कोरोनाले नेपालमा राजनीतिक तानाशाह जन्माउने खतरा !

51

–राज्यलक्ष्मी शाक्य

कोरोना संक्रमणको डरलाग्दो तथ्यांकले विश्वका विभिन्न देशहरुलाई तसाई रहँदा नेपालमा संक्रमणको दर बढेको थिएन  र जनमानसमा दर पनि बढेको थिएन । अहिले यी हरफहरु लेख्न बसिरहँदा नेपालमा संक्रमितको संख्या एक लाख  पुग्न धेरै दिन पर्खिनु पर्ला जस्तो देखिदैन । संक्रमितहरुका दर प्रत्येकदिन बढ्दै गइरहेको छ । एक जनाको मृत्यु नहुँदासम्म बेसार पानी खाने, हाच्छ्यूँ गरेर कोरोना भगाउने भन्ने प्रधानमन्त्री ओलीको संसदमा बोलेको अभिव्यक्तिले लामैसमयसम्म चर्चा पनि पायो अव ओलीको दावी हास्यास्पद साबित भइसकेको छ । प्रत्येक दिन संक्रतिहरुको संख्या दुई हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि त्यही अनुपातमा बढ्दै गइरहेको छ ।

काठमाडौं उपत्यकामा संक्रमितहरुको ‘हट स्पट’ बनिरहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटार मै कोरोनाको संक्रमण प्रवेश भइसकेको छ । बालुवाटारमा  संक्रमणको प्रवेशले   प्रधानमन्त्री ओली विरुद्ध पार्टीभित्रको संघर्ष पनि शिथिल भएको  छ । सचिवालय बैठकमा ओली प्रतिरक्षात्मक अवस्थामा हुनुपर्ने  अवस्था विकसित भइरहेको थियो । तर कोरोना संक्रमणले ओलीलाई राहत प्रदान गरेको छ ।

साउन ७ गतेदेखि लकडाउन अन्त्य गरिएको हो । लकडाउन अन्त्यसँगै प्रधानमन्त्री ओली विरुद्धको संघर्षले  पनि  पार्टीभित्र चर्को रुप लिएको थियो । नेताहरुको बालुवाटार  आवागमन पनि यही बीचमा बढ्यो । बालुवाटारको सुरक्षा निकायमा समेत संक्रमण फैलिएको र चार जना सल्लाहकारहरुमा समेत संक्रमण देखिएको समाचारले ओलीविरुद्ध बालुवाटारमा हुने भनिएका बैठकहरु प्रभावित भएका छन् ।

पार्टीले ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न सक्ने अवस्था हुँदा हुँदै पनि ओली हल्लिएका छैनन् । कोरोनाकै कारण ओली सरकारविरुद्ध सडकमा आन्दोलन हुन सक्ने अवस्था पनि छैन । सरकारलाई राजश्व उठाउन भने कोरोनाले छेकेको छैन । राजश्व बुझाउन जनता लामबद्ध भएका देखिन्छन् । तर सरकारले जनताप्रतिको जिम्मेवारी केही पनि निर्वाह गर्न सकिरहेको छैन ।

सरकारका कामहरु सर्वत्र  वेथीतिपूर्ण भइरहेका छन् । सरकारका कामहरुबारे सत्तासीन नेकपाका नेताहरुले समेत विरोध जनाइरहेका छन् । तर पनि सरकारले सुनिरहेको छैन । कोरोना संक्रमणकै वीच भर्खरै अर्थमन्त्रीबाट अवकाश पाएका डा. युवाराज खतिवडालाई पार्टीका नेताहरुसँग कुनै सरसल्लाह नै  नगरि अमेरिकाको राजदूतमा नियुक्त गरेर प्रधानमन्त्री ओलीले आफ्नो मनपरी देखाएका छन् । तर पनि पार्टीले ओलीलाई कारवाही गर्न सकिरहेको छैन । पार्टी पद्धतिमा पार्टीकै निर्णयका विरुद्ध  प्रधानमन्त्री यतिसम्म निरंकुश बन्न सक्छ भने    यस्तो पार्टी पद्धतिलाई लोकतान्त्रिक आवरण लगाउनुको कुनै अर्थ देखिदैन ।

राजदूत नियुक्तिबारे पार्टीका नेताहरुले  कुनै प्रतिकृया जनाइरहेका छैनन् । तर उनीहरुले केवल असन्तुष्टिमात्र व्यक्त गरिरहेका छन् । आफ्नो मानिसलाई राजदूत बनाउन नपाएकोमा बाहेक अरु सवालमा पार्टीभित्र विवाद देखिदैन । यसले गर्दा खतिवडाको अमेरिका प्रस्थानको अवसर सत्तासीन नेकपालाई अमेरिकाबाटै परिचालन गर्ने तयारीका रुपमा बुझ्न सकिन्छ ।

कोरोनाको त्रासबीच प्रचण्डहरुबाट उठाइएको केन्द्रिय कमिटीको बैठक स्थगित भएको छ । अव केन्द्रीय कमिटी बैठक पनि अमेरिकाकै सुझावमा हुनु पर्ने अवस्था देखिएको छ ।  प्रधानमन्त्री ओलीले कोरोनाका कारण पच्चिस जना भन्दा बढि भेला नहुन आदेश जारी गरेको छ । यही कारणले पनि सत्तासीन पार्टीका नेताहरुले ओली सरकार विरुद्ध भेला गर्न समेत सकिरहेका छैनन् ।

सरकारको गलत क्रियाकलापको विरोधमा आवाज उठाएर सरकारलाई गलत काम गर्नबाट रोक्न सक्ने हैसियतको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि कमजोर अवस्थामा छ ।  कांग्रेस पार्टीभित्रै नेताहरु वीच द्वन्द चर्किएको छ । आन्तरिक द्वन्दले गर्दा नै कांग्रेसले प्रमुख  प्रतिपक्षको भूमिका देखाउन सकिरहेको छैन । यस्ले गर्दा स्वयम् प्रतिरक्षात्मक बनेको छ । कांग्रेसको महाधिवेशन कहिले गर्ने भन्ने बारे विवाद झनपछि झन पेचिलो बनिरहेको छ । कोरोना भाइरसको संक्रमण शिथिल भएपछि महाधिवेशन गर्ने भनेर शेरबहादुर देउवाले  जवाफ  दिने गरेका छन् । कोरोनाको संक्रमण सभापति शेरबहादुर देउवा पक्षधरहरुलाई सजिलो भएको छ । कांग्रेसका  नेताहरु सशांक कोइराला,  अर्जुननरसिंह केसी र गगन थापासम्मलाई कोरोना संक्रमणले थला पारेपछि कांग्रेसभित्रको देउवा विरोधी उर्जा शिथिल भएको छ । कोरोनाले विकास गरेको विनास लिला मात्र नभएर नेपालको लागि राजनीतिक तानाशाहलाई बरदान सावित हुने खतरा झनपछि बलियो हुँदै गइरहेको छ । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here