काेराेना महामारीमा पनि तीन पुस्तक सार्वजनिक

301

काठमाडौं – काेराेना भाइरसकाे बढ्दो  महामारीकाे समयमा पनि  पुस्तक पढ्ने पाठकको रुचि घटेको छैन। घरमै बसेर आफ्नो रुचिका पुस्तक पढ्ने पाठकलाई मध्यनजर गर्दै बुक–हिल पब्लिकेसनले दशैंको छेकोमा आज तीनवटा अनूदित पुस्तक सार्वजनिक गरेको छ।

साहित्यमा नोबेल पुरस्कार विजेता अमेरिकी लेखक जोन स्टेनबेकको विश्व प्रसिद्ध उपन्यास ‘अफ माइस एन्ड मेन’को नेपाली भाषामा अनुवाद ‘मुसा मानुष’। यस पुस्तकलाई चर्चित लेखक गनेस पौडेलले अनुवाद गरेका हुन्। सन् १९३० को महामन्दीपछि अमेरिकामा भुइँमान्छेले बाँच्नका निम्ति गरेको संघर्ष र दुई मित्र जर्ज र लेनीको हृदयविदारक कथा यो उपन्यासमा छ। यस उपन्यासबारे अनुवादक गनेस पौडेल भन्छन्, ‘यो मेरो किशोरवयको पठनको उत्कृष्ट उपन्यास थियो, जसलाई मैले आजीवन भुल्न सकिनँ र नेपाली पाठकका निम्ति अनुवाद गरें। उपन्यासमा महामन्दीपछिको कथालाई स्टेनबेकले समाजको सिङ्गो चित्रको रुपमा मात्रै प्रस्तुत गरेका छैनन्, तत्कालीन जनजिब्रोको भाषाको जीवन्त प्रयोगले पनि यो पुस्तक रोचक छ । साहित्य पढ्ने हरेक पाठकले छुटाउन नहुने कृति हो यो।’

बेग्लैशैलीको कथावाचन भएको यस पुस्तकको संवादलाई अनुवादक पौडेलले पश्चिमाञ्चल क्षेत्रको स्थानीय लवजमा प्रस्तुत गरेका छन् सार्वजनिक पुस्तकमध्येको अर्को हो– मल्ल के. सुन्दरद्वारा नेपाल भाषामा लिखित उपन्यास ‘व लँपु : थ्व पलाः’को नेपाली अनुवाद ‘विमुक्ति’ । यसलाई राजेन्द्र महर्जन र महेशराज महर्जनले अनुवाद गरेका हुन्। उपन्यासबारे समालोचक प्रा. कमलप्रकाश मल्ल भन्छन्, ‘आफ्नो मुक्ति–निर्वाणका लागि भौतारिएका दुई महिला– बुद्ध उपदेशका उपासिका र बन्दुक बोकेर हिंडेकी छापामार युवतीको कथा हो यो उपन्यास । यसमा यी दुई महिलाबीचको वैयक्तिक अन्तरद्वन्द्वलाई खोतलिएको छ। उनीहरुले अनुशरण गरिरहेका मार्गमा आधारभूत भिन्नता भए पनि मुक्ति वा वर्गीय समाजको अन्त्यको वाचा गर्दैन।’ उपन्यासबारे लेखक मल्ल के. सुन्दर भन्छन्, ‘जनयुद्धको कथामार्फत मैले नेपाली समाजको वर्गीय विवेदको चित्रलाई यस उपन्यासमा प्रस्तुत गर्ने कोशिश गरेको छु।’

बौद्ध भिक्षुणी र छापामार युवतीको माध्यमबाट यस उपन्यासले दश वर्षे जनयुद्धको एउटा पाटोको मर्मान्त कथा प्रस्तुत गरेको छ । केही दिनअघि खगेन्द्र संग्रौलाद्वारा अनूदित गैर–आख्यान ‘सत्ता र सत्य’ सार्वजनिक गरेको बुक–हिलले आज सार्वजनिक भएका यी तीन पुस्तकमार्फत नेपाली अनुवाद साहित्यमा टेवा पुग्ने र विश्वसनीय अनुवादलाई पाठकले रुचिपूर्ण तरिकाले ग्रहण गर्ने विश्वास लिएको छ। सार्वजनिक तेस्रो पुस्तक हो– भारतीय प्रथम महिला मानवशास्त्री इरावती कर्वेद्वारा लिखित तथा साहित्य अकादमी पुरस्कार, १९६७ प्राप्त कृति ‘युगान्त : द एन्ड अफ एन इपोक’को नेपाली अनुवाद ‘युगान्त : महाभारतको महामृत्यु’ सार्वजनिक पुस्तकमध्ये पहिलो हो, जसलाई युवा लेखक तथा इतिहासद्रष्टा सुजित मैनालीले अनुवाद गरेका हुन्।युगान्त महाभारतको आधुनिक उत्खनन हो।

पुस्तकबारे अनुवादक सुजित मैनाली भन्छन्, ‘आलोचनात्मक चेतसहित महाभारतका प्रमुख पात्रहरुको प्रवृत्तिबारे यस पुस्तकमा चिरफार गरिएको छ। यो गहन अनुसन्धानमा आधारित गैर–आख्यानतर्फको उत्कृष्ट कृति हो। पात्रको फरक दृष्टिकोणको चरित्र–विधान यस पुस्तकमा छ,’ मैनाली थप्छन्, ‘नेपाली भाषामा लेखिएका र पढिएका महाभारतसम्बन्धी पुस्तकहरुभन्दा पृथक् र नेपाली पाठकले पढ्नैपर्ने भएकाले मैले यसलाई नेपाली भाषामा अनुवाद गरेको हुँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here