै जसरी हुन्छ उपचार दिने तयारीमा हामी छौं’, अधिकारीले भने, ‘अस्पताल आएका बिरामीलाई फर्काउन नपरोस् भन्नेमा हामी सचेत छौं।’

एचडियूमा आइसियूमा जस्तो सबै सुविधा नभए पनि कोरोना संक्रमितको उपचारका लागि अतिआवश्यक पर्ने उपकरण राखिने अधिकारीले बताए।

‘यो आइसियूभन्दा तल्लो तहको कक्ष हो। यहाँ कोरोना संक्रमितको उपचारका लागि आवश्यक मनिटरदेखि अक्सिजनलगायतको व्यवस्था हुन्छ’, उनले भने, ‘हामीले केही एचडुयूको व्यवस्था गर्न सक्यौं भने सहज हुन्छ कि भनेर प्रयास गरिरहेका छौं।’

भरतपुर अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र ८ शैयाको भेन्टिलेटर भरिएको हप्तौं भयो। यहाँ पुगेका बिरामीलाई अन्य अस्पताल रिफर गर्ने वा सामान्य शैया राखेर उपचार गराउने विकल्पमात्र अस्पतालसँग छ।

डा.अधिकारीले सामान्य शैयामा समेत अक्सिजन सिलिन्डर राखेर आवश्यक पर्दा त्यहीँबाट जटिल अवस्थाका बिरामीको उपचार गर्ने व्यवस्था मिलाउने तयारी भएको जनाए।  ‘केही भेन्टिलेटर थपिँदै छन्, ती आइपुगेपछि थप सहज होला’, उनले भने। उनले अस्पतालले कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटरको विकल्पमा ‘हाइ फ्लो रेस्पिरेटर’ कक्ष सञ्चालन गर्ने तयारी भएको बताए।

भरतपुर अस्पतालले अहिले १७५ शैयाको आइसोलेसन सञ्चालन गर्दै आएको छ। योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा भरतपुर अस्पतालकै प्राविधिक संयोजनमा भरतपुर महानगरपालिकाले पनि ७५ शैयाको आइसोलेसन सञ्चालन गरेको छ।   चितवन मेडिकल कलेजले पनि कोरोना संक्रमितका लागि छुट्टाइएको ५९ शैयाको आइसियू भरिएको जनाएको छ।

अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जटिल अवस्थाका संक्रमित बढ्दै गएका कारण आइसीयूको मात्रै भर पर्न नहुने बताए। ‘हामीसँग भएका आइसियू भरिएका छन् तर जटिल प्रकृतिका संक्रमित थपिइरहेका छन्’, डा.लम्सालले भने, ‘यो अवस्थामा उपचार गर्न एचडियू वा सामान्य शैयामा आवश्यक उपकरणको जोहो गर्नुको विकल्प छैन।’

डाक्टर लम्सालले अस्पताल अनुगमनका लागि आइपुगेको संसदीय समितिलाई पनि यही सुझाव दिएको बताए। उनले सबै अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने र स्वास्थ्यकर्मीहरुलाई प्रत्साहन गर्ने हो भने उपचारमा सहज हुने बताए।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता(कोभिड-१९ सम्बन्धी) डाक्टर पुरूषोत्तमराज सेढाईंले अनावश्यक मान्छेलाई समेत आइसियूमा राख्ने चलन बढेका कारण अवाभ देखिएको दाबी गरे। उनले भएका संरचनाको भरपुर उपयोग गर्दै आवश्यक संरचना थप गर्दै जान मन्त्रालयले तयारी गरिरहेको जनाए । चितवनमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय नाघिसकेको छ। उनीहरूमध्ये करिब ३० प्रतिशत मात्रै अस्पतालको पहुँचमा छन्। अहिलेसम्म ३१ जनाको मृत्यु भइसकेको छ। यहाँका ५० प्रतिशत भन्दा बढी अस्पतालहरुले कोरोना संक्रमितको उपचार नै गराउँदैनन्। ती अस्पतालहरुले कोरोनाको लक्षण देखिइहाले अन्य ठूला अस्पतालमा रिफर गर्ने गरेका छन्।

डा.अधिकारीका अनुसार अहिलेको अवस्थामा चितवनमा ७० भेन्टिलेटर, १५० आइसियू, ३०० सुविधासम्पन्न शैया र ६०० वटा आइसोलेसन आवश्यक पर्छ। ‘यहीअनुसार जिल्ला प्रशासनदेखि केन्द्रसम्म मैले सुझाव दिएको छु’, उनले भने, ‘यति भयो भने सहज हुन सक्छ।’

चितवनमा अहिले भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ। यी अस्पतालका धेरै स्वास्थ्यकर्मीसमेत कोरोना संक्रमित भएका कारण जनशक्तिको समस्या बढेको छ। चितवन मेडिकल कलेजका २३८ र भरतपुर अस्पतालका ५१ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित छन्। भरतपुरकै क्यान्सर अस्पतालका ६० र पुरानो मेडिकल कलेजका ४९ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here