कोरोना संक्रमित उम्मेदवार निको भएपछि मात्र अन्तर्वार्ता लिनू : सर्वोच्च

56

काठमाडौं – सर्वोच्च अदालतले लोक सेवा आयोगले आवेदन खुलाएको सूचना प्रविधि विज्ञ सहसचिव स्तरको एउटा विज्ञापनलाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।

आयोगबाट गत असोज ९ मा प्रकाशित नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको कामकारबाही जे जुन अवस्थामा छ सोही अवस्थामा राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो।  न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार उक्त आदेश दिएको हो।  उक्त विज्ञापनअनुसार आवेदन दिएकामध्ये तीन जना उम्मेदवार अन्तर्वार्ताका लागि सिफारिसमा परेका थिए।

गत असार ३१ गते अन्तर्वार्ताका लागि मिति तोकिएकोमा लकडाउनका कारण स्थगित भएको थियो। स्थगित अन्तर्वार्ता असोज २९ का लागि सरेको थियो।  लिखितमा नाम निकालेका तीन जनामध्ये रमेशराज सुवेदी यसबीचमा कोरोना संक्रमित भएका थिए। उनी संक्रमित भएका बेला आयोगले अन्तर्वार्ताको मिति तोकेपछि उनी आयोगविरूद्ध सर्वोच्च गएका थिए।

आयोगले अन्तर्वार्ताका लागि तोकेको मिति असोज २९ मा परीक्षा सञ्चालन भए सुवेदी सहभागी हुन नसक्ने देखिएकाले सर्वोच्चले उक्त विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो।  ‘निवेदक (रमेशराज सुवेदी) कोरोना संक्रमित भई स्वास्थ्यलाभ गरिरहेको भन्ने देखिएबाट उक्त मिति २०७७ असोज २९ को सूचनाअनुसार परीक्षा सञ्चालन भएमा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकलाई अपूरणीय क्षति पुग्ने देखिँदा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म लोक सेवा आयोगको मिति

२०७७ असोज ९ मा प्रकाशित नेपाल विविध सेवा राप प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको कामकारबाहीले जे जुन अवस्थामा छ सोही अवस्थामा राख्नू’ अन्तरिम आदेशमा भनिएको छ।  यो सूचना प्रविधि विज्ञ पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरिँदै थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here